+

खानालाई ऊर्जामा बदल्ने मेटाबोलिजम के हो ?

२०८१ असार  ३० गते १३:१५ २०८१ असार ३० गते १३:१५
खानालाई ऊर्जामा बदल्ने मेटाबोलिजम के हो ?

हामीले खाएको खानालाई ऊर्जामा बदल्ने, नयाँ कोषिकाहरु निर्माण गर्ने र पुरानोलाई सुरक्षित बनाइराख्ने रसायनिक प्रक्रियालाई मेटाबोलिजम भनिन्छ । के खान्छौं ? कुन औषधि लिन्छौं ? धुम्रपान होस् वा व्यायाम । यो सबै मेटाबोलिजमले ग्रहण गर्छ ।

मेटाबोलिजम दुई प्रक्रियाको संयोजन हो । पहिलो प्रक्रियालाई केटाबोलिजम भनिन्छ । यसको काम खाएको ठूलो ठूलो अणुलाई स–सानो गरी टुक्राउनु हो । मेटाबोलिजमको प्रक्रिया तीनवटा सूक्ष्म पोषक तत्वबाट सुरु हुन्छ, कार्बोहाइड्रेट, फ्याट र प्रोटिन ।

कार्बोहाइड्रेट, प्रोटिन र फ्याटलाई ऊर्जामा केटाबोलिजमले बदल्छ । यो आन्द्राबाट सोसिएर रगतमा मिसिएर शरीरका विभिन्न भागमा जान्छ । कार्बोहाइड्रेट र प्रोटिन रक्तनली हुँदै कलेजोमा र प्रोटिन एमिनो एसिडमा बदलिन्छ । यो एमिनो एसिड ग्लाइकोजनमा बदलिन्छ  र विस्तारै ग्लुकोज बनेर ऊर्जामा परिणत हुन्छ ।

कार्बोहाइड्रेट, प्रोटिन र फ्याटको अन्तिम पूरक र अक्सिजन कोषिकामा गएर बस्छ । सोही ऊर्जाले दिमागदेखि सम्पूर्ण भाग चलायमान राख्न मद्दत गर्छ ।

दोस्रो प्रक्रिया हो, एनाबोलिजम । एनाबोलिजमको प्रक्रियामा हामीले खाएको खानेकुराबाट मिलेको पोषणले शरीरमा नयाँ कोषिकाहरु निर्माण गर्ने र पुरानोलाई चुस्त बनाइराख्ने, हड्डीहरु बनाउने, उचाइ बढाउने, मोटाउने, हर्मोनको सन्तुलन कायम राख्ने काम गर्छ । यसरी कोषिका प्रक्रिया २४ घण्टै चलिरहन्छ । शरीरमा मेटाबोलिजमको दर जति राम्रो हुन्छ, उति शरीरलाई ऊर्जा मिल्छ ।

सानो उमेरमा एनाबोलिजमको स्तर बढ्ने हुँदा जोश जाँगरदेखि शारीरिक वृद्धि विकास हुन्छ । उमेर बढेसँगै एनाबोलिजमको स्तर घट्छ । जसकारण उमेर बढेसँगै भोक कम लाग्दै जान्छ । र, वृद्धि विकासमा पनि पूर्णविराम लाग्छ । जोश, जाँगर पहिलाको जस्तो रहँदैन ।

समग्रमा भन्दा मेटाबोलिजमले नै श्वासप्रश्वास, रक्तसञ्चार, खानेकुरा पचाउन, कोषहरूलाई विकास गर्न र मर्मत गर्न, हर्मोनको सन्तुलनलाई व्यवस्थापन गर्न र शरीरको तापक्रम नियन्त्रण गर्न मद्दत गर्छ ।

मेटाबोलिजम सुस्त हुँदा समस्या

प्राय: मेटाबोलिजम राति सुत्दा मात्र सुस्त चल्छ । किनकि यो समय अंगहरु पनि आराम खोज्छन् । तर स्वास्थ्यमा समस्या छ भने दिनमा पनि मेटाबोलिजम सुस्त हुनसक्छ । मेटाबोलिजममा कुनै पनि प्रकारको समस्या देखा परेमा व्यक्तिले पेट दुख्ने समस्याको सामना गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा मानिसलाई भोक लाग्दैन । किनभने उसको खाना राम्ररी पच्दैन र उसलाई कब्जियत हुनसक्छ ।

मेटाबोलिजम क्षमता राम्रो नहुँदा छिटो थकान महसुस हुने, कोलेस्टेरोलको समस्या हुने, मांसपेशी कमजोर हुने, तौल छिट्टै बढ्ने लगायत समस्या हुन्छ । कतिपय अवस्थामा कमजोर मेटाबोलिजमका कारण पनि मुटुसँग सम्बन्धित रोग पनि देखा पर्छन् ।

यस्तो अवस्थामा सकेसम्म चाँडो आफ्नो मेटाबोलिजम सुधार गर्न एक समाधान खोज्नुपर्छ । केही व्यक्तिमा थाइराइडको समस्याले पनि मेटाबोलिजमलाई असर गर्न सक्छ । किनकि थाइराइड हर्मोनको काम हाम्रो शरीरमा मेटाबोलिजम क्षमता कमजोर बनाउने कि सक्रिय बनाउने भन्ने हो ।

जब शरीरमा थाइराइड हर्मोनको कमी हुन्छ मेटाबोलिजम क्षमता कमजोर हुन्छ र शरीरका अंगहरूलाई काम गर्न चाहिने ऊर्जा उत्पादन हुँदैन । जसले गर्दा मोटोपन बढ्ने, कोलेस्टेरोल बढ्ने, मुटुको समस्या र मिर्गौलाको समस्या लगायत समस्या निम्तिन्छ ।

किन हुन्छ मेटाबोलिजम सुस्त ?

प्रोटिन कम : कम प्रोटिनको सेवनले मेटाबोलिजम समस्या पनि रहन्छ । त्यसकारण दैनिक आहारमा प्रोटिनको मात्रा समावेश गर्नुपर्छ ।

हर्मोन : हर्मोनको परिवर्तनले शरीरको ऊर्जा उत्पादन गर्ने क्षमतालाई असर गर्न सक्छ ।

निद्रामा समस्या : निद्रामा कुनै पनि प्रकारको गडबडीले मेटाबोलिजमलाई सुस्त बनाउन सक्छ । यसले मधुमेह र मोटोपन जस्ता अवस्थाहरूको जोखिम पनि बढाउँछ ।

डाइट प्लान : तौल घटाउनका लागि कतिपय मानिसले कडा डाइट प्लान पछ्याउँछन् । यस्तो नियम अपनाउँदा शरीरलाई चाहिने पोषक तत्व प्राप्त नहुन सक्छ । यसले ढिलो मेटाबोलिजम निम्त्याउँछ ।

तनाव : तनावले हाम्रो शरीरमा कोर्टिसोल नामक हर्मोन उत्पादन गर्छ । अत्यधिक तनावले शरीरको वजन बढ्न थाल्छ, जसले मेटाबोलिजमको उत्पादनलाई सुस्त बनाउँछ ।

मेटाबोलिजम क्षमता कसरी बढाउने ?

शरीरमा मेटाबोलिजम क्षमता बढाउन सन्तुलित, स्वस्थ र सुपाच्य खानेकुरा खानुपर्छ, दैनिक ताजा फल र जुस सेवन गर्नुपर्छ । साथै नियमित व्यायाम गर्ने, दिनभर शारीरिक रूपले पनि सक्रिय हुने, मोटोपन नियन्त्रण गर्ने र पर्याप्त निदाउनु पनि मोटाबोलिजम क्षमता बढाउने तरिका हो ।

कस्तो आनीबानीले मेटाबोलिजम क्षमतामा प्रभाव पार्छ ?

बालबालिका तथा युवाहरूमा मेटाबोलिजम क्षमता बढी हुन्छ । जति उमेर बढ्यो, उति मेटाबोलिजम क्षमता कमजोर हुँदै जान्छ । शरीरमा सुगर लेभल बढी छ, प्रेसर बढी छ, कोलेस्टेरोल बढी छ भने त्यसलाई मेटाबोलिक सिन्ड्रोम भनिन्छ । यस्तो मेटाबोलिक सिन्ड्रोमले मेटाबोलिजम क्षमता कमजोर हुन्छ । मेटाबोलिजम क्षमता कमजोर हुँदा मधुमेह र रक्तचापको स्तर उच्च हुन्छ ।

मेटाबोलिजम बढाउने कुनै प्राकृतिक विधि हुन्छ ?

प्राकृतिक रूपमा मेटाबोलिजम क्षमता बढाउन प्रशस्त मात्रामा फाइबरयुक्त खानेकुरा खानुपर्छ । दिनभर शारीरिक रूपले सक्रिय पनि हुनुपर्छ । साथै, मोटोपन नियन्त्रण, सन्तुलित स्वास्थ्य र सुपाच्य खानेकुराको सेवन, प्रशस्त मात्रामा पानी पिउने र नियमित व्यायाम गर्नुपर्छ ।

डा. विधाननिधि पौडेल मेटाबोलिजम स्वास्थ्य

धेरै कमेन्ट गरिएका

डा. विधाननिधि पौडेल
लेखक
डा. विधाननिधि पौडेल
पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १४३६ एमबीबीएस, एमडी रसिया ग्यास्ट्रोएन्टेरोलजी र हेपाटोलोजी (रसिया) साढे तीन दशकको अनुभव, हाल निजामती कर्मचारी अस्पताल काठमाडौंका कार्यकारी निर्देशक तथा वरिष्ठ कन्सल्टेन्ट ग्यास्ट्रोएन्टेरोलोजिस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय