+

महिला एसिया कपको उपलब्धि : ठूला टिमसँग प्रतिस्पर्धाको अनुभव

२०८१ साउन  १० गते १९:५२ २०८१ साउन १० गते १९:५२
महिला एसिया कपको उपलब्धि : ठूला टिमसँग प्रतिस्पर्धाको अनुभव

१० साउन, काठमाडौं । श्रीलंकामा जारी एसीसी वुमन्स एसिया कप २०२४ मा नेपाल समूह ए बाट २ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । यूएईलाई ६ विकेटले हराउँदै सानदार सुरुवात गरेको नेपाल पाकिस्तानसँग ९ विकेट र भारतसँग ८२ रनले हार्दै बाहिरियो ।

दुई टेस्ट टोलीविरुद्ध नतिजा भन्दा पनि नेपाल सिकाइबाट खुसी छ । नेपाल पाकिस्तानसँग २० ओभरमा ६ विकेट गुमाउँद १०८ रन बनाएको थियो । उक्त लक्ष्य पाकिस्तानले ११.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । भारतले १७९ रनको लक्ष्य दिंदा नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन बनाएको थियो ।

‘यो प्रतियोगिता हामीलाई सिक्ने मौका भयो । भारत र पाकिस्तानको बल कसरी फेस गर्ने र प्यानिक नभइ खेल्ने सिक्याैं, बिहीबार नेपाल फर्किएपछि कप्तान इन्दु बर्माले भनिन् ।

यो एसिया कपमा नेपालको तेस्रो सहभागीता हो । यसअघि सन् २०१२ नेपाल तीन र २०१६ मा पाँच खेल्दा नेपाल जितविहीन थियो । युएईविरुद्ध नै महिला एसिया कपमा नेपालको पहिलो जित थियो । त्यसैको कारण खेलाडीमा बढी खुसी र उत्साह देखिन्थ्यो ।

‘यूएईविरुद्ध हामीलाई जित चाहिएको थियो । पाकिस्तानलाई राम्रो चुनौती दिंदै सेमिफाइनल पुग्ने लक्ष्य थियो । तर त्यो हुन सकेन । हामीले हाम्रो तर्फबाट सक्दो प्रयास गर्‍याैं, इन्दुले भनिन् । त्यसैमा थपिन्, हामीले अझै धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ । ब्याटिङ, बलिङ, फिटनेसमा धेरै काम गर्नुपर्ने देखिन्छ । एसिया कपबाट धेरै सिकेका छौं’, इन्दुले भनिन् ।

भारत र पाकिस्तानविरुद्ध नेपालको फिल्डिङ राम्रो हुन सकेन । त्यसको एउटा कारण फ्लड लाइटमा खेल्नु थियो । पहिलो पटक फ्लड लाइटमा खेल्न कुनैपनि खेलाडीलाई सहज हुँदैन । तर फ्लडलाइटकै कारण कमजोर फिल्डिङ नभएको इन्दु बताउँछिन् ।

मिहिनेत गरे ठूला टोलीलाई हराउन सकिने आत्मविश्वास यस एसिया कपमा नेपालले प्राप्त गरेको अर्को सकारात्मक पक्ष हो । ठूला टोलीलाई स्तब्ध पार्न फिटनेस, फिल्डिङ र बलिङमा मिहिनेत गर्नुपर्ने उनी बताउँछिन् ।

वुमन एसिया कप खेलेर बिहीबार काठमाडौं फर्केको टोली । तस्वीर :  विकास श्रेष्ठ/अनलाइनखबर

वर्षाको चोटमा सम्झनाको मलम

दुई वर्षअघि एसीसी महिला टी–२० च्याम्पियनसिपमा सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८१ रनमा अल आउट गरेको थियो । तर वर्षाको कारण पुन खेल सुरु हुन नसकेपछि नेपाल बाहिरिएको थियो । नियम अनुसार यूएई समूह विजेता हुँदा खेल जित्दै फाइनलमा पुग्दै एसिया कपमा पुगेको थियो ।

यूएईलाई यस पटक हराउन ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकासहित ७२ रनको अविजित इनिङ खेलिन् । उनको उत्कृष्ट प्रदर्शनमा नेपालले ११६ रनको लक्ष्य १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । त्यो हारको पीडामा नेपालले केही मलाम लगायो । खेलपछि नेपाली खेलाडीले डग आउटबाट उत्कृष्ट सेलेब्रेसन गरे । धेरै खेलाडीको आँखामा आँशु थियो ।

‘नेपाली महिला क्रिकेटको लागि त्यो क्षण एकदमै उत्कृष्ट थियो । पाँच वर्षपछि यूएईलाई हराएका थियौं । हामीले दुई वर्षअघि एसिया कप पानीको कारण खेल्न पाएनौं । त्यसैले त्यो क्षण सबैभन्दा महत्वपूर्ण र खास थियो, इन्दुले भनिन् ।

त्यो जित स्मरण गर्दा सम्झना आफैंलाई निकै खुसी लाग्छ । उनले अन्तर्राष्ट्रिय करिअरको मात्रै नभएर एसिया कपमा नै नेपालका लागि पहिलो अर्धशतक थियो । ‘जस्तो खेल्छु भनेर गएको थिएँ त्यस्तै भयो । यो प्रतियोगिताले मलाई निकै आत्मविश्वास बढाएको छ । ‘यूएई, पाकिस्तान, भारत भनेर सोचेको थिइन । ब्याट र बलको कुरा हो । तर पछिल्ला दुई खेलमा सोचे जस्तो भएन, सम्झनाले भनिन् । सम्झना पाकिस्तानसँग ४ र भारतसँग ७ रनमा आउट भएकी थिइन् ।

नेपालसँग फेरि खेल्ने इच्छा स्मृतिको चाहना

खेलपछि भारतीय खेलाडीसँग नेपाली खेलाडीले अनुभव सुन्ने मौका पाए । उनीहरुको अनुभवले नेपाली टिमलाई छुट्टै हौसला दिएकोछ । भारतीय खेलाडीले नेपाली क्रिकेटरको तारिफ गरेका थिए । इन्दुले भारतीय तथा विश्वको चर्चित महिला क्रिकेटर स्मृति मन्दनासँग कुरा गरेको भिडियो सामाजिक सञ्जालमा राम्रो चर्चा पाएको थियो । उनले उनीबाट धेरै अनुभवहरु सुनेको इन्दु बताउँछिन् । त्यसमा पनि पिचमा कसरी प्रेसर सम्हाल्ने सिकेकी छिन् । फिटनेश त झनै भई हाल्यो ।

‘सानो देशमा राम्रो क्षमता रहेछ । अझै राम्रो र प्रगति गर्दै जानु । आउने दिनमा हामीले पुन खेल्न पाऊँ, स्मृतिले भनेको इन्दुले बताइन् ।

तर यो इच्छा पूरा गर्न नेपाल क्रिकेट संघले पनि महिला क्रिकेटको बारेमा अब गम्भिर भएर सोच्ने बेला भएको छ । यस विषयमा क्यानका अध्यक्ष चतुर बहादुर चन्द भन्छन्, ‘हामी महिला क्रिकेट टिमका लागि पनि योजना बनाउँदै छौं । जसरी हामीले पुरष टिमलाई तयारी गरेका थियौं त्यसरी नै एक्सपोजर दिन्छौं । राम्रो राम्रो टिमसँग हामी खेल्ने भन्ने कुरा भइरहेको छ । तर अब कागजी रुपमा सहमत नभएसम्म यही भनेर भन्न सकिँदैन ।’

चन्द महिला खेलाडीलाई दिनुपर्ने अनुभव क्यानले नदिएको स्वीकार गर्दछन् । अनुभवको कमी थियो । हामी यो नतिजाबाट हामी सन्तुष्ट छौं । ठूला टिमसँग खेल्दा ठूलै तयारी गर्नुपर्ने देखिन्छ । त्यसकारणले अब हाम्रो तयारी अनुसार खेलाडीले क्षमता भने देखाएका हुन् ।

एसिया कप नेपाल
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय