+
+

अस्थिरताको कारक आरोपमा साना दलको प्रतिवाद

आइतबार संसदमा कांग्रेस एमालेबीच सहमति भएपछि ती दलका नेताहरुले साना दलका कारण अस्थिरता बढेको, अब स्थिरताका लागि संविधान संशोधन गर्नेसम्मका अभिव्यक्ति दिए । तर, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र अरु साना दलले मुलुकमा अस्थिरताको कारण कांग्रेस एमाले नै रहेको भन्दै ओली र देउवाको भनाइको खण्डन गरे ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ साउन ६ गते २१:०१

६ साउन, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउनुमा कांग्रेस एमालेले दिएको तर्क हो, अस्थिरताका कारण विकास निर्माण भएन, आम निराशा छायो, त्यसैले स्थिर सरकार आवश्यक पर्‍यो ।

आइतार नै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सार्वजनिक गरेको कांग्रेस एमालेबीच ७ बुँदे सहमतिको पहिलो बुँदामा नै स्थिर सरकारको विषय उल्लेख छ ।

‘आमजनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन राजनैतिक स्थिरताको लागि अन्य राजनैतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६(२) अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने’, ७ बुँदे सहमतिको पहिलो बुँदामा भनिएको छ ।

पछिल्लो डेढ वर्षमा संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ठूला दल कांग्रेस र एमालेसँग पालैपालो गठबन्धन गरे, संसदमा ५ पटक विश्वासको मत लिए भने १९ पटक मन्त्रिपरिषद हेरफेर गरे ।

यही बेलामा कांग्रेस र एमालेले मुलुक अप्ठेरो अवस्थामा रहेको भन्दै आफूहरु मिल्नुपर्ने अवस्था आएको बताए । कांग्रेस एमालेबीच सहमति भएपछि ती दलका नेताहरुले साना दलका कारण अस्थिरता बढेको, अब स्थिरताका लागि संविधान संशोधन गर्नेसम्मका अभिव्यक्ति दिए ।

आइतबार विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनको भरपर्दो इकोसिस्टम तयार पार्ने पनि दाबी गरे ।

ओलीपछि बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले नागरिकको अपेक्षा स्थिर सरकार, तीब्र आर्थिक विकास, रोजगारी सिर्जना, भौतिक संरचनाको शीघ्र निर्माण आदि रहेको बताए ।

उनले अगाडि भने, ‘देश विकासका लागि सबैभन्दा पहिला स्थिर र मजबुत सरकार निर्माण गर्न जरुरी छ । आजको संसदको संरचनालाई हेर्दा स्थिर सरकारका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन भएको छ ।’

तर नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र अरु साना दलले मुलुकमा अस्थिरताको कारण कांग्रेस एमाले नै रहेको भन्दै ओली र देउवाको भनाइको खण्डन गरे ।

‘बदनियत छोप्न स्थिरताको नारा’

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेस र एमालेबीच बदनियतपूर्ण ढंगले सत्ता साझेदारी भएको र त्यसमाथि प्रश्न उठेपछि स्थिरताको नारा दिइएको टिप्पणी गरे ।

‘यो सहमति गर्न लागेका नेताहरुले भन्नुभयो यहाँ अस्थिरता भयो । समानुपातिक निर्वाचन प्रणालीले अस्थिरता निम्त्यायो, के साँच्चिकै त्यस्तो देखिन्छ ?’, पुनले ओलीले तत्कालीन नेकपाको सहज बहुमतको सरकार चलाएको स्मरण गर्दै प्रश्न गरे, ‘साढे तीन वर्ष त नेकपाको प्रधानमन्त्री हुनुहुन्थ्यो, खै त आर्थिक प्रगति के भयो ?’

२०४८ देखि ०६३ को बीचमा कांग्रेस र एमाले पालैपालो सरकारमा गएको र त्यही बेला नै धेरै पटक सरकार फेरिएको पुनले बताए ।

‘यो तर्क (स्थिरताको) साँच्चिकै असल नियतले ल्याएको कुरा भन्दा कहिँ न कहिँ बेठीक ढंगले सत्ता समीकरण भएको छ त्यसलाई छोप्नलाई ल्याइएको हो’, उनले भने ।

कांग्रेस एमालेले संविधान संशोधन गरेर महिला, दलित, जनजाति र मधेशीले पाएको समानुपातिक समावेशीको अधिकार कटौती गर्न खोजेको आरोप लगाउँदै उपमहासचिव पुनले त्यसलाई लुकाउन स्थिरताको कुरा गरेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री ओलीले नयाँ गठबन्धन बनाउनुपर्नाका कारण दिँदा जनता यत्तिको निराश भएको यसअघि नदेखेको भन्ने अभिव्यक्ति दिएकामा असन्तुष्टि जनाए । उनले ३४ वर्षदेखि मुलुकको शासन कांग्रेस–एमालेकै हातमा रहेको भन्दै जनता निराश कसको कारणले भएको भनी सोधे ।

‘प्रधानमन्त्रीज्यूले जनता यति निराश भएको देखेकै थिइन भन्नुभयो, त्यो निराशाको कारक को रहेछ ? प्रधानमन्त्रीज्यूले पढ्नुभएको स्क्रिप्ट मैले वा नयाँ दलका मान्छेले पढेको भए ठ्याक्कै मिल्थ्यो’, उनले भने ।

आफूहरु दुई पटक गरेर ५ महिना सरकारमा सहभागी भएको भन्दै लामिछानेले सोधे, ‘५ महिनामा यो देशको हरिबिजोग हामीले बनाएको हो ?’

उनले अगाडि भने, ‘३४ वर्षमा ५ महिनाको भाग लगाउनुस् त्यो ५ महिनाको जिम्मा हामी लिन्छौं बाँकी ३४ वर्षको ५ महिना कटाएर भएको जिम्मा यो रोष्ट्रममा उभिएर लिने तागत तपाईं राख्नुस्’, उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजनीतिक स्थिरता नहुनुमा कांग्रेस र एमाले नै मुख्य जिम्मेवार रहेको बताए ।

‘देशमा स्थिरता नहुनुमा समानुपातिक, समावेशिता र साना दलहरु होइनन् । तपाईं दुई ठूला दलको क्रियाकलाप हो मुख्य । आवश्यक परेको बेला साना दलहरुलाई फुटाउनुहुन्छ । फेरि के के लोभ देखाउनुहुन्छ, तर्साउनुहुन्छ सँगसँगै लाइन बसाउनुहुन्छ । चलखेल तपाईंहरु गर्नुहुन्छ’, अध्यक्ष लिङ्देनले भने ।

संसदीय अंकगणितले मात्रै स्थिरता दिने भए २०७४ सालको चुनावमा कम्युनिस्ट पार्टीले झण्डै दुई तिहाइ बहुमत आउँदा किन स्थिरता भएन भन्ने उनले प्रश्न उठाए ।

‘गणितले मात्रै काम गर्ने भएको भए यो भन्दा अघिल्लो चुनावमा कम्युनिस्ट पार्टी एक्लैले झण्डै दुई तिहाइ बहुमत ल्याएको होइन ? किन पाँच वर्ष सरकार चलेन ?’ अध्यक्ष लिङ्देनको प्रश्न छ ।

विगतमा कांग्रेसले पनि एक्लै बहुमत ल्याउँदा पाँच वर्ष सरकार चलाउन नसकेको भन्दै उनले राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले नै भएको बताए ।

समस्या ठूला दलहरुमा रहेको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले दोहोर्‍याए, ‘कुरा गणितको होइन, समस्या साना दल र समानुपातिक होइन । समस्या तपाईंहरुको प्रवृत्ति हो । तपाईंहरुको चरित्र हो ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण विगतमा नेकपाको बहुमतको सरकार टिकाउन नसकेको बताए । ‘दुई ठूला दलको गणना गर्दा पुगनपुग दुई तिहाइको छेउमा पुृगेको वाम सरकारको नेतृत्व र पार्टी नेतृत्व तपाईकै काँधमा थियो’, उनले ओलीलाई सम्झाए ।

जनताले स्थायीत्व खोजेको नै ठानेको हो भने त्यतिबेला नै नेकपाको एकता जोगाउनुपर्ने उनले बताए । ‘यो अनुभव तपाईसँग थियो नै यसलाई किन टिकाउन सकिएन ? बहुमतको सदुपयोग गर्न किन सकिएन ? किन आपसी समझदारी कायम गर्न सकिएन ?’

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले पनि राजनीतिक अस्थिरताको कारण नेपाली कांग्रेस र नेकपा एमाले नै भएको आरोप लगाए । नेताहरुको नियत राम्रो भए स्थिरता प्राप्त हुने उनले बताए ।

‘कुन सरकार छ जहाँ कांग्रेस र एमाले छैन ? संख्या तपाईंहरुसँग छ । तपाईंहरुकै गणितका आधारमा देश चलिरहेको छ, जति पनि अस्थिरता छ कांग्रेस र एमालेकै इन्ट्रेस्टमा भइराखेको छ’, उनले भने, गणितकै बलमा भइरहेको छ, एमाले र कांग्रेसमध्ये एउटाले सरकारको खेलमा लाग्दैन भने जसले सरकार चलाए पनि स्थिरता प्राप्त हुन्छ । तर, यहाँ छद्मभेषी पोलिटिक्स छ’, साहले भने ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले संसदको सबैभन्दा ठूलो दलको सरकार र दोस्रो ठूलो दलको छायाँ सरकार हुने संसदीय व्यवस्थाको मान्यता रहेको बताए । तर, नेपालका दलहरु त्यस विपरीत अगाडि बढ्दा प्रजातन्त्र खतरामा परेको उनको भनाइ छ ।

‘यतिबेला शासक दलहरुले नेपालमा यो प्रणाली असफल भयो वा सक्कियो भन्न सक्नुपर्‍यो । मोही माग्ने ढुंग्रो लुकाउने किन ?’ सुवालले कांग्रेस, एमालेलाई प्रश्न गरे ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?