+
+

निर्माणाधीन संसद्‌ भवनको काम ९ महिनाभित्र काम सक्न निर्देशन (तस्वीरहरू )

शहरी विकासमन्त्री सिंहले गरे निर्माणाधीन संसद भवन अनुगमन

आर्यन धिमाल आर्यन धिमाल
२०८१ साउन १५ गते १०:२६

१५ साउन, काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद् भवनको अवलोकन गरेका छन् । आज बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण कार्यलाई तीव्रता दिन र छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

२०७६ साल असोज १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नयाँ संसद भवनको निर्माण कार्य २०८० वैशाख १४ गते सम्पन्न गर्ने समयसीमा तोकिए पनि समयमै सम्पन्न हुनसकेको छैन । भ्याट बाहेक ६ अर्ब ९२ करोड रुपैयाँमा भवन निर्माण गर्ने ठेक्का टुण्डी शेक जेभीले पाएको छ ।

सुरुका वर्ष कोभिडका कारण काममा ढिलाइ भएको भनिए पनि कोभिड महामारी सकिइसक्दा पनि कामले गति लिन सकेको छैन ।

अनुगमनपछि उपप्रधानमन्त्री सिंहले संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्न चाहेको भन्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिए । निर्माण सम्झौता अनुसार आगामी नौ महिनामा काम सम्पन्न गर्नुपर्ने भए पनि ठेकदार कम्पनीले काममा गति दिएको नदेखिएको उनले बताए ।

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले कम्तीमा दुई सिफ्टमा काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइए पनि हाल एक सिफ्टमा मात्रै काम भइरहेको बताए ।

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री सिंह अनुगमनमा जाँदा ठेकेदार कम्पनीका प्रतिनिधिहरु भने थिएनन् ।

सभामुख देवराज घिमिरे, प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिका पदाधिकारी र मन्त्रीहरुले यसअघि निर्माणाधीन संसद् भवन अवलोकन गर्दै काममा तीव्रता दिन निर्देशन दिए पनि ठेकेदार कम्पनीले त्यसको पालना गरेको छैन ।

यसअघि ठेकदार कम्पनीले ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको दाबी गरे पनि सभामुख घिमिरेले संरचनाले त्यसको पुष्टि नगरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

पाँचौं पटक साउन २ गते अनुगमन गरेपछि सभामुख घिमिरेले शहरी विकास मन्त्री प्रकाशमान सिंह, मन्त्रालयका सचिव, भवनका महानिर्देशक र संसद भवन निर्माण आयोजना प्रमुख सहितका उच्च अधिकारीहरुसँग संयुक्त छलफल समेत गरेका थिए ।

हेर्नुहोस् तस्वीरहरू : 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?