+
+

गिरीबन्धुबारे अनुसन्धान गर्न विश्वप्रकाशको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १६:१७

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गिरीबन्धु टी–इस्टेटको जग्गाबारे अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले कांग्रेस र एमालेको गठबन्धन अनुसन्धानका फाइल दबाउनका लागि बनाइएको भन्ने भाष्य स्थापित गर्ने प्रयास भएको बताए ।

यो भाष्यलाई गलत सावित गर्न गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकारले अनुसन्धान अगाडि बढाउनुपर्ने उनले बताएका हुन् ।

‘गिरीबन्धुको ७० बिघा बेचेर खाएको भनेर कांग्रेसमाथि गम्भीर आरोप लागेको थियो । प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु कांग्रेसका ती को हुन् ? तिनले छुट पाउनुहुन्न । यो आरोपको छानबिन गरियोस्,’ शर्माले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खुल्दा माओवादी र कांग्रेसको सरकार रहेको उनले स्मरण गरे । एमालेले पनि सरकारमा पुगेसँगै यो प्रकरणलाई निष्कर्षमा पुर्‍याउनुपर्ने उनको आग्रह छ ।

‘जुनबेला नक्कली भुटानी शरणार्थी प्रकरण खुलेको थियो त्योबेला कांग्रेस र माओवादीको सरकार थियो । अहिले सरकारमा एमाले आइपुगेको छ । यो परीक्षामा हामीसँगै सामेल छ । यसलाई निष्कर्षमा पुर्‍याउनका लागि,’ उनले भने ।

शर्माले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि यही हो । निर्दोष कोही फस्नुहुन्न । दोषी कोही उम्कनुहुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?