+

सुत्केरीपछि स्तन पहिलेकै स्वरुपमा आउँछ ?

२०८१ साउन  १७ गते १३:२८ २०८१ साउन १७ गते १३:२८
सुत्केरीपछि स्तन पहिलेकै स्वरुपमा आउँछ ?

गर्भावस्थापछि स्तनमा विभिन्न खालका परिवर्तन आउँदा महिलाका लागि चिन्ताको विषय बन्न सक्छ । किनकि यस्ता परिवर्तनले स्तन झोलिने, आवश्यक भन्दा ठूलो भई शरीरको बनावट बिगार्ने चिन्ता हुनसक्छ । तर बच्चा जन्मिएपछि पनि महिलाले जीवनशैलीमा ध्यान दिए पहिलाकै अवस्थामा स्तन ल्याउन सक्छिन् ।

बच्चा जन्मेपछि पोषणका लागि आमाको स्तन तयारी अवस्थामा रहनका लागि हर्मोनल परिवर्तन गर्भावस्था सुरु भएदेखि नै आउन थाल्छ । सबैभन्दा पहिला स्तनमा हल्का दुखाइ अनुभव हुन थाल्छ । गर्भ बसेको दुई सातामा यो गर्भवतीको पहिलो लक्षणको रूपमा देखिन्छ ।

बिस्तारै स्तन भारी भएको जस्तो पनि हुन थाल्छ । कसैले हल्का त कसैले तीव्र दुखाइ अनुभव गर्न सक्छन् ।

गर्भावस्थामा एस्ट्रोजेन र प्रोजेस्ट्रोन हर्मोन परिवर्तन हुँदा सो दुखाइ कहिले दाहिने त कहिले देब्रे स्तनमा हुनसक्छ । यसरी दुखाइ हुनुको एउटै उद्देश्य हो, स्तनपानको लागि तयारी ।

वास्तवमा, गर्भावस्थाको समयमा स्तनको आकार पहिलेको तुलनामा बढ्न थाल्छ । जसकारण बढी संवेदनशील हुन्छ । संवेदनशील भएकै कारण कहिलेकाहीं छुँदा पनि दुखाइ महसुस हुन्छ । गर्भावस्थामा स्तन दुख्ने अर्को कारण ‘फाइब्रोसिस्टिक’ भनिने अवस्था हुन सक्छ, जसमा एक वा दुवै स्तनमा साना गाँठोहरू बन्छन् । यसले सुन्निने र दुख्ने समस्या निम्त्याउन सक्छ ।

स्तनको रङमा परिवर्तन

गर्भावस्थामा निप्पलको रङमा पनि परिवर्तन आउँछ । गर्भावस्थामा हर्मोनको प्रभावले छालामा रंग बढाउने मेलानिन तत्त्वको मात्रा बढाउँछ । जसकारण हेर्दा गाढा र कालो रङको देखिन थाल्छ । गर्भावस्था बढ्दै जाँदा निप्पलको रङ गाढा हुँदै जान्छ र बच्चा जन्मेपछि स्वतः सामान्य हुन्छ ।

गर्भावस्थाको अन्तरालमा जसले दुखाइको लक्षणको सामना गर्दैनन् । उनीहरूले चिन्ता लिनुपर्ने अवस्था हुँदैनन् । किनकि यस्ता लक्षण व्यक्तिअनुसार फरक पर्न सक्छ ।

दूध उत्पादन

गर्भावस्थामा महिलाको शरीरमा एस्ट्रोजन हर्मोन वृद्धि भई दूध आउने नलीलाई बढाउँछ । पातलो नली हुँदै दूध निप्पलमा पुग्छ । गर्भ रहेको १४ सातापछि स्तनमा दूध बन्न सुरु हुन्छ । निप्पल र एरियोलाको आकार पनि बढ्छ । स्तनमा रक्तसञ्चार बढ्न थालेपछि स्तन नजिकैको नसामा काँडा उम्रिएको जस्तो देखिन्छ, जसलाई एलोरा भनिन्छ ।

कैयौं महिलामा बच्चा हुनुअघि नै दूध जस्तो तरल पदार्थ बगेको जस्तो लक्षण देखिन सक्छ । सामान्यतया गर्भावस्थाको २६ देखि ३० साता वा अन्तिम सातामा स्तन ग्रन्थीबाट दूध आउनु सामान्य हो । यो स्तनपानका लागि तयार भएको दूध ‘कोलोस्ट्रम’ हुनसक्छ । ‘कोलोस्ट्रम’ गाढा, चिप्लो र पहेलो रंगको हुन्छ । जुन प्रसवको केही दिनसम्म जारी रहन्छ । केही दिनपछि परिपक्व दूधमा परिणत हुन्छ । यसमा कार्बोहाइड्रेट, प्रोटिनको मात्रा अत्यधिक हुने भएकाले शिशुमा प्रतिरोध क्षमता बढाउन, जण्डिसको जोखिम कम गर्न मद्दत गर्छ ।

पहिलो स्तनपान

महिला र भर्खरै जन्मिएको शिशुका लागि पनि स्तनपान नौलो हुन्छ । जसकारण बानी बसाउन दुवैलाई असहज हुन्छ । महिलालाई सुरुवाती दिनमा स्तनपान गराउँदा दुखाइको अनुभव समेत हुनसक्छ, जुन बिस्तारै कम हुन्छ ।

आमाको दूध अमृत समान  

पहिलो ६ महिनाको दूध बच्चाका लागि अमृत समान हुन्छ । प्रसवपछि निस्किएको पहिलो दूध बच्चाको लागि प्रतिरोध क्षमता वृद्धि गर्ने शक्तिशाली दूध हुन्छ । किनकि दूधबाटै बच्चाले जरुरी पोषणका साथै एन्टिबडी पनि पाउँछ । जसले भाइरससँग लड्न मद्दत गर्छ ।

प्रसव हुने बित्तिकै थोरै मात्रामा मात्र दूध निस्कन्छ । जुन बच्चाको लागि पर्याप्त हुन जान्छ । किनकि बच्चाको पेट सानो हुन्छ । र, थोरै मात्रामा पटक-पटक गराएको स्तनपान उनीहरुका लागि काफी हुन्छ । बिस्तारै शरीरमा दूधको मात्रा बढ्दै जान्छ ।

गर्भावस्थापछि स्तन झोलिन्छ ?

सुत्केरी अवस्थामा स्तन झोलिनु सामान्य कुरा हो । बच्चा जन्माइसकेपछि स्तनपान गराउँदै गएपछि  बिस्तारै पहिलाकै आकारप्रकारमा आउँछ । बच्चा दुई-तीन वर्ष पुगेपछि दूध आउने क्रम पनि बन्द हुन्छ ।

जहाँसम्म स्तन झोलिने कुरा छ । स्तनपान गराएर स्तन झोलिंदैन । बरु, आकार वृद्धि भई भरिएको जस्तो देखिन सक्छ । स्तन झोलिएको जस्तो देखिने कारण दुब्लोपन हुनसक्छ । त्यसैले यो समयमा सक्रियता कम हुने भएकाले शरीरमा अनावश्यक बोसो भने बढेर स्तन मात्र होइन, शरीरमा पनि अनावश्यक तौल बढ्न सक्छ ।

स्तनलाई कसरी फिट राख्ने ?

खानपान : अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सका अनुसार आमा बनिसकेका महिलाले स्तनलाई फिट राख्न फलफूल, तरकारी, होल ग्रेन र प्रोटिन दैनिक सन्तुलित मात्रामा खानुपर्छ । यी खानेकुराले शरीरलाई चाहिने पोषक तत्व प्राप्त हुन्छ ।

कसरत : स्वस्थ खानेकुरा खाएर मात्र हुँदैन, शारीरिक गतिविधि पनि बढाउनुपर्छ । निरन्तर शरीरको माथिल्लो भाग हात, छाती, ढाड र काँध चलायमान राख्ने अभ्यासले स्तनमा रक्तसञ्चार गराउन मद्दत गर्छ । फलस्वरुप, स्तन कसिलो र बलियो हुन्छ ।  अनावश्यक बोसो कम गराई स्तनले निश्चित आकार लिन थाल्छ ।

स्तन मालिस

प्राकृतिक तेलको सहायताले स्तनमा मालिस गर्नाले रक्तसञ्चार नियमित गर्न मद्दत गर्छ । यसले स्तनका तन्तुहरूमा बढ्दो शिथिलताबाट राहत प्रदान गर्छ र स्तनको आकार र आकारमा परिवर्तन महसुस हुन्छ ।

गर्भावस्था डा. माला श्रेष्ठ सुत्केरी
डा. माला श्रेष्ठ
लेखक
डा. माला श्रेष्ठ
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. श्रेष्ठ हाल काठमाडौंको बसुन्धरास्थित इशान बाल तथा महिला अस्पताल र पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा कार्यरत छिन् । प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी डा. श्रेष्ठको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १०२०८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय