+

मधुमेहकै कारण निम्तिन सक्ने ५ गम्भीर स्वास्थ्य समस्या

२०८१ साउन  १७ गते १२:५३ २०८१ साउन १७ गते १२:५३
मधुमेहकै कारण निम्तिन सक्ने ५ गम्भीर स्वास्थ्य समस्या

पछिल्लो समय मधुमेहको समस्याले धेरैलाई सताइरहेको छ । रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्थालाई मधुमेह रोग अर्थात् डायबिटिज भनिन्छ । यसलाई बोलीचालीको भाषामा चिनी रोग अर्थात् सुगर पनि भनिन्छ । मधुमेह आफैंमा यस्तो समस्या हो, जसले शरीरमा अन्य समस्या पैदा गरिदिन्छ ।

मधुमेहका कारण शरीरमा मुख वा घाँटी सुक्खा हुने, थकान लाग्ने, दृष्टि धमिलो देखिने, धेरै पिसाब लाग्ने जस्ता धेरै लक्षण देखा पर्छन् । धेरैले यी लक्षणलाई सामान्य मान्छन् र तिनीहरूलाई बेवास्ता गर्छन् । तर यी लक्षण देखा परेमा तुरुन्तै डाक्टरसँग परामर्श लिनुपर्छ । औषधि र उचित खानपानले मधुमेह नियन्त्रण गर्न सकिन्छ । तर मधुमेहलाई नियन्त्रणमा राख्न सकिएन भने यसले शरीरमा धेरै समस्या निम्त्याउन सक्छ । जस्तै- कमजोर दृष्टि, मिर्गौला फेल, मुटुको समस्या आदि ।

मधुमेहलाई नियन्त्रणमा नराख्दा यी ५ रोगको जोखिम  

डायबेटिक रेटिनोप्याथी

डायबेटिक रेटिनोप्याथी मधुमेहको गम्भीर समस्या हो । यसले आँखालाई असर गर्ने भएकाले अन्धोपन समेत निम्त्याउन सक्छ । यो समस्या तब हुन्छ जब शरीरमा रगतमा चिनीको उच्च मात्राले रेटिनाका रक्त नलीहरूलाई क्षति पुर्‍याउँछ । जसले गर्दा आँखा सुन्निने, आँसु आउने वा दृष्टि नै गुम्ने समस्या हुनसक्छ ।

मधुमेह रेटिनोप्याथीले धमिलो दृष्टि, दृष्टि समस्या निम्त्याउन सक्छ । समयमै रगतमा चिनीको मात्रा नियन्त्रण गरिएन र डायबेटिक रेटिनोप्याथीका लक्षणलाई बेवास्ता गरियो भने समस्या झन् बढ्छ, जसले गर्दा आँखाभित्र रगत बग्ने वा अन्धोपन समेत हुनसक्छ ।

डायबेटिक नेफ्रोप्याथी

मिर्गौला फेल हुनुको एउटा प्रमुख कारण मधुमेह पनि हो । रगतमा चिनीको मात्रा धेरै हुँदा मिर्गौलाका रक्तनलीहरूलाई क्षति पुर्‍याउन सक्छ, जसलाई मिर्गौला रोगको सबैभन्दा महत्वपूर्ण र प्रमुख कारण मानिन्छ । अनुसन्धान अनुसार मिर्गौलाको रक्तनलीले राम्रोसँग काम नगर्दा डायबेटिक नेफ्रोप्याथी हुन सक्छ ।

डायबेटिक न्यरोप्याथी

न्युरोप्याथी स्नायु क्षतिसँग सम्बन्धित समस्या हो, जुन शरीरमा रगतमा चिनीको मात्रा बढ्दा हुन्छ ।  यसले स्नायुमा क्षति पुर्‍याउने भएकाले हात, खुट्टा र पैतालाको नसामा असर देखिन्छ । यद्यपि, यो समस्या प्रायः मधुमेह वा उच्च रक्तचापबाट पीडित व्यक्तिमा हुन्छ । यो समस्यामा प्रायः खुट्टाको नसामा बढी क्षति पुग्छ ।

छालाको संक्रमण

मधुमेह भएका व्यक्तिमा छालामा संक्रमणको जोखिम बढी हुन्छ । मधुमेह लामो समयसम्म नियन्त्रणमा भएन भने छाला चिलाउनेसँगै दाग आउने समस्या पनि हुनसक्छ । मधुमेह हुँदा खुट्टामा कालो धब्बा पनि देखिन्छ । यो समस्याबाट बच्न रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्छ ।

मुटुरोगको जोखिम

रगतमा चिनीको मात्रा बढेपछि स्नायु र रक्तनलीहरू क्षतिग्रस्त हुन थाल्छन् । यस्तो अवस्थामा कोरोनरी धमनी अवरुद्ध हुन्छ । कोरोनरी आर्टरीमा अवरोधका कारण अक्सिजन र पोषक तत्त्व मुटुमा पुग्दैन । यसले हृदयरोगको जोखिम बढाउँछ ।

यस्ता जोखिमबाट बच्ने उपाय

नियमित स्वास्थ्य जाँच

मधुमेहका बिरामीले नियमित रूपमा निम्न जाँचहरु गर्नुपर्छ ।

ब्लड सुगर : फास्टिङ र पोस्टप्रान्डियल (खाना खाएपछि) सुगर जाँच नियमित रूपमा गर्नु आवश्यक छ ।

एचबीएवानसी टेस्ट : यो टेस्टले पछिल्लो दुई-तीन महिनाको औसत रक्त शर्कराको स्तर मापन गर्छ । यो वर्षमा कम्तीमा दुई पटक गर्नुपर्छ ।

ब्लड प्रेसर : उच्च रक्तचाप हृद रोग र अन्य जटिलताका कारण हुने गर्छ । त्यसैले नियमित रूपमा रक्तचाप मापन गर्नुपर्छ ।

कोलेस्टेरोल टेस्ट : रक्तमा कोलेस्टेरोलको स्तर जाँच्नुपर्छ । विशेषगरी एलडीएल (खराब कोलेस्टेरोल) र एचडीएल (राम्रो कोलेस्टेरोल ) को स्तर समय-समयमा जाँच गर्नुपर्छ ।

किड्नी फङ्गसन टेस्ट : किड्नीको अवस्था मापन गर्न रक्तमा क्रिएटिनिन स्तर र युरिनमा एल्बुमिन स्तर जाँच्नुपर्छ ।

आँखा परीक्षण : रेटिनोप्याथीको सम्भावना जाँच्न नियमित रूपमा आँखा परीक्षण गर्नुपर्छ, जसमा फण्डसकोपिक जाँच समावेश हुन्छ ।

न्युरोप्याथी परीक्षण : अंगहरुको संवेदनशीलता परीक्षण गर्नुपर्छ, जसले तिनको न्युरोप्याथीको अवस्था मापन गर्छ ।

स्वस्थ जीवनशैली

सन्तुलित आहार : कम कार्बोहाइड्रेट, कम चिनी र उच्च फाइबरयुक्त खाना खानुपर्छ । प्रोटिन, भिटामिन र मिनरल्सले भरिएको आहारले रक्त शर्करा नियन्त्रण गर्न मद्दत गर्छ ।

नियमित व्यायाम : दैनिक रूपमा कम्तीमा ३० मिनेट व्यायाम गर्नु आवश्यक छ । यसले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न मद्दत गर्छ ।

धुम्रपान र मद्यपान त्याग्ने : धुम्रपान, मद्यपानले हृदय र मिर्गौलामा नकारात्मक असर पुर्‍याउन सक्छ । त्यसैले धुम्रपान र मद्यपानलाई त्याग्नुपर्छ ।

औषधि उपचार

डाक्टरको सल्लाहअनुसार नियमित औषधि लिनुपर्छ । औषधिको सही मात्रामा सेवन गर्दा र नियमित जाँच गराउँदा जटिलता कम गर्न सकिन्छ ।

नियमित परामर्श

डाक्टरसँग नियमित रूपमा भेटघाट गरी स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुपर्छ । डाक्टरको सल्लाहअनुसार औषधि सेवन, आहार र जीवनशैलीमा परिवर्तन गर्नुपर्छ ।

मधुमेहको जटिलता रोकथाम गर्न समयमै उपचार गराउनु अत्यन्त महत्वपूर्ण छ । नियमित जाँच, स्वस्थ जीवनशैली र चिकित्सकको सल्लाहअनुसार औषधि सेवनले यो सम्भव छ ।

डा. विनय भट्टराई स्वास्थ्य समस्या
डा. विनय भट्टराई
लेखक
डा. विनय भट्टराई
मधुमेह, हार्मोन तथा थाइराइड रोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९०९५ अध्ययन : एमबीबीएस र एमडी हाल काठमाडौंस्थित मेट्रो काठमाडौं र ह्याम्स अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय