+
+

डा. आरजुलाई परराष्ट्रको बागडोर

कांग्रेस नेतृ डा. आरजु राणा परराष्ट्रमन्त्री बन्दैगर्दा मुलुकको विदेश नीति सन्चालन गर्ने संवेदनशील जिम्मेवारीमा राजनीतिक र कर्मचारी क्षेत्रबाट दुई महिलाले एकै साथ अगुवाई गर्ने संयोगसमेत जुरेको छ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ असार ३१ गते २१:०६

३१ असार, काठमाडौं । कांग्रेस नेतृ डा. आरजु राणालाई परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हाल्ने मौका मिलेको छ । मुलुकको विदेश नीति सञ्चालन गर्ने संवेदनशील मन्त्रालयमा उनले राजनीतिक नेतृत्व गर्दैगर्दा कर्मचारी क्षेत्रबाट परराष्ट्रसचिव सेवा लम्सालले सघाउने छिन् ।

यसरी महत्वपूर्ण जिम्मेवारीमा दुई महिला नेतृत्व एकै साथ रहेको संयोगसमेत जुरेको छ । सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै राणाले आफूले एकदमै ठूलो जिम्मेवारी पाएको बोध गरेको बताइन् ।

‘हाम्रो सानो भूपरिवेस्टित राष्ट्र हो । ठूला देशहरुको बीचमा छौं । पूर्वजहरुले हाम्रो देशलाई अहिलेसम्म बचाएर ल्याएकोले हामी स्वतन्त्र र सार्वभौम देशक रुपमा रहेको हो इतिहासमा, अब आउने पिँढीका लागि समेत कायम राख्नुपर्छ’ परराष्ट्रमन्त्री भएपछि डा.राणाको पहिलो अभिव्यक्ति छ ।

नेपाल कुनै ठूलो सेना भएको देश नभएको उल्लेख गर्दै राणाले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेर शान्तिपूर्ण रुपमा पञ्चशीलको सिद्धान्तमा आधारित भएरै अगाडि बढ्ने नीति नै अगाडि बढाइने बताइन् । नेपाललाई इतिहासमा पूर्वजहरुले जसरी बचाएर राखे त्यसैगरी अघि बढाउने गरी काम गर्ने मन्त्री राणाको प्रतिवद्धता छ ।

‘भूराजनीति पहिलेभन्दा भिन्दै भएर गइरहेको हामी सबैलाई थाहा छ । यो भन्दा भन्दै यो भन्दा पहिला पनि यस्तै अप्ठ्याराहरु नभएको होइन इतिहासमा । त्यस्तो समयमा पनि नेपालले आफ्नो स्वतन्त्रता, आफ्नो अडान राखेर देशको रुपमा बसेको भएर भविष्यमा पनि हामी यसरी नै जान सक्छौं भन्ने मलाई विश्वास छ’ डा. राणाले भनिन् ।

अर्थात, आफूले कम महत्वको जिम्मेवारी नलिएको डा. राणाको भनाइ छ । आफूसँग काम गर्ने क्षमता र अनुभव दुवै रहेको पनि डा. राणाको दलिल छ । ‘मन्त्री पहिलो पटक हो । तर, म सँग उच्च स्तरको नेताको श्रीमतीको रुपमा ३० वर्षको राजनीतिक अनुभव छ ।’

डा. राणा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमती हुन् । देउवा र डा. राणाले आइतबार ३० औं वैवाहिक वर्षगाँठ मनाएका थिए ।

२०४८ सालको संसदीय निर्वाचनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा देउवा गृहमन्त्री थिए । बहालबाला गृहमन्त्री छँदै उनले डा.राणासँग विवाह गरेका थिए ।

विवाह पश्चात डा. राणा पनि राजनीतिमा जोडिइन् । कांग्रेसको सदस्यता भने २०५३ सालमा लिएकी हुन् ।

देउवा पाँच पटक नेपालको प्रधानमन्त्री भए । देउवा प्रधानमन्त्री हुँदा डा. राणाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेर परराष्ट्र मन्त्रालय र यसको जिम्मेवारीलाई नजिकबाट नियालेकी थिइन् ।

‘प्रधानमन्त्री भएपछि त परराष्ट्रको कुरा पनि नजिकबाट हेरिन्छ’ परराष्ट्र मन्त्रालय हाँक्न सक्ने क्षमता आफूसँग रहेको सुनाउँदै उनले भनिन् ।

१३ माघ २०१८ सालमा जन्मिएकी ६३ वर्षीय राणाले भारतबाट मनोविज्ञान विषयमा विद्यावारिधि गरेकी छन् ।

डा. राणासँग बिभिन्न सामाजिक संघसंस्थामा रहेर काम गरेको अनुभव पनि छ । आफूले विदेशको काउन्सिलमा बसेर समेत काम गरेको र त्यसक्रममा सम्बन्धित आफ्नो नागरिकलाई कसरी सहयोग गर्छन् भनेर थाहा पाएको उनले सुनाइन् ।

आफू धेरै देशहरु पुगेको सम्बन्धित देशको बारेमा जानकारी लिएको उल्लेख गर्दै उनले नेपालमा पनि सिस्टम बनाएर कानुन गर्नुपर्ने बताइन् । आर्थिक कुटनीतिमा आफ्नो जोडबल रहने प्रतिवद्धता जनाइन् ।

उनले संसदीय समितिको सभापति भएर समेत अनुभव संगालेकी छन् ।

डा. राणा ११ भदौ २०८० मा प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति निर्वाचित भएकी थिइन् ।

संसदीय समितितिको सभापतिको रुपमा नियाल्दा आफूले नेपालसँग नीति भएको तर, त्यसअनुसार चल्ने अभ्यास गर्न र परिणाममुखी व्यवस्थापन गर्न आवश्यक रहेको अनुभव गरेको बताइन् ।

कति महिनामा के गर्ने हो भनेर लक्ष्य निर्धारण गर्नुपर्ने र त्यसअनुसार काम गर्ने पद्धतिको विकास गर्नुपर्ने, अन्तरमन्त्रालय समन्वय हुनुपर्ने उनको बुझाई छ । यही अनुभवका आधारमा काम गर्ने राणाको प्रतिवद्धता छ ।

कांग्रेसका नेताहरु भने डा. राणाले राजनीतिक उचाइ प्राप्त गरेको बताउँछन् । उनले २०७४ सालको प्रत्यक्ष चुनाव जितेर राजनीतिमा आफूलाई स्थापित गर्न खोजेकी थिइन् । त्यसबेला कैलाली ५ बाट प्रत्यक्ष चुनाव लडेकी राणाले चुनाव जित्न सकिनन् ।

२०७९ को चुनावमा प्रत्यक्ष चुनाव लड्ने आँट गरिनन् । खस आर्य समूहबाट समानुपातिक निर्वाचन पद्धतिमार्फत प्रतिनिधि सभा सदस्य भइन् । त्यसपछि उनी संसदीय विषयगत समितिको सभापति हुँदै परराष्ट्रमन्त्री हुन सफल भइन् ।

डा.राणासँग २०६४ र २०७० सालको संविधानसभामा रहेर संविधान निर्माणमा भूमिका खेलेको अनुभव छ । संविधान सभामा रहँदा उनले सबै तहमा महिलाको हक, प्रजनन अधिकार, समान नागरिकता, समान सम्पत्तिको हक, महिलामाथि हुने हिंसा, महिलाको समतामूलक र समान राजनीतिक प्रतिनिधित्व जस्ता विषयलाई प्राथमिकताका साथ उठाएकी थिइन् ।

दुई पटक संसदीय अनुभव संगालेकी उनी तेस्रो पटकदेखि नै कार्यकारी अनुभव लिन चाहन्थिन् । २०७४ को चुनावपछि त्यो चाहना पुरा गने वातावरण बनेन । २०७९ को चुनावपछि सांसद भएर उनले सुरुदेखि कार्यकारी भूमिकामा चाह राखिन् । यसका लागि उनले पार्टीमा समेत आफ्नो भूमिका बढाएकी छन् ।

राणा २०७८ साल पुसमा सम्पन्न १४ औं महाधिवेशनदेखि केन्द्रीय सदस्य भइन् ।

कांग्रेसकै कतिपय नेताहरुका अनुसार शेरबहादुरपछि पार्टीमा स्थापित हुने चाहना डा. आरजुको छ । यसका लागि उनले कार्यकारी अभ्यास गर्दै आफूलाई अगाडि बढाइरहेकी छन् ।

विधानतः कांग्रेसको १५ औं महाधिवेशन २०८२ सालमा हुनुपर्छ । देउवा अब पार्टी सभापतिमा दोहोरिन पाउँदैनन् । कांग्रेसमा दुई पटक भन्दा बढी सभापति बन्न पाइँदैन । समयमै महाधिवेशन भए देउवाले नेतृत्व छाड्नुपर्ने हुन्छ । तर, वर्तमान सत्ता समीकरणमा देउवा ओलीपछिका प्रधानमन्त्री हुन् । यो अवस्थामा देउवा पार्टी सभापति अर्को भएता पनि संसदीय दलको नेता कायमै रहेर प्रधानमन्त्री बन्न चाहन्छन् । यसका लागि समेत देउवाका लागि अनुकुल पात्र पार्टी सभापतिमा हुनुपर्छ ।

यी सम्भावनालाई समेत ख्याल गर्दै आरजु कार्यकारी भूमिका अभ्यास गर्दै अगाडि बढिरहेको कांग्रेसकै नेताहरु बताउँछन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?