+
+

पशुपतिबाट दुई अभिनेताको दुई सन्देश : राजेश हमालले बिरुवा रोपे, नेताविरुद्ध खनिए निखिल

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते १२:३२

काठमाडौं । सोमबार बिहान पशुपतिमा दुई फिल्म अभिनेताको भिन्न दृश्य देखियो । पशुपति परिसरमा भइरहेका दुई कार्यक्रममा दुई अभिनेताले भिन्न अन्दाजमा आफूलाई पेश गरे ।

अभिनेता राजेश हमालले वनकाली क्षेत्रमा पुगेर वृक्षरोपण गरे । पञ्जैबाजासहित त्यहाँ पुगेका हमालले बिरुवा रोप्दै वातावरण संरक्षणमा जुट्न सबैलाई आग्रह गरे । उनले राम्रो कामका लागि हात बाँधेर नबस्न आग्रह गरे ।

त्यहीं छेउमा चलिरहेको कोटी होम महायज्ञमा अभिनेता निखिल उप्रेती सहभागी भए । अतिथिको रुपमा त्यहाँ पुगेका निखिलले महायज्ञमा भाषण गरे । भाषण गरिरहँदा उनी धार्मिक नेताजस्तै सुनिए ।

निखिलले अहिलेको राजनीति र नेतृत्वबारे आक्रोश पोखे । उनले राम र रावणको विम्ब पेश गर्दै जनताले आफूभित्रको कंसलाई मार्न सके अहिलेको राजनीति सङ्लिने तर्क पेश गरे ।

‘हामी धेरै चुकिसकेका छौं । लिडरको पनि लिडर श्रीराम अनि भगवान शिव हुनुहन्छ । हामीले हामीभित्रबाट रावण र कंसलाई ढाल्न सक्नुपर्छ । त्यसो गरेमा मात्र सरकार ढल्न सक्छ,’ उनले भने ।

उनले हरेक बालबालिकालाई सनातन धर्म सिकाउनुपर्ने बताए । ‘सनातन कुनै वस्त्र, टीका र मालासँग सम्बन्धित छैन । सनातन परम विज्ञान हो । त्यो विज्ञान बुझेर अघिल्लो पुस्तालाई हस्तान्तरण गर्न सक्नुभन्दा अर्को सम्पत्ति अर्को हुनेछैन,’ उनले भने ।

निखिलले सदा सत्कर्मको लागि तयार रहन सबैलाई आग्रह गरे । भाषणको क्रममा उनले बलिउड अभिनेता अमिताभ बच्चनले फिल्म ‘सराबी’मा दिएको सुपुत्र र कुपुत्रबारेको संवादलाई पेश गरे । सत्कर्ममा लाग्न र भित्रैदेखि कुकर्मलाई हटाउन उनको आग्रह छ ।

निखिल पछिल्लो समय एक फिल्मको तयारीमा छन् । यो महत्वाकांक्षी फिल्मबारे उनले केही बताएका छैनन् । निखिल पछिल्लो पटक पाँच वर्षअघि फिल्म ‘भिलेन’मा देखिएका थिए । त्यसयता उनको कमब्याक हुन सकिरहेको छैन ।

तस्वीर : गोपीकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?