+
+

जहाज ‘सी–चेक’ पूर्वको उडान कति जोखिमपूर्ण ?

जहाज परीक्षणका विभिन्न चरणलाई ए, बी र सी भन्दै वर्गीकरण गरिएको हुन्छ । सोही वर्गीकरण अनुसार सी चरणको चेकअप नै सी-चेक हो । सी-चेक पूर्ण परीक्षण र मर्मत हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते १८:०८

९ साउन, काठमाडौं । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका क्रममा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको सीआरजे ७०० ९एन-एएमई जहाज ‘कम्प्लिट चेक’ (सी–चेक) का लागि पोखरा जाँदै थियो । बोलीचालीको भाषामा पूर्ण परीक्षण तथा मर्मत भनिने यस प्रकारको परीक्षणपूर्व भएको यो दुर्घटनापछि आम जनमानसमा जहाज उडानयोग्य थियो कि थिएन भन्ने जिज्ञासा उठेको छ ।

यसै जिज्ञासाबारे हामीले नेपाल नागरिक उड्डयन प्राधिकरणका एक प्राविधिकलाई सोधेका छौं । उनका अनुसार हरेक वायुयान निर्माता कम्पनीले आफ्ना वायुयान कुन मुलुकमा कुन अवस्थामा उडिरहेका छन्, त्यसको दुरुस्त विवरण राखी नियमित फलोअप समेत गरिरहेका हुन्छन् ।

वायुयानलाई दुरुस्त राख्न तोकिएको समयमा तोकिएको परीक्षण नियमित हुने गरे–नगरेको बारे अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले हरेक मुलुकका नियामक निकायलाई सचेत गराइरहेका हुन्छ । नियामक निकायले यसको पनि विवरण राखी त्यस्तो परीक्षण सुनिश्चित गरिरहेको हुन्छ । सोहीकारण जहाज बरू ‘ग्राउन्डेड’ गराइन्छ, तर मर्मत र परीक्षण विना उडाउन पाइँदैन ।

सामान्यतया हरेक ५ हजार घण्टा उडानपछि वा एकदेखि डेढ वर्ष अवधिमा सी-चेक गरिन्छ । यो आम मानिसले बुझ्ने भाषामा भन्दा स्वस्थ मानिसले पनि निश्चित समयमा गर्ने ‘होल बडी चेकअप’ जस्तै हो । जहाज परीक्षणका विभिन्न चरणलाई ए, बी र सी भन्दै वर्गीकरण गरिएको हुन्छ । सोही वर्गीकरण अनुसार सी चरणको चेकअप नै सी-चेक हो । सी-चेक पूर्ण परीक्षण र मर्मत हो । जहाँ जहाजको बाहिरी भाग, इन्धन, तरल पदार्थहरूको स्तर, टायर, ब्रेक, जहाजका विभिन्न आन्तरिक प्रणाली, उडान नियन्त्रण, इन्जिन, ल्यान्डिङ गियर, जहाजको संरचनात्मक उपकरण र विद्युतीय प्रणाली समेतको परीक्षण र बिग्रिएको पाइएमा मर्मत गरिन्छ । सामान्यतया यस्तो परीक्षणका लागि एकदेखि चार सातासम्म लाग्छ ।

यतिसम्म कि जहाजमा नटबोल्टहरू खुकुलो भए नभएको सम्मको परीक्षण यस दौरान गरिन्छ । त्यसकारण जहाज सी-चेकमा जानुको मतलब जहाजमा अगाडि नै खराबी थियो भन्ने अर्थ भने लाग्दैन । अर्थात्, यो नियमित परीक्षणमा थियो भन्नुपर्ने उनी बताउँछन् ।

‘दुर्घटनाका कारण छानबिन आयोगको प्रतिवेदनबाटै खुल्छ, त्यो अगाडि कुनै पनि जहाज दुर्घटनाका कारणबारे आकलन गर्न मुस्किल पर्छ,’ उनी भन्छन् ।

सौर्यले यो जहाजलाई काठमाडौंकै ह्यांगरमा राखेर पनि मर्मत गर्न सक्थ्यो । तर, काठमाडौंमा एउटै जहाज लामो समय ह्यांगरमा राखेर मर्मत गर्दा आकस्मिक मर्मत गर्नुपर्ने अन्य जहाजहरूको काम प्रभावित हुन्छ । सोही कारण सी-चेकका लागि जहाजहरू अन्य विमानस्थलका ह्यांगरमा पठाउने गरिन्छ । सी-चेकपछि पनि हरेक ६ देखि १० वर्षको बीचमा जहाजको विस्तृत सुदृढीकरण परीक्षण हुन्छ । जसमा कतिपय उपकरणको आयु नै सकिने अवस्थामा त्यसलाई विस्थापित गर्नेसम्मका हुन्छन् ।

नेपालबाट जहाज सी-चेकका लागि सिंगापुर, इजरायल लगायत देशमा पनि लैजाने गरिन्छ ।

जहाजको चेक श्रृङ्खला

ए–चेक : नियमित निरीक्षण (हरेक ४ सयदेखि ६ सय घण्टा उडान वा २ सयदेखि ३ सय उडान साइकल पछि)

बी–चेक : विस्तृत परीक्षण (हरेक ६ देखि ८ महिनामा गरिने विस्तृत परीक्षण)

सी–चेक : पूर्ण परीक्षण (एकदेखि डेढ वर्ष वा ५ हजार घण्टाभन्दा माथि उडिसकेपछि गरिने परीक्षण)

डी- चेक : ओभरहौल परीक्षण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?