+

स्तन क्यान्सर भए नभएको आफैंले कसरी जाँच गर्ने ?

२०८१ साउन  ६ गते १२:०१ २०८१ साउन ६ गते १२:०१
स्तन क्यान्सर भए नभएको आफैंले कसरी जाँच गर्ने ?

महिलामा हुने क्यान्सरमध्ये मुख्य हो स्तन क्यान्सर । सामान्यतया स्तन क्यान्सर महिलामा हुन्छ, तर यसको मतलब यो होइन कि पुरुषमा स्तन क्यान्सर हुन सक्दैन । महिलामा जस्तै पुरुषमा पनि स्तन क्यान्सरको जोखिम हुन्छ । यद्यपि पुरुषमा स्तन क्यान्सरको जोखिम महिलाको तुलनामा कम हुन्छ ।

एक हजार जना स्तन क्यान्सरका बिरामीमध्ये चारदेखि पाँच जना, एक प्रतिशतभन्दा कम पुरुषमा देखिन्छ । स्तनमा रहेका कोषहरूबाट विकसित हुने यो क्यान्सर पुरुष, महिला दुवैमा हुनसक्छ ।

यो क्यान्सरलाई समयमै पत्ता लगाउन सकियो भने यसबाट हुने मृत्युको जोखिमलाई कम गर्न सकिन्छ । स्तन क्यान्सर हुने कारणमध्ये प्रमुख कारण वंशाणुगत हो । समयमा पत्ता लगाउन सकियो भने यसको उपचार सम्भव छ ।

अमेरिकन क्यान्सर सोसाइटीका अनुसार पछिल्लो केही वर्षयता स्तन क्यान्सरबाट हुने मृत्युदर लगातार घट्दै गएको छ । नियमित चेकअप र उचित उपचारले क्यान्सरबाट मृत्युको जोखिम कम हुँदै गएको बताइन्छ । साथै प्रारम्भिक पहिचानको मद्दतले स्तन क्यान्सरबाट हुनसक्ने थप जोखिमबाट बच्न सकिन्छ ।

स्तन क्यान्सर पत्ता लगाउने विभिन्न विधि छन् । जसमा आफैंले स्तन जाँच विधि,  चिकित्सकद्वारा जाँच, म्यामोग्राफी जाँच र हाई रेजोलुसन भिडियो एक्स-रे आदि ।

स्तन क्यान्सर पत्ता लगाउने यी विभिन्न उपायमध्ये आफैंले स्तन जाँच गर्ने विधि घरमै गर्न सकिन्छ । २० वर्षमाथिका महिलाले हरेक महिना आफैं स्तन जाँच गर्न सक्छन् । यदि महिनावारी ठीक समयमा भइरहेको छ भने महिनावारी भएको पाँचौं दिनदेखि १० दिनभित्रमा ‘सेल्फ ब्रेस्ट एक्जामिन’ गर्न सकिन्छ । महिनावारी बन्द भइसकेको छ भने पनि हरेक महिनाको कुनै एक दिन स्तन जाँच गर्नुपर्छ ।

आफैले स्तन क्यान्सर जाँच गर्ने विधि

ऐना अगाडि उभिएर चेकजाँच

ऐना अगाडि उभिएर आफ्नो दुवै स्तनलाई हेर्ने । दुवै स्तनको समानता, आकार, बनोट, मुन्टोको अवस्था, छालाको रङ र नरमपनाको फरकपन तथा स्तनको कुनै पनि भागमा रहेको गिर्खालाई ध्यान दिनुपर्छ । यदि गिर्खाजस्तो डल्लो देखिएमा क्यान्सको जोखिम रहन्छ ।

दुवै हातलाई माथि उठाएर काखीमा देखापरेको केही परिवर्तनलाई ऐना अगाडि उभिएर हेर्नुपर्छ । दुवै हातले कम्मरमा हल्का थिचेर ऐना अगाडि हेर्ने, यसो गर्नाले स्तनमा लुकेर बसेका केही परिवर्तन छन् भने पनि प्रष्ट देख्न सकिन्छ ।

नुहाउँदा चेकजाँच

नुहाउँदा पनि सरलताका साथ स्तन क्यान्सर छ कि छैन पत्ता लगाउन सकिन्छ । यसका लागि साबुन लगाएको हातले भिजेको स्तनको जाँच गर्न सकिन्छ । देब्रे हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमबद्ध रूपमा जाँच गर्नुपर्छ ।

स्तन जाँच गर्दा हातको औंलाहरुको बीचको भाग प्रयोग गर्न सकिन्छ ।  औंलाको बीचको भाग धेरै संवेदनशील हुने भएकाले केही परिर्वतन भएको छ भने पत्ता लगाउन सकिन्छ ।

दाहिने हातले देब्रे स्तनको मुन्टा र देब्रे हातले दाहिने स्तनको मुन्टा निचोरेर पनि परीक्षण गर्न सकिन्छ । यसरी मुन्टो निचोर्दा पिप निस्कन पनि सक्छ । मुन्टोबाट पिप निस्किनु भनेको क्यान्सरको जोखिम निम्तिनु हो ।

सुतेर चेकजाँच

काखीमुनि तकिया राख्ने र त्यो हातलाई टाउको पछाडि राखेर सुत्ने अनि हातले छामेर जाँच गर्ने । स्तनको प्रत्येक भागको क्रमिक रूपमा छामेर जाँच गर्ने । घडीको दिशाअनुसार जाँच गर्नुपर्छ । एक ठाउँबाट जाँच गर्न सुरु गर्ने र त्यही आएर अन्त्य गर्ने । स्तन जाँच गर्दा स्तनको भाग सँगसँगै काखीको भागमा पनि जाँच गर्नुपर्छ ।

यस्ता लक्षण देखिए चिकित्सकको सल्लाह लिनुपर्छ

स्तनको छालामा परिवर्तन देखिएमा, स्तनको आकार र बनावटमा परिवर्तन आएमा, स्तनको मुन्टोबाट ननिचोरी वा निचोर्दा तरल पदार्थ आएमा, स्तनको मुन्टो भित्रतर्फ गडेमा, यसको आकार र स्थानमा परिवर्तन भएमा स्तनमा गाँठो अनुभव भएमा वा कुनै पनि शंका लागेमा अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

डा. ऋजुता जोशी

धेरै कमेन्ट गरिएका

लेखक
डा. ऋजुता जोशी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय