+
+

धरानमा १० राजनीतिक दलले लगाए खानेपानी काउन्टरमा ताला

हरि अधिकारी हरि अधिकारी
२०८१ साउन २१ गते १७:४४

२१ साउन, विराटनगर । धरानमा क्रियाशील १० राजनीतिक दलले शुल्क वृद्धिको विरोधमा सोमबार खानेपानी बोर्डको महसुल संकलन काउन्टरमा तालाबन्दी गरेका छन् ।

आइतबार पत्रकार सम्मेलनमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एसियाली विकास बैंकको ऋण तिर्नका लागि महशुल बढाएको भन्दै फिर्ता नहुने बताएका थिए ।

त्यसको भोलिपल्ट सोमबार राजनीतिक दलहरुले धरानको वडा नं ११, १५ र १६ मा रहेको खानेपानी महसुल काउन्टरमा तालाबन्दी गरेका हुन् ।

माग सम्बोधन नभएसम्म तालाबन्दी नखोल्ने नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेलले बताए । ‘हाम्रो धेरै माग छैन, बोर्डले पुरानै शुल्क कायम गरे ताला खोल्छौं’, उनले भने,‘ बढेको शूल्क नघटेसम्म तालाबन्दी खोल्दैनौं ।’

धरानका मेयर अध्यक्ष रहने धरान खानेपानी व्यवस्थापन बोर्डले १ साउनबाट लागू हुनेगरी खानेपानी महसशुल र शुल्क वृद्धि गरेको थियो ।

शुल्क घटाउनका लागि ११ साउनमा १० राजनीतिक दलले ७२ घण्टा समय दिएका थिए । तर बोर्ड अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङले चासो नदिएपछि चरणवद्ध आन्दोलन घोषणा गरे । तालाबन्दीपछि भने उनीहरुले महशुल नतिर्न सर्वसाधारणलाई अपिल पनि गरेका छन् ।

२०७४ सालयता धरानमा खानेपानीको महशुल बढेको छैन । सबै क्षेत्रको भाउ बढेपछि जडान शुल्क र महशुल पनि बढाएको मेयर साम्पाङको तर्क छ । उनका अनुसार खानेपानी वितरणका लागि उपमहानगरले लिएको ५७ करोड १९ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ ।

यसअघि २०७५ सालमा मञ्जु भण्डारी कार्यबाहक मेयर रहेका बेला पनि धरानमा खानेपानीको महशुल वृद्धि भएको थियो । त्यसबेला महशुल वृद्धि विरुद्धको आन्दोलनमा साम्पाङ आफैं पनि सक्रिय भएका थिए ।

२०७६ सालको उपनिर्वाचनमा तत्कालिन नेकपा उम्मेदवार प्रकाश राई कांग्रेस उम्मेदवार तिलक राईसँग पराजित हुने कारणमध्ये एउटा कारण खानेपानी महशुल वृद्धि पनि हो । उपनिर्वाचनमा विजयी भएका तिलक राईले बढेको महसुल घटाएर पुरानै कायम गरेका थिए ।

अभियन्ता हुँदा महशुल वृद्धिको विरोध गरेका साम्पाङ २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर धरानको मेयर निर्वाचित भए । चुनाव जितेपछि भने उनको भूमिका र शैली फेरिएको छ । उनले ऋण तिर्न महसुल वृद्धि गर्नुपर्ने बाध्यता रहेको उनले तर्क गरेका छन् ।

तर कांग्रेस नगर सभापति पोखरेल २०९१ सालसम्ममा तिरिसक्नुपर्ने ऋणका लागि अहिलेदेखि जनतामा भार थोपर्न नमिल्ने बताउँछन् ।

मेयर हर्क साम्पाङले भने आम नागरिकको घरमा जडान भएको धाराको धेरै शुल्क नबढेको बताए । धरानमा धेरैको घरमा आधा इनचको पाइपको धारा जडान भएको र त्यसको शुल्क धेरै नबढेको उनको दाबी छ ।

‘विदेशी ऋण तिर्नका लागि हाम्रो इञ्जत बचाउनका लागि हो’, उनले आइतबार पत्रकार सम्मेलनमा भनेका छन्,…. मैले लिएको त होइन, म भन्दा पहिला यहाँ बस्ने मान्छेहरुले लिएर आयोजना सञ्चालन गरेपछि त्यो रकम बाँकी रहेको छ, त्यो रकम भुक्तानी गर्नैपर्छ ।’

के केमा बढ्यो शुल्क ?

खानेपानी बोर्डले जारी गरेको नयाँ शूल्क सूची अनुसार खानेपानी महशुलसँगै जडान, होल चेन्ज, नामसारी, मर्मत तथा चेकमा महशुल वृद्धि भएको छ ।

जडान भएको पाइपको मोटाइका आधारमा महशुल ५ रुपैयाँदेखि आठ हजार रुपैयाँसम्म वृद्धि भएको छ । साउन १ बाट नयाँ धारा जडानमा ५ हजारदेखि ७५ हजार रुपैयाँसम्म शुल्क बढेको छ ।

आधा इन्चको पाइप जडानमा यसअघि १५ हजार रुपैयाँ शुल्क थियो । साउन १ गतेबाट २० हजार पुगेको छ । ४/३ इन्चको पाइपको शुल्क १० हजारबाट बढेर २५ हजार रुपैयाँ पुगेको छ । १ इन्चको पाइपको १५ हजार रुपैयाँ थियो । तर बोर्डले बढाएर ५० हजार रुपैयाँ पुर्याएको छ । १ देखि डेढ इन्च पाइपको धारा जडान शुल्क २० हजार रुपैयाँ थियो । बोर्डले ५५ हजार रुपैयाँ बढाएर ७५ हजार रुपैयाँ तोकेको छ ।

त्यस्तै २ इन्चको पाइप जडान शुल्क २५ हजार रुपैयाँबाट एक लाख रुपैयाँ पुगेको छ । यसअघि आधा इनचको पाइपको होल चेञ्ज दस्तुर दुई हजार रुपैयाँ थियो । बोर्डले बढाएर पाँच हजार रुपैयाँ बनाएको छ । ४/३ को पाइपको होल चेन्ज शुल्क ३ हजारबाट बढाएर ८ हजार बनाइएको छ । १ इन्चको पाइपमा होल चेन्ज शुल्क ४ हजारबाट बढाएर १० हजार, १ देखि डेढ इनचको पाइपको होलचेन्ज शुल्क ५ हजारबाट बढाएर १५ हजार र २ इन्चको होलचेन्ज शुल्क ६ हजारबाट बढाएर २० हजार रुपैयाँ पुर्‍याइएको छ ।

पालिकाले मर्मत तथा धारा चेकको शुल्क पनि बढाएको छ । यसअघि सबै इन्चको धारा जडानको मर्मत तथा चेक शुल्क ५०० रुपैयाँ थियो । यसलाई बढाएर १० हजार रुपैयाँसम्म पुर्‍याइएको छ । २ इन्च पाइप जडान भएको स्थानमा मर्मत तथा चेक शुल्क १० हजार पुगेको छ । आधा इन्चको एक हजार ४/३ इनचको दुई हजार, एक देखि डेढ इन्चको पाइपको मर्मत शुल्क पाँच हजार बनाइएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?