+

काभा वुमन्स लिग : सेमिफाइनलमा इरानलाई हराउनैपर्ने दबाब

२०८१ साउन  २१ गते १९:४० २०८१ साउन २१ गते १९:४०
काभा वुमन्स लिग : सेमिफाइनलमा इरानलाई हराउनैपर्ने दबाब

२१ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिग अन्तर्गत नेपालले मंगलबार इरानसँग सेमिफाइनल खेल्ने भएको छ । सोमबार भारतले श्रीलंकालाई सोझो सेटमा पराजित गरेपछि नेपालले सेमिफाइनलमा इरान प्रतिद्वन्द्वी पाएको हो ।

सोमबार नै नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराए पनि शीर्ष स्थानमा रहन सकेन । फाइनल प्रवेशका लागि भारतले श्रीलंकासँग र नेपालले इरानसँग खेल्नेछन् ।

आइतबार लिग चरणमा ३–२ को सेटमा हार ब्यहोरेको नेपालले आफ्नो गल्ती सुधार गर्दै सेमिफाइनलमा इरानलाई जित्ने योजना बनाएको छ । इरानको टिमबारे यसअघि जानकारी नभएकाले आइतबारको खेलमा पराजित भएको प्रशिक्षक जगदिश भट्टले बताए ।

‘इरानसँग हामीले २०१७ मा माल्दिभ्समा वुमन्स वल्र्ड च्याम्पियनसिपको छनोट खेल खेलेका थियौं । हामीले ८ वर्षपछि इरानसँग खेल्दा उनीहरुको खेल्ने तरिका निकै फरक भइसकेको रहेछ’, भट्टले भने ।

इरानसँग खेलाडीहरुले सानातिना कमजोरी गर्दा खेल जित्न नसकेको उनको भनाइ छ । ‘हिजो हाम्रो ब्लक कमजोर देखियो । ब्लक कमजोर हुनेबित्तिकै डिफेन्स पनि कमजोर हुन्छ । फाइन्डिङ प्लेसमेन्ट हामीले बुझ्न सकेका थिएनौं । हामीबाट एकदमै साधारण गल्तीहरु भएका छन् । त्यो हामी सुधार्ने छौं’, प्रशिक्षक भट्टले भने, ‘हामीले गल्ती गर्नु हुँदैन भन्ने खेलाडीलाई पनि बोध भएको छ ।’

सेमिफाइनलमा इरानसँगको खेलमा अघिल्लो खेलको गल्ती नदोहोर्‍याउने कप्तान अरुणा शाही बताउँछिन् । ‘उपाधि जित्ने लक्ष्य राखेपछि भोलिको खेलमा हामीलाई गल्ती गर्ने छुट छैन । जसरी पनि जित्ने लक्ष्यमा हुनेछौं’, उनले भनिन् ।

इरानसँगको खेलमा रिसिभ र डिफेन्स कमजोर देखिएकाले सुधार गर्नुपर्ने कप्तान शाही बताउँछिन् । ‘रिसिभ र डिफेन्स राम्रो गर्ने हो भने हामीले इरानलाई हराउन सक्छौं’, उनले भनिन् ।

सोमबार नेपालले लिग चरणको अन्तिम खेलमा माल्दिभ्सविरुद्ध दोस्रो रोजाइका खेलाडी खेलाएर धेरै खेलाडीलाई आराम दिएको छ । शनिबार भारतसँग ५ सेट र आइतबार इरानसँग पनि ५ सेट खेलेकाले खेलाडीहरु थाकेका छन् ।

त्यसैले सोमबार माल्दिभ्सविरुद्ध खेलाडीहरुलाई आराम दिएको प्रशिक्षक भट्टले बताए । ‘हामीले आज पहिलो सेटका खेलाडीलाई विश्राम दियौं, जसले गर्दा खेलाडीलाई पर्याप्त रिकभरी समय मिल्छ । मनोवैज्ञानिक रुपमा पनि नेपालले इरानसँगको हारपश्चात बलियो भएर हिजोको भन्दा राम्रो खेल्छ’, उनले भने ।

काभा वुमन्स लिग भलिबल
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय