+
+

अर्थमन्त्री पुनको बिदाइमा गभर्नर र सचिवले के भने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १७:५३

३० असार, काठमाडौं । चार महिने कार्यकाल बिताएका अर्थमन्त्री वर्षमान पुन आइतबार मन्त्रालयबाट बिदा भए ।

बिदाइको अवसरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री पुन गौरवका साथ मन्त्रालयबाट बिदा भएको प्रतिक्रिया दिए । बजेट मार्फत सूचना प्रविधिसहित केही नयाँ र आशा लाग्दा कार्यक्रम ल्याएको उनले बताए ।

‘बजेट धेरै मिहिनेत र इमान्दारिताका साथ आएको छ, आईसीटीसहित धेरै विषय राम्रा आएका छन्, यसमा मन्त्रालयले मार्केटिङ गर्नुपर्ने देखेको छु’, उनले भने, ‘मन्त्रीज्यू मन्त्रालयबाट गौरवका साथ बिदा भइराख्नु भएको छ ।’

मन्त्री पुनको सरल व्यवहार र सौहार्दता तारिफ गर्न लायक रहेको उनको प्रतिक्रिया छ ।

राजनीतिज्ञको बिदाइमा धेरै गम्भीर हुन जरुरी नरहेको भन्दै उनले यस्ता अवसर फेरि आउने बताए ।

चालु आर्थिक वर्षको त्रैमासिक समीक्षा गर्दा मन्त्री पुनले दिएको सुझावलाई राष्ट्र बैंकले अनुसरण गरेको उनले जानकारी दिए ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले कर्मचारीका सुझावलाई विज्ञका सुझावका रुपमा ग्रहण गर्ने र जस्तोसुकै परिस्तिथिमा पनि नआत्तिने पुनको विशेषता भएको उल्लेख गरे ।

बजेट निर्माणको अन्तिम दिनहरूमा धेरै चापको समयमा समेत मन्त्री पुनले हौसला दिइरहेको उनले स्मरण गरे ।

पुनको नेतृत्वमा विश्व बैंक समूहको आईडीए–२१, बैठक, तेस्रो लगानी सम्मेलन र बजेट निर्माण प्रक्रिया कुशलतापूर्वक सम्पन्न भएको उनले बताए ।

राजस्व सचिव डा. रामप्रसाद घिमिरेले मन्त्री पुनको कार्यकाल छोटो भए पनि नीतिगत सुधारमा धेरै काम भएको बताए ।

पुनसँग काम गर्न धेरै सहज अनुभव भएको भन्दै उनले निर्देशनभन्दा बढी सुझाव दिएको जस्तो शैलीमा काम गराउने तरिका मन परेको सुनाए । पुन २३ फागुन २०८० मा दोस्रो पटक अर्थमन्त्री नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?