+
+
मुग्लिन-नारायणगढ पहिरो :

सिमलतालमा आफन्त खोजिरहेका आँखाहरू

सुवास पण्डित सुवास पण्डित
२०८१ असार ३० गते ७:५४

३० असार, चितवन । शुक्रबार बिहान भरतपुर-२९ सिमलतालको पहिरोले यात्रुबाक दुईवटा बस त्रिशूलीमा खसा‍लिदियो । बसको नाम निसाना छैन । तीन जनाको शव भेटिएको छ । अरु यात्रु बेपत्ता छन् ।

घटनास्थल शान्त छैन । आफन्तहरू खोजिरहेका थकित छन् । नदी किनारामा आँखा डुलाइरहेका छन् । उमेरले ७० पुगेकी हरिमाया परियार पनि शनिबार दिउँसोको चर्को घाममा घटनास्थलमै भेटिइन् । उनका आँखा यत्रतत्र डुँलिरहेका हुन्थे ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल डिलक्सको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बसमा उनका कान्छो नाती विकास परियार पनि चढेको आशंका छ ।

असार २८ गते राति भरतपुर ११ को विशालचोकबाट विकास र उनका साथी राधापुरका सुदिप जिसी बसमा चढेको जानकारी छ । तर, काठमाडौं जान्छु भनेर गएका विकासको न त फोन लाग्छ न त कतै सम्पर्क नै हुन्छ ।

घर परिवारमा विकास पनि त्यही बसमा परेको भन्ने हल्ला चलेपछि परिवारमा चिन्तामा छ । विकासको घर माडी हो । उनी भरतपुरमा बसेर बिहेको फोटो–भिडियो खिच्ने काम गर्थे । श्रीमती ब्यूटिपार्लरमा काम गर्थिन् ।

विकास साथीलाई लिएर काठमाडौंमा हुने एक बिहेमा फोटो–भिडियो खिच्नका लागि बस चढेका थिए ।

विकासको अत्तोपत्तो नभएको र बस चढेको समयसमेत मिलेकोले पक्कै पनि उनी पहिरोमा परेको आशंका परिवारजनमा छ । घटना भएपछि हजुरआमा हरिमायालाई खबर नगर्ने भन्ने सल्लाह भएको थियो तर हरिमायाले थाहा पाइन् । घटना थाहा पाएपछि उनलाई एकरक्तिभर पनि माडीमा बस्न मन लागेन र भरतपुर आएर घटनास्थल पुगिन् ।

विकास उनका कान्छा नाती हुन् । कान्छो भएकोले उनलाई विकासको औधी माया लाग्छ । त्यसैले यो उमेरमा पनि लौरी टेक्दै पहिरोले बस लगेको सिमलताल पुगिन् ।

विकासले २ वर्ष अगाडि मात्रै बिहे गरेका थिए । उनका दुई दाजुहरू छन् उनीहरु पनि फोटो भिडियोको नै काम गर्छन् ।

हरिमायालाई नातीको खबर केही आउला कि भन्ने लागेको छ । साढे ११ बजे बस चढेकोले घटना हुँदा उनीहरु कटिसकेको हुनुपर्ने परिवारलाई लाग्छ ।

विकासकी सासू आमाले आशंका व्यक्त गर्दै भनिन्, ‘नाइट बसले जुगेडी वा रामनगर कतैतिर खाना खान रोक्यो र ढिला हुँदा ठ्याक्कै पहिरोमा परे । नत्र अहिलेसम्म अत्तोपत्तो हुँदो हो ।’

विकासको नाम यात्रुको चलानीमा छैन । उनीहरु भरतपुरबाट चढेकोले नाम कतै पनि उल्लेख गरिएको छैन । परिवारले विकास र उनका साथीको विवरण टिपाएका छन् ।

हरिमायाजस्तै आफन्तको पर्खाइमा किनारामा बसिरहेकाहरू तड्पिरहेका छन् । कहिले बाटो तरेर नदीको डिलमै पुगेर आफन्त भेटिन्छन् कि भनेर नियाल्छन् भने कहिले पहिरो झरेको ठाउँतिर आएर बस्छन् ।

बैनीको बिहेका लागि आउँदै थिए सिनोज

छोरा खोज्न घटनास्थल आएका बुधन दास

२८ गते राति ९ बजे रौतहटस्थित घरमा बसिरहेका बुवा बुधन दासलाई छोरा सिनोजले फोन गरेर भने, ‘म कलंकीबाट गाडी चढे बिहानसम्म घर आइपुग्छु ।’

सिनोज शनिबार हुने बहिनीको बिहेका लागि घर आउँदै थिए । तर, उनी घरसम्म आइनपुग्दै सिमलतालको पहिरोको दुःखद घटनामा परे ।

छोरीको बिहेको दिन जग्गेमा बस्नुपर्ने सिनोजका बुवा बुधन छोराको सास नभए पनि समिलतालमा लासको पर्खाइमा छन् ।

असार २८ गते राति छोरासँगको संवाद नै जीवनको अन्तिम संवाद भएको भन्दै बुधनले अब छोरा जीवित भेटिनै आशा मारेको बताए ।

बुधनका ४ छोरामध्ये सिनोज माइलो छोरा हुन् । उनका दाजु विदेश छन्, बाँकी दुई भाइ घरतिरै छन् ।

२२ वर्षका सिनोज विगत ३ वर्षदेखि काठमाडौंमा एक ठेकेदारसँग मिलेर मजदुरी गर्थे ।

रौतहटको कटहरिया नगरपालिका–१ का बुधनले घटना थाहा पाएलगत्तै आफन्तहरू सहित चितवन आए । छोराको विवरण प्रहरीकोमा टिपाए ।

घटनास्थलमा छोराको खोजीमा भौतारिरहेका छन् । शुभकार्यमा सहभागी हुन आएको छोरो दुर्घटनामा पर्दा आफूलाई असहैय पीडा भएको उनले सुनाए ।

भाइ खोजिरहेका मिराज

भाइको खोजीका लागि आएका मिराज मन्सुरी ।

बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा यात्रारत भाइ रैजुल आलमको खोजीमा आएका पर्साको सखुवा प्रसौनीका मिराज मन्सुरीले घटनाको दोस्रो दिनसम्म पनि भाइको अवस्था थाहा हुन नसकेकोमा दुःखी थिए ।

भाइका साथीहरु र आफन्तहरुसहित घटनास्थल सिमलताल पुगेका मिराज, भाइ अब जीवित नरहेको कुरा बताउँदै थिए । रैजुल गाउँमा नै ल्याव चलाएर बसेका थिए । उनी ल्याब टेक्निसियन हुन् ।

जापान जाने भन्दै साथीसँग मिलेर उनले जापानिज भाषा पनि सिकेका थिए । त्यसकै जाँच दिनका लागि काठमाडौं जाने भनेर एञ्जल डिलक्सको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस चढेका थिए ।

बाराका उनका साथी रेडियोलोजी विभागमा काम गर्थे । उनी दुवै जना जापान जाने सपना बुनेर परीक्षाका लागि काठमाडौं जाँदा पहिरोमा परेका थिए । तर, उनीहरुको सपना सिमलतालको पहिरोसँग बगेको छ । दाइ मिराज भन्छन्, ‘अब भाइको जीवनको आश त छैन, लास भए पनि चाँडै खोजिदिउन् ।’

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?