+
+

बहादुर सिं लामा : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८१ साउन ८ गते १७:५२

८ साउन, हेटौंडा । नेपाली कांग्रेसका नेता बहादुर सिं लामा बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका लामालाई मंगलबार साँझ प्रदेश प्रमुख यादव शर्माले नियुक्ति गरे ।

८ कात्तिक २०२७ मा नुवाकोटको किस्पाङ गाउँपालिका-५ मनकामनामा जन्मिएका उनी तामाङ समुदायबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति हुन् । बागमतीमा नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गर्ने पनि उनी पहिलो हुन् ।

लामाले गाउँकै विद्यालयबाट निमावि, सदरमुकाम बिदुरबाट एसएलसी तथा काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातक सम्मको शिक्षा हासिल गरेका छन् ।

२०४३ सालदेखि कांग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघको सदस्य लिएका उनले नेविसंघ शंकरदेव क्याम्पस इकाई सदस्य,२०४५ मा नुवाकोटमा नेविसंघको क्षेत्रीय सभापति, जिल्ला उपसभापति हुँदै काङ्ग्रेस राजनीतिमा अगाडि बढेका थिए ।

लामा २०५४ सालको स्थानीय तहको निर्वाचनमा नुवाकोट तत्कालीन मनकामना गाविस अध्यक्षमा निर्वाचित भएका थिए । उनी कांग्रेसको १३ औं महाधिवेशनमा पहिलो पटक केन्द्रीय सदस्य निर्वाचित भए भने त्यसपछि १४ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य निर्वाचित भए ।

०६४ सालमा नुवाकोट क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्यमा पराजित भएका उनी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी नेता पोष्टबहादुर बोगटीलाई हराएर संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

२०७४ सालमा प्रतिनिधिसभा सदस्य तथा २०७९ सालमा बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका लामा शेरबहादुर देउवाका विश्वासपात्रका रूपमा चिनिन्छन् ।

लामा बागमती प्रदेश संसदीय दलको चुनावमा इन्द्रबहादुर बानियाँलाई पराजित गरेर दलको नेता निर्वाचित भए । २६ चैत २०८० मा सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी छोटो समयमै मुख्यमन्त्री बनेर सरकारमा फर्किए ।

२०७४ माघबाट हालसम्म बागमतीमा चार मुख्यमन्त्री भइसकेका छन् । कांग्रेसले भने एकपटक पनि सरकारको नेतृत्व गर्न पाएको थिएन । केन्द्रमा गठबन्धन फेर बदल हुँदासमेत बागमतीमा कांग्रेस सत्ताको नेतृत्वबाट बिमुख रह्यो ।

२८ माघ २०७४ मा डोरमणि पौडेल बागमतीको पहिलो मुख्यमन्त्री बने । पौडेल मुख्यमन्त्री रहेकै बेला नेकपामा विवाद उत्पन्न भयो । २ भदौ २०७८ पौडेलले राजीनामा दिएसँगै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनिन् ।

एमाले विभाजित भएपछि १३ सांसदले एकीकृत समाजवादी पार्टी रोजे । सरकार अल्पमतमा परेसँगै १० कात्तिक २०७८ मा राजीनामा दिइन् ।

केन्द्रमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलको गठबन्धन बन्यो । ११ कात्तिक २०७८ मा एकीकृत समाजवादीका दलका नेता राजेन्द्र पाण्डे ४ दलको समर्थनमा मुख्यमन्त्री बने ।

२०७९ मंसिरमा भएको चुनावलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग तालमेलमा नयाँ सरकार बनाएसँगै बागमतीमा माओवादीका शालिकराम जम्कट्टेल २५ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भए ।

संसदको पहिलो दल भएर पनि कांग्रेस सत्ता नेतृत्वमा पुग्न सकेन । तर यही असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमतिपछि पहिलो पटक कांग्रेस बागमतीको नेतृत्वमा पुगेको हो । जसको अवसर लामाले पाए ।

लेखकको बारेमा
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?