+
+

१८ वर्षे गर्भवतीको साबिती : ‘यस्तो गल्ती नगरौं’

गर्भवती हुनु जोखिम अवस्था रहेछ । स्वास्थ्यमा समस्या आइरहेको छ । मेरो उमेर पनि सानै छ, त्यसमाथि मेरो शरीरमा अर्को व्यक्ति हुर्किंदैछ । २० वर्षपछि मात्रै बच्चा जन्माउनु राम्रो हुनेरहेछ भनेर मैले बल्ल बुझ्दैछु । 

अस्मिता राई अस्मिता राई
२०८१ साउन ४ गते १०:३५

सानैमा विवाह भयो । विवाह भएको दुई वर्ष नबित्दै गर्भ पनि बस्यो । अहिले म १८ वर्षमा टेक्दैछु । मेरो पेटमा अहिले ८ महिनाको बच्चा छ । बिहे गर्दा कक्षा आठमा पढ्दै थिएँ । विवाह पछि पढाइ पनि छुट्यो ।

गाउँघरमा कोहीसँग राम्रोसँग बोल्दा पनि कुरा काट्ने, नाम जोडिदिने प्रवृत्ति छ । त्यसको शिकार म पनि भएँ । घरमा बुढाबुढी बुबा–आमा हुनुहुन्छ । एक भाइ र तीन दाइ हुनुहुन्थ्यो । त्यसमध्ये एक जना दाइ बित्नुभयो । मेरो पढाइ ठीकै थियो ।

म कोहीसँग बोलेकै भरमा मेरो बारेमा गाउँघरमा अनेक कुरा हुनथाले । मेरो बुब–आमा सोझो हुनुहुन्छ । जो–कोहीले भनेको कुरा सहजै पत्याउनुहुन्छ । उहाँहरूलाई पनि मनमा केही लाग्यो होला । घरको आर्थिक अवस्था पनि कमजोर छ । परिवार पाल्नका लागि खेतीपाती तथा ज्यामी काम गर्नुपर्ने अवस्था छ ।

भोलि छोरी कतै हिंडी भने इज्जत नै जान्छ कि भन्ने डरले हो कि केले हो सानैमा बिहेको लागि करकाप हुन थाल्यो । मलाई आफन्तले नै धेरै कर गरे । आफन्तबाट नै बिहेको कुरा आयो । मैले केही समय त इन्कार गरें । विवाह गर्ने इच्छा थिएन । तर मेरो घरपरिवारले मेरो कुरा सुन्नै मान्नुभएन । घरबाट अलिपरको गाउँमा मेरो विवाह भयो ।

विवाह हुँदा म १६ वर्षकी थिएँ । मेरो श्रीमान् कलेज सकेर घर बस्नुभएको थियो । अहिले विदेशी पर्यटकलाई गाइड गर्ने काम गर्नुहुन्छ । म घरमै बस्छु । खेतीपाती, घरतिरको काम गर्छु । आठ महिना अगाडि मेरो पेटमा गर्भ बस्यो । त्यही स्थानीय स्वास्थ्य संस्थामा परीक्षण गरें ।

अहिले यसो सम्झिन्छु बिहे त २० वर्ष कटेपछि मात्रै गर्नुपर्ने रहेछ । सानै उमेरमा बिहे गर्दा घरपरिवारसँग पनि घुलमिल हुन गाह्रो हुने रहेछ ।

अब मलाई थाहा हुँदै, गर्भवती हुनु जोखिम अवस्था रहेछ । त्यसमाथि पनि मेरो उमेर सानै छ । पेटमा बच्चा आइसकेपछि केही स्वास्थ्य समस्या देखा पर्न थाले । किनकि मेरो शरीरमा अर्को व्यक्ति हुर्किंदै थियो ।

चार–पाँच महिना हुन थालेपछि ढाड दुख्ने, पेट दुख्ने, हातखुट्टा दुख्ने, हिंड्न नसक्ने, उठ्नका लागि पनि अरूको सहारा लिनुपर्ने हुन थाल्यो । शरीरमा धेरै कुरा परिवर्तन भएको महसुस गरेकी छु । बेला–बेलामा योनीबाट पानी पनि बगिरहेको हुन्छ ।

केही समय अगाडि धेरै रिंगटा लाग्ने, वान्ता हुने समया देखियो । धेरै दिनसम्म पनि वान्ता हुन नछाडेपछि काठमाडौं आएँ । अहिले प्रसूति गृहमा उपचार गराइरहेकी छु । चिकित्सकले चेक–जाँच गरेर औषधि दिएपछि रिंगटा चल्ने, वान्ता हुन रोकिएको छ ।

तर अझै पनि पिसाबमा इन्फेक्सन भएको बताउनुभएको छ । पिसाब संक्रमण भएर होला पेट दुख्ने, पिसाब छिनछिनमा जाने भइरहेको छ । डाक्टरले भने अनुसार सानै उमेरमा बच्चा पाउँदा धेरै समस्या आउने रहेछन् । मलाई अहिले मात्रै यो थाहा हुँदैछ ।

अहिले यसो सम्झिन्छु बिहे त २० वर्ष कटेपछि मात्रै गर्नुपर्ने रहेछ । सानै उमेरमा बिहे गर्दा घरपरिवारसँग पनि घुलमिल हुन गाह्रो हुने रहेछ । झन् पेटमा बच्चा हुँदा धेरै स्वास्थ्य समस्या देखिने रहेछन् । सकेसम्म २० वर्षपछि मात्रै बिहे गर्दा पढ्न पनि पाइन्छ । त्यसपछि मात्रै बच्चा जन्माउन राम्रो हुने रहेछ भन्ने मैले अहिले आएर थाहा पाएँ ।

आफैंले भोग्दा अहिले स्वास्थ्य समस्या कस्तो हुँदोरहेछ भनेर महसुस गरिरहेकी छु । यहाँ बस्दा नर्सले किन चाँडै बच्चा पाउन लागेको भन्नुभयो । सानै उमेरमा बच्चा पाउँदाको समस्याको बारेमा बुझाउनुभयो । उहाँले भनेको सुनेर आफैंलाई पछुतो लाग्यो । पढ्न मन थियो नि ! के गर्नु भाग्यले दिएन । पेटमा बच्चा हुर्किरहेको छ । अब सन्तानलाई राम्रो शिक्षा दिन्छु । मेरो जस्तो अरूले भोग्नु नपरोस् । सानो उमेरमा विवाह गर्ने गल्ती नगरौं ।

(सोलुखुम्बुकी १८ वर्षीया राईसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?