+
+

२ वर्ष पुग्न एक हप्ता अगाडि नै राजीनामा दिन्छु : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १४:५१

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको भविष्यबारे चिन्ता नगर्न सचिवहरुलाई आग्रह गरेका छन् ।

कतिपयले यो सरकार पनि कति दिन हो र भनेर हल्ला फिँजाउन सक्ने भन्दै उनले भनेका छन्, ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन ।’

मंगलबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेले कर्तव्यबोध गरेर सरकार बनाएको बताए ।

कांग्रेस र एमालेबीच १७ असारमा भएको सातबुँदे सहमतिमा २ वर्ष ओली प्रधानमन्त्री हुने र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने उल्लेख छ ।

त्यही सहमति अनुसार ३० असारमा प्रधानमन्त्री भएका ओलीले आफू सहमतिप्रति प्रतिवद्ध रहेको बताए । ‘यो सरकार मेरो नेतृत्वमा दुई वर्ष चल्ने हो, दुई वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै मैले राजीनामा गरिसकेको हुन्छु’, गर्छ कि गर्दैन भन्ने कुनै दुविधा नहुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यसपछि शेरबहादुरजीको नेतृत्वमा चुनावसम्म जाने हो ।’

उनले कांग्रेस सांसद रमेश लेखकको नाम नलिई संसदको रोष्ट्रमबाट सबै धोका खाएकाहरु एक भएर धोकाबाट सिक्न खोजे भने के हुन्छ विचार गर्नुभएको छ कि छैन भनेको सम्झिाए ।

यो गम्भीर प्रश्न भएपनि आफूहरु बदला लिनुपर्छ भनेर एक नभएको प्रधानमन्त्री ओलीले बताए । देश बनाउन भरपर्दो, स्थिर र एक्सन ओरेन्टेड सरकार बनाएको भन्दै उनले भने, ‘शान्ति सुव्यवस्था कायम गरिछाड्ने, भ्रष्टाचार नियन्त्रण गरिछाड्ने, विकास अगाडि बढाइछाड्ने, सुशासन कायम गरिछाड्ने, जनतालाई सकेसम्म उपयुक्त ढंगले सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सरकार बनेको हो ।’

केही गरौं भन्ने प्रतिवद्धताका साथ सरकार बनेको भन्दै ओलीले व्यक्तिगत आग्रह पूर्वाग्रहलाई नहेर्ने बताए । ‘कुनै पनि भेदभाव हुँदैन भनेको काम गरे पनि उस्तै, नगरे पनि उस्तै चाहिँ हुँदैन, मूल्यांकन हुन्छ’, प्रधानमन्त्री ओलीले सचिवहरुलाई भनेका छन्, ‘तर मूल्यांकन आग्रहमा आधारित हुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?