
३ साउन, काठमाडौं । बिहीबार नेपालले एक होनहार नागरिक गुमायो, पर्यटन उद्योगले अभिभावक । द्वारिकाज होटलकाे संस्थापक तथा नेपाली उद्योग र त्यसमा पनि पर्यटन क्षेत्रकी निर्विवाद ‘दिज्यू’ अम्बिका श्रेष्ठको बिहीबार निधन भएको हो । सकारात्मक सोच र आफ्नो मुलुक नेपाललाई औधी माया गर्ने अम्बिकालाई पर्यटन उद्योगले ‘अम्बिका दिज्यू’ उपनामले बोलाउँछ ।
कुनै बेला चुलो चौकामा सीमित रहने नारीले पनि व्यवसाय सम्हाल्न सक्छन् र यतिसम्म उँचाइ दिन सक्छन् भन्ने उदाहरण बनेकी अम्बिकाको निधनले पर्यटन क्षेत्रले अभिभावक मात्रै गुमाएन, नेपालले आफूलाई धेरै माया गर्ने एक नागरिक गुमाएको होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह बताउँछन् ।
‘एउटा छाप्रोबाट द्वारिकाजको यात्रा सुरु भएको हो’ उनी भन्छन्, ‘आज राजकीय पाहुना, खेल र चलचित्र स्टारको निर्विकल्प छ यो प्रोपर्टी ।’
नेपालभन्दा माथि केही छैन, यहाँ जति सम्भावना कहीं छैन भनेर हरेक पुस्तालाई प्रेरणा प्रदान गर्ने अम्बिकाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेकी उनको पछिल्लो दुई महिनायता उपचार जारी थियो ।
क्यान्सरलाई जितेर वृद्धा उमेरमा पनि समाजसेवा र पर्यटन उद्योगको श्रीवृद्धिमा निरन्तर सक्रिय अम्बिकाको ९१ वर्षको उमेरमा निधन भएको हो । उनका दुई छोरी छन् । जेठी छोरी संगीता र नाति (संगीताका छोरा) विजयले अहिले नेपालभित्र द्वारिकाजको बिजनेस सम्हालिरहेका छन् । कान्छी छोरी विनिता अमेरिकामा बसोबास गर्दै आएकी छिन् ।
श्रीमान् र पुत्र वियोग बेहोरेकी अम्बिकाले चरम पीडामा पनि आफ्नो लय छाडिनन् । सन् १९७७ मा दर्ता भएको होटल द्वारिकाज आज नेपालको सबैभन्दा स्तरीय लक्जरी बुटिक प्रोपर्टी हो । सन् १९९२ मा श्रीमान् द्वारिकादास श्रेष्ठको निधन भएपछि उनले होटलको विरासत सम्हालिन् ।
अम्बिकाको जन्म सिक्किममा भएको थियो । द्वारिकादाससँग विवाह भएपछि सन् १९५५ मा उनी काठमाडौं आइन् । पढेलेखेको श्रेष्ठ परिवार पर्यटन र आतिथ्य उद्योगमा होमियो । त्यसपछि यो परिवारले पछाडि फर्केर हेर्नु परेन ।
सन् १९६६ मा द्वारिकादास श्रेष्ठले नेपालको पहिलो ट्राभल एजेन्सी काठमाडौं ट्राभल्स एण्ड टुर्स स्थापना गरे । त्यसअगाडि नै सन् १९६४ देखि नै मौलिक नेपाली शैलीमा भवन निर्माण गरी द्वारिकाले बुटिक होटल स्थापना गरे । काठमाडौं उपत्यकाको वास्तुकलाको वैभवलाई पुनर्जीवित गर्ने उद्देश्य सहित निर्माण गरिएको द्वारिकाज होटल सन् १९७७ मा दर्ता गरिएको हो ।
हानका अध्यक्ष शाहका अनुसार श्रेष्ठ परिवार नेपालको सम्पदा संरक्षण र त्यसलाई पर्यटनको एक माध्यम बनाउन सकिन्छ भन्ने मान्यताका ‘पायोनियर’ हुन् । काठमाडौं आधुनिक बन्ने क्रममा थियो । पुराना शैलीका घर भत्काएर कंक्रिटका घर बनाउने होडबाजी थियो ।
त्यस्तो बेलामा द्वारिकादासले तत्कालीन समयमा पुराना घर भत्काएर नयाँ बनाउने क्रममा जलाउन ठिक्क पारेका धेरै काठ खरिद गरी जम्मा पारेर आजको द्वारिकाज खडा गर्न प्रयोग गरेको शाह बताउँछन् । अम्बिका जीवनको उत्तरार्धमा समेत नेपाल हेरिटेज सोसाइटी मार्फत सम्पदा संरक्षणमा निरन्तर सक्रिय थिइन् ।
‘यसबाट पनि यो परिवारमा सम्पदा संरक्षणप्रति कति लगाव थियो भन्ने स्पष्ट हुन्छ’, उनी भन्छन् ।
नेपाल पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशी पर्यटनलाई अरू धेरै पुस्तासम्म लैजानुपर्छ र त्यसका माध्यमबाटै मुलुकको समृद्धि सम्भव छ भन्नेमा अम्बिका सधैं अटल रहेको स्मरण गर्छन् ।
‘मैले दिज्यूलाई चिनेको २४ वर्ष भएछ’ उनी भन्छन्, ‘यो बीचमा मैले कहिल्यै पनि उहाँबाट नेगेटिभ टिप्पणी सुनिनँ ।’
नेपालभित्र केही गर्छु भनेर लागेको मानिसलाई सधैं प्रेरणा दिने बानी अम्बिकामा थियो । ‘उहाँ क्वालिटी पर्यटनको पर्याय हो, वातावरण संरक्षण र सम्पदा यसका माध्यम हुन् भन्नेमा उहाँको स्पष्ट मान्यता थियो’ उनी भन्छन्, ‘उमेरले ९० को दशकमा हिंडिरहँदा पनि उहाँले हरेक फोरममा यसकै लागि वकालत गरिरहनुभयो ।’ अम्बिका पछिल्लो समय स्पेनका लागि अवैतनिक महावाणिज्य दूतका रूपमा समेत सक्रिय थिइन् ।
पर्यटनमा नबिझाउने नेता
आज हजारौं सदस्य रहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) की संस्थापक अध्यक्ष अम्बिकाले नेपालमा पर्यटन नीति निर्माण र यसको जग बसाउन राज्य सँगसँगै हातेमालो गरिन् । नेपाल पर्यटन बोर्डका पूर्व सदस्य राजेन्द्र सापकोटा नेपाली पर्यटनमा यति विवादरहित नेतृत्व अरू नभएको बताउँछन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) की समेत पूर्वअध्यक्ष अम्बिकाले एसिया प्यासेफिक ट्राभल एसोसिएसनको नेपाल च्याप्टरका लागि समेत सक्रिय रूपमा काम गरेकी थिइन् । सार्वजनिक निजी साझेदारी अवधारणामा नेपाल पर्यटन बोर्ड स्थापना गर्दा होस् वा विभिन्न वर्षमा आयोजना भएका पर्यटन र भ्रमण वर्षमा निजी क्षेत्रबाट सहभागी हुने एक अग्रणी व्यक्तित्व थिइन् अम्बिका ।
पूर्वसदस्य सापकोटा भन्छन्, ‘आज पर्यटन जहाँ छ, त्यसमा दिज्यूको योगदान अग्रस्थानमा आउँछ ।’ सरकारले बनाउने नीति निर्माणमा सक्रिय सहभागिता मात्रै होइन, क्वालिटी सुझाव दिएर पर्यटनलाई अर्थतन्त्रको मूल माध्यम बनाउन अम्बिकाले निर्वाह गरेको भूमिकाको आफू सधैं प्रशंसक रहेको उनको भनाइ छ ।
वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डे ‘पर्यटन’ नै मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो भन्ने अम्बिकाकै मान्यतामा अहिले मुलुक हिंडेको बताउँछन् । ‘उहाँले जीवनभर पर्यटन बाहेक अन्यमा ध्यान मोड्नुभएन, जति गर्नुभयो उत्कृष्ट काम गर्नुभयो’ उनी भन्छन्, ‘उहाँ सफल नेता मात्र होइन, पर्यटन उद्योगको उदाहरण हो, जसले नेपाल जस्तो मुलुकले यति बहुमूल्य प्रोपर्टी बनाउन सक्छ भन्ने उदाहरण पेश गर्नुभयो ।’
नेपाललाई दिगो र बहुमूल्य गन्तव्य बनाउनुपर्छ भन्ने अम्बिकाको प्रयास थियो । सोही कारण द्वारिकाज आज पनि नेपालको सम्भवतः महँगो होटल प्रोपर्टी मध्ये एक हो । तर, यो होटलले कहिल्यै पनि महँगो मूल्यका कारण अक्कुपेन्सीमा सम्झौता गर्नु परेन । पाण्डे भन्छन्, ‘जब तपाईं क्वालिटी मेन्टेन गर्नुहुन्छ, मूल्य कुनै विषय नै होइन, अम्बिका दिज्यू र द्वारिकाज यसकै उदाहरण हो ।’
अहिले द्वारिकाजको प्रोपर्टी काठमाडौंको बत्तीसपुतली र धुलिखेलमा सञ्चालनमा छ । केशर महलस्थित गार्डेन अफ ड्रिम्स अर्को लोकप्रिय प्रोपर्टी हो । यसबाहेक पाटन म्युजियममा पनि द्वारिकाजको रेस्टुरेन्ट सञ्चालनमा छ ।
हानका अध्यक्ष शाहका अनुसार जति पनि प्रोपर्टी द्वारिकाजले विस्तार गरेको छ, यी सबै प्रोपर्टीको मेनु प्रिमियम मूल्यमा छ । ‘क्वालिटी टुरिजम’मा अम्बिका दिज्यू सम्झौता नै नगर्ने व्यक्तित्व हो’ उनी भन्छन्, ‘त्यसकारण यी प्रोपर्टी विश्वप्रसिद्ध पनि छन् ।’
‘भूटानले गर्न सक्छ, हामी किन सक्दैनौं ?’
‘पर्यटनमा नेपालले विश्व परिचय बनाइसक्दा पनि गुमनाम जस्तै भूटान आज हामीभन्दा धेरै अगाडि बढिसकेको छ, प्राकृतिक स्रोत साधन र मौलिक कलाकृतिमा विश्वमै उत्कृष्ट नेपाललाई हामी किन यति सस्तो गन्तव्य बनाइरहेका छौं ?’ यो पर्यटन उद्योगमा अम्बिकाले पटक–पटक सार्वजनिक फोरममा उठाएको प्रश्न हो ।
भूटानले अहिले सो मुलुकमा निश्चित रकम दैनिक खर्च गर्नैपर्ने नियम बनाएको छ । नत्र उक्त मुलुकमा प्रवेशको अनुमति दिइँदैन । नेपालले आम पर्यटक भित्र्याउने नाममा आफूलाई सस्तो गन्तव्य बनाइरहेको छ । सगरमाथा जस्ता अमूल्य सम्पदा केही सीमित व्यापारीले व्यापार गर्ने थलोका रुपमा खुला छाडिएको छ । यसमा अम्बिकाको सधैं चित्तदुखाइ थियो । बोर्डका पूर्व सीईओ जोशी सम्झन्छन्, ‘यी सम्पदा रहे न पर्यटन रहन्छ, नत्र कसरी बाच्ने हो ?, दिज्यूको ठूलो चिन्ता दिगो पर्यटनमा थियो ।’
प्रतिक्रिया 4