+
+

काठमाडौंमा उपचार गराउन नसक्दा गाउँ फर्किए गुरुदेव कामत

रासस रासस
२०८१ साउन १३ गते १२:४२

काठमाडौं । गुरुदेव कामत नेपाली संगीत क्षेत्रमा एउटा सम्मानित नाम हो । उनी नेपाली संगीतको क्षेत्रमा गायक, संगीतकार तथा संगीत गुरुका रूपमा परिचित छन् । शास्त्रीय संगीत साधकका रूपमा लामो समय साधना गरेका गायक कामत केही समययता अस्वस्थ छन् ।

शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो । उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी सपरिवार आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएको कवि मुकुन्द पौडेलले जानकारी दिए ।

‘शास्त्रीय संगीतमा उच्च नाम बनाएका एउटा सर्जक यसरी घर फर्किनु ज्यादै दु:खद् छ । उहाँको मिर्गौलामा समस्या पहिलेदेखि भएपनि उपचारका क्रममा गत वर्ष फागुन–चैतमा मात्र पत्ता लागेको थियो । शास्त्रीय संगीतमा जीवन समर्पित गर्नुभएका साधकलाई हामीले यसै भुल्नु हुँदैन,’ पौडेलले भने ।

कवि पौडेलले शास्त्रीय गायक कामतको दुवै मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस गरिरहेको बताए । आर्थिक अभावकै कारण जन्मथलो फर्किएका कामतको उपचारमा सहयोग गर्न कवि पौडेलले पहल थालेका छन् ।

‘उहाँका शुभेच्छुक केही व्यक्ति जम्मा भएर उहाँलाई गर्न सकिने सहयोगका विषयमा हालै छलफल गरेका छौं । उहाँका शिष्यसँगै शुभेच्छुकले सहयोग गर्नुभएमा उहाँको उपचार गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ हो,’ पौडेलले भने ।

शास्त्रीय गायक कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात छन् । उनीसँग २०५५ सालदेखि नै सम्पर्कमा रहेका संगीतकार राजु सिंह पनि उपचार समस्याकै कारण घर फर्किनुलाई दु:खद् मान्छन् । उनले संगीतको एक साधकलाई जीवनको यो समयमा राज्यले पनि सहयोग गर्नुपर्ने बताए ।

 

‘उहाँ शास्त्रीय संगीतमा जति पोख्त हुनहुन्छ, त्यति नै सरल र बुझ्ने गरी सिकाउने गुरू । उहाँसँग निजी कक्षा लिने र नियमित कक्षा लिने थुप्रै विद्यार्थी अहिले गीत-संगीतको चम्किला तारा बन्नुभएको छ । उहाँलाई हामी संगीतकर्मीसँगै सरोकारवाला निकायले सहयोग गर्न ढिलाइ गर्न हुँदैन,’ संगीतकार सिंहले भने ।

‘मलाई पनि केही स्वास्थ्य समस्या देखिएको थियो, त्यहीकारण उहाँलाई भेट्दा असर गर्छ भन्ने लगेर फोनमार्फत नै सम्पर्क गरें । म ठीक भएपछि भेट्छु भन्ने योजना बनाएको थिएँ । उहाँ घर फर्किनुभएको कुराले ज्यादै दुःखी बनाएको छ,’ सिंहले अगाडि भने, ‘जीवन नै शास्त्रीय संगीतमा समर्पण गरेर यहाँसम्म ल्याउन अहम् भूमिका खेल्ने सर्जकको यो अवस्थाले नयाँ पुस्तालाई पक्कै उत्साहित गर्दैन । त्यसैले राज्यले त्यस्ता सर्जकलाई उपचारमा सघाउनुपर्छ ।’

गुरुदेव कामत स्वभावले आत्मस्वाभिमानी भएकाले पनि सहयोगका लागि आग्रह नगरेर आफ्नो जन्मथलो फर्किएको हुनसक्ने संगीतकार सिंहको अनुमान छ ।

‘हामीले शास्त्रीय गीत-संगीतको चर्चा गर्ने हो भने गुरुदेव विना सम्भव हुन्न, अपूरो हुन्छ,’ संगीतकार सिंहले भने ।

गायक युवराज चौलागाईं २०६० सालताका गुरुदेवकहाँ पुगेका थिए । त्यहाँ औपचारिक रूपमा शिक्षा नलिए पनि उनले प्रेरणाको स्रोतका रूपमा उनलाई लिने गरेका छन् ।

‘शास्त्रीय संगीतमा केही गर्छु भन्नेले उक्त समयमा पुग्ने एउटा ठाउँ नै गुरुदेव हुनुहुन्थ्यो । अहिले पनि उहाँको गीत-संगीतले हामीलाई शिक्षा दिइरहेको हुन्छ । संगीत सिकाउने सरल र सभ्य उहाँको शैलीले विद्यार्थीलाई आकर्षित गर्थ्यो । उहाँलाई सुन्न पाउँदा नै हामी धन्य हुन्छौं,’ चौलागाईंले भने ।

उनले गुरुदेवजस्तो संगीत साधकलाई उपचारमा सघाउन आफूले पनि आग्रह गरिरहेको बताए । बेलाबखतमा संगीतकर्मीलाई पर्ने अप्ठ्यारोका विषयमा दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने उनले बताए ।

‘जीवन नै गीत-संगीतमा समर्पित गरेर एउटा विधालाई नयाँपुस्तासम्म ल्याउन मद्दत गर्ने सम्पूर्ण अग्रजका बारेमा सम्बन्धित निकायले पनि सोच्नुपर्छ । गुरुदेवजस्तो सर्जकको अवस्थाले हामीलाई उत्साहित गर्न सक्दैन,’ उनले भने, ‘त्यसैले हामीले पनि केही छ भन्ने अवस्था हुनुपर्छ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?