+
+

समाचार लेखेको निहुँमा अनलाइनखबरकर्मी सुवेदीलाई मन्त्री मनाङेको धम्की

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते २१:१४

१३ साउन, काठमाडौं । गण्डकी प्रदेशभा भौतिक पूर्वाधारमन्त्री दीपक मनाङेले अनलाइनखबरका पोखरा ब्यूरो प्रमुख अमृत सुवेदीलाई आक्रमण गर्ने धम्की दिएका छन् ।

आइतबार मन्त्रालयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले सुवेदीलाई पिट्नुपर्ने अभिव्यक्ति दिएका हुन् । शुक्रबार आफू गञ्जी लगाएर मन्त्रालय आएको बारे समाचार लेखेको भन्दै मनाङेले सुवेदीको नामै लिएर पिट्नुपर्ने बताएका हुन् ।

आइतबार यातायात व्यवसायीहरुले आन्दोलन गरेका बेला पोखरामा आन्दोलनकारीले पत्रकारहरु बिनु थापा र सुरज थापामाथि आक्रमण गरेका थिए । त्यही विषयमा प्रतिक्रिया दिने क्रममा मनाङेले सुवेदीलाई नपिटेर सोझा पत्रकार पिटेको टिप्पणी गरेका हुन् ।

मन्त्री मनाङेको टिप्पणीप्रति नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश समितिले विरोध जनाएको छ । महासंघले गण्डकी प्रदेश सरकारको पत्रकारप्रतिको दृष्टिकोण मन्त्री मनाङे मार्फत सार्वजनिक भएको त होइन भन्ने प्रश्न गरेको छ ।

महासचिव गोविन्द सुवेदीले विज्ञप्तिमा भनेका छन्, ‘यस्तो अभिव्यक्ति दिने मन्त्री उपर कारबाही गर्दै कानुनी राज्यको प्रत्याभूति दिन गण्डकी प्रदेश सरकारसँग महासंघ जोडदार माग गर्दछ ।’

नेपाल प्रेस युनियनको गण्डकी प्रदेश समितिले पनि मन्त्री मनाङेको अभिव्यक्तिको विरोध जनाएको छ ।

मन्त्री मनाङेको अभिवयक्तिका कारण पत्रकारहरुमा असुरक्षा बढेको भन्दै महासचिव प्रकाश ढकालले जिम्मेवार तहमा बसेका व्यक्तिबाटै अराजक अभिव्यक्ति आउनु लोकतन्त्रको भद्दा मजाक भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

युनियनले मन्त्री मनाङेले मानवअधिकार र प्रेस स्वतन्त्रताविरोधीअभिव्यक्ति दिएको भन्दै उनलाई कानुनी कारबाहीको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?