+
+

कञ्चनपुरमा आरीघोप्टे वर्षा भएको मौसम विज्ञान विभागको निष्कर्ष

जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरमा असार २३ र २४ गते भएको वर्षालाई ‘तराई क्लाउड बर्ष्ट’ भनेको छ ।

विनोद घिमिरे विनोद घिमिरे
२०८१ साउन २१ गते २०:४०
आरीघोप्टे वर्षाका कारण डुबान भएको कञ्चनपुरको बस्ती

२१ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगर क्षेत्रमा गत असार २३ र २४ गते ‘क्लाउड बर्ष्ट’ (आरीघोप्टे वर्षा) भएको निष्कर्ष निकालेको छ ।

विभागका मौसमविदको टोलीले स्थलगत अध्ययन, तीन स्थानका वर्षा मापन केन्द्रका उपकरण जाँच र सो दिनको वायुमण्डलको समेत अवस्था विश्लेषण गरी ‘तराई क्लाउड बर्ष्ट’ अर्थात् आरीघोप्टे वर्षा भएको निष्कर्ष निकालेको हो ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले अनलाइनखबरसँग भने, ‘एउटा केन्द्र (हनुमाननगर) मा एक घण्टामा १०२ मिलिमिटर वर्षा मापन भएको छ । सामान्यतया क्लाउड बर्ष्ट भन्नाले एक घण्टामा १०० मिलिमिटरसम्म वर्षा भएको मानिन्छ । त्यस अनुसार क्लाउड बर्ष्ट भएको भनेका छौं ।’

असार २३ गते बिहान ८ः४५ बजेदेखि २४ गते बिहान ८ः४५ बजेसम्मको २४ घण्टा अवधिमा दोधाराको स्वचालित वर्षामापन केन्द्रमा ६२४ मिलिमिटर कूल वर्षा रेकर्ड भएको थियो । यो जल तथा मौसम विज्ञान विभागको विक्रम संवत् २००३ (सन् १९४७) देखि उपलब्ध तथ्यांक अनुसार नेपालमा हालसम्म मापन गरिएकोमध्ये सर्वाधिक वर्षा हो ।

यसअघि २०७४ साल साउन २९ गते (सन् २०१७ अगष्ट १३) मा हेटौँडा केन्द्रमा सबैभन्दा धेरै ५१६.२ मिलिमिटर वर्षा मापन भएको थियो । यसैगरी भूसंरक्षण विभागको तथ्यांक अनुसार २०५० साल साउन ५ गते (सन् १९९३ जुलाई २०) मा मकवानपुरको टिस्टुङमा ५४० मिलिमिटर वर्षा मापन भएको थियो । त्यसको ३१ वर्षपछि कञ्चनपु्रमा  ‘रेकर्ड ब्रेक’ वर्षा भएको हो ।

जलमग्न भएको कञ्चनपुरको बजार क्षेत्र

सो दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानमा रहेको भए तापनि सुदूरपश्चिम प्रदेशका दक्षिण–पश्चिमी भूभाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली विकसित भएको थियो ।

साथै उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यूनचापीय रेखा सक्रिय थियो । अरब सागर र बंगालको खाडी दुबैबाट आउने जलवाष्पयुक्त हावा पनि सोही स्थानमा मिसिएको र माथिल्लो वायुमण्डलमा मेघगर्जनसहित आरीघोप्टे वर्षा भएको मौसमविदहरुको निष्कर्ष छ ।

कञ्चनपुरको सुन्दरनगरमा डुबान भएको घरको भित्तामा देखिएको पानीको सतह ।

जल तथा मौसम विज्ञान विभागले असार २४ गते नै कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ वर्षा भएको जानकारी दिएको थियो । तर त्यो आरीघोप्टे (क्लाउड बर्ष्ट) भनेर घोषणा भने गरेको थिएन । त्यसको एक महिनापछि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विभागले क्लाउड बर्ष्ट घोषणा गरेको हो ।

अध्ययन प्रतिवेदनमा के छ ?

कहिलेकाहीँ वर्षा मापन केन्द्रमा जडान गरिएका उपकरणमा समस्या आउँदा तथ्यांकमा कैफियत हुने भएकाले उपकरणको जाँच गर्ने र त्यतिबेलाको अवस्था बुझ्न भनेर विभागको विज्ञ टोली असार २७ गते कञ्चनपुर प्रस्थान गरेको थियो ।

स्थलगत अध्ययन टोलीको नेतृत्व जल तथा मौसम विज्ञान विभागको उपकरण क्यालिब्रेसन तथा व्यवस्थापन शाखा प्रमुख एवम् वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलले गरेकी थिइन् ।  टोलीमा अर्की वरिष्ठ मौसमविद शान्ति कँडेल, मौसमविद सुदर्शन हुमागाईं, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका हाइड्रोलोजिष्ट सञ्जय कुमार साह र पूर्वानुमानमा आधारित विपद पूर्वतयारी तथा प्रतिकार्य विज्ञ दिनानाथ भण्डारी सहभागी थिए । सोही टोलीले कञ्चनपुरका दोधारा चाँदनी र भीमदत्तनगर पालिका क्षेत्रमा आरीघोप्टे वर्षा भएको निष्कर्ष निकालेको हो ।

टोलीले कञ्चनपुरका दोधारा, सुन्दरपुर, हनुमाननगर हावापानी केन्द्रका साथै कैलालीको धनगढी विमानस्थलका उपकरणको समेत जाँच गर्दै प्रहरी प्रशासनका अधिकारी र स्थानीयबासीहरुसँग समेत छलफल गरेका थिए ।

दोधारा हावापानी केन्द्रमा स्वचालित वर्षा मापक उपकरण जाँच गर्दै अध्ययन टोली ।

दोधारा र हनुमाननगरका स्वचालित वर्षा मापन उपकरणले ठिक तथ्यांक देखाए पनि सुन्दरपुर वर्षा मापन केन्द्रको उपकरणले वास्तविक वर्षा भन्दा कम मापन गरेको पाइएको छ ।

विभागको मापदण्ड अनुसार २५० मिलिमिटर प्रतिघण्टा वर्षामा दुई प्रतिशतसम्मको त्रुटि स्वीकार गर्न सकिन्छ । दोधारा केन्द्रमा जडित  स्वचालित वर्षा मापन उपकरणको औसत त्रुटि ०.५ प्रतिशत मात्र पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । त्यसैले २०८० फागुन १२ गतेमात्र जडान गरिएको दोधाराको स्वचालित वर्षा मापन केन्द्रको अवस्था ठिक रहेको निष्कर्ष विभागको छ ।

तर मानव सन्चालित उपकरणमा ४२९.४ मिलिमिटर वर्षा मापन भएको थियो । मानव सन्चालित उपकरणको क्षमताभन्दा बढी वर्षा भएर सिलिण्डरबाट बाहिर पानी पोखिएर खेर गएकाले यथार्थ मापन भने हुन सकेको छैन ।

अध्ययन टोलीको नेतृत्व गरेकी वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलले दोधारा र हनुमाननगर (स्थानीय नाम भम्का)का वर्षा मापक केद्रका उपकरणहरु चुस्त दुरुस्त अवस्थामा रहेको र तथ्यांक सही भएको बताइन् ।

‘अन्य अवस्था सामान्य रहे कञ्चनपुरका दोधारा चाँदनी र भीमदत्तनगर क्षेत्रमा भएको वर्षा आरीघोप्टे नै हो भन्ने ९९ प्रतिशत ढुक्क थियौं । तर कहिलेकाहीँ प्राविधिक समस्याले तथ्यांक गलत हुन सक्ने सम्भावना पनि हुने भएकाले स्थलगत अध्ययन गरेका थियौं,’ डा. कँडेलले भनिन्, ‘अध्ययनपछि क्लाउड बर्ष्ट नै हो भन्ने निष्कर्ष निकाल्यौं ।’

सुन्दरपुरको उपकरणले वास्तविक वर्षाभन्दा कम देखायो

हनुमाननगर केन्द्रमा ५७३.६ मिलिमिटर र सुन्दरपुर केन्द्रमा ५५५.८ मिलिमिटर वर्षा मापन भएको थियो ।

हनुमाननगरको स्वचालित उपकरणको औसत त्रुटि भने माइनस १.९ प्रतिशत मात्र देखिएको छ । यो केन्द्रमा प्रयोग भएको मेजरिङ स्टिक वा पानीको संकेत राम्रोसँग नदेखिने भएकाले अर्को उपलब्ध गराउन पनि विज्ञ टोलीले सुझाव दिएको छ ।

सुन्दरपुरको स्वचालित वर्षा मापन उपकरणको औसत त्रुटि माइनस १२.४ प्रतिशत रहेको पाइएको छ । यसबाट वास्तविक वर्षाभन्दा कम वर्षा भएको पाइएकाले सो स्वचालित रेनगज (वर्षा मापक उपकरण) प्रयोगशालामा ल्याई थप चेकजाँच गर्न अध्ययन टोलीले सुझाव दिएको छ ।

विभागको विज्ञ टोलीले मानव सञ्चालित उपकरणको क्षमता बढाएर कम्तिमा ६५० मिलिमिटर पुर्‍याउनुपर्ने, कैलालीको धनगढी विमानस्थलमा राखिएको वर्षा मापन केन्द्रका उपकरण डुबानमा परेकाले केन्द्रको उचाइ बढाउनुपर्ने, विभागबाट जारी हुने पूर्वसूचना प्रवाह र जनचेतना अझै प्रभावकारी बनाउनुपर्ने र पूर्वानुमानको गुणस्तरियता वृद्धि गर्नुपर्ने लगायतका सुझाव पनि दिएको छ ।

‘पूर्वसूचना र पूर्वसतर्कताले मानवीय क्षति कम’

कञ्चनपुरको सुन्दरनगरमा धान खेतमा डुबानको असर ।

असार २३ र २४ गते आरीघोप्टे वर्षाका कारण कञ्चनपुर जिल्लाको जनजीवन अस्तव्यस्त भएको थियो । जताततै बस्तीहरु डुबानमा परेका थिए ।

विभागका अनुसार अत्यधिक वर्षाले कञ्चनपुर जिल्लाको करिब ९८ वर्गकिलोमिटर क्षेत्रफल (कूल क्षेत्रफलको करिब ६ प्रतिशत) भूभाग डुबानमा परेको थियो । जसमध्ये करिब ८५ वर्गकिलोमिटर कृषियोग्य भूभाग रहेको तथा स–साना संरचनाहरु समेत गरी १४ हजार भवनहरु प्रभावित भएका थिए ।

तर पूर्वसूचना र पूर्वसतर्कताले गर्दा ठूलो मानवीय क्षति हुन भने नपाएको अधिकारीहरुले बताएका छन् । विभागका महानिर्देशक डा. कर्माचार्यले पनि ‘विभागको पूर्वसूचनाको आधारमा पूर्वतयारी तथा अग्रिम प्रतिकार्य गरेकाले कञ्चनपुरमा भीषण वर्षाको विपदजन्य प्रभाव कम भएको’ बताए ।

जल तथा मौसम विज्ञान विभाग र गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाले अत्यधिक वर्षा हुने पूर्वानुमानको सूचना २१ गते नै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई पठाएको थियो । ‘त्यो सूचना पालिका र सञ्चार माध्यमहरुमार्फत् गाउँ–गाउँमा पठायौं । जोखिम क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा सार्‍यौं,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा भन्छन्, ‘पूर्वसूचना पाएको १२ घण्टापछि वर्षा सुरु भयो तर पूर्वसूचना र पूर्वसतर्कताले ठूलो मानवीय क्षति हुन पाएन ।’

उनका अनुसार जोखिम क्षेत्रबाट १ हजार ४६० परिवारका ५ हजार १ सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो । २३ गते मध्यराति अति जोखिममा परेका २९ जनालाई सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोलीले सुरक्षित उद्धार गरेर ज्यान जोगाएको थियो । स्थानान्तरण गरिएकाहरुमध्ये अधिकांश घर फर्किसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कञ्चनपुरमा २३ गते अपराह्न करिब ४ बजेदेखि २४ गते बिहान १० बजेसम्म अत्यधिक वर्षा भएको थियो । त्यसले सदरमुकाम महेन्द्रनगर बजार क्षेत्रसहित जिल्लाका अधिकांश बस्ती जलमग्न भएका थिए । प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार स्थानीयले ७७ वर्षपछि यति ठूलो वर्षा र बाढी आएको बताएका छन् ।

‘महाकाली नदीको वेग चार लाख क्युसेक पुग्दा पनि सुरक्षित बाँधका कारण बाढीले क्षति पुर्‍याएन । अरु खोलानाला र अत्यधिक वर्षाका कारण बाढीको प्रभाव बढी देखिएको थियो’ प्रमुख जिल्ला अधिकारी सापकोटा भन्छन्, ‘यति हुँदा पनि जिल्लामा जम्मा पाँच जनाको ज्यान गयो, यो क्षतिलाई न्यून भन्नुपर्छ ।’

कञ्चनपुरको सुन्दरनगरमा चारवटा घर र सडक बगाएको स्थान ।

उनका अनुसार २४ गते दिउँसो वर्षा रोकिइसकेपछि तीन जना किशोरीको जलमग्न भएको ठाउँमा हिँडिरहेका बेला खाल्डोमा डुबेर ज्यान गएको थियो । अर्का एक सात महिने शिशुको ओछ्यानबाट खसेर पानीमा डुबी मृत्यु भएको थियो । एक जना पुरुषको भने २३ गते बेलुकी पाँच बजे घरायसी कामले हिँडिरहेका बेला बाढीमा बगेर मृत्यु भएको प्रजिअ सापकोटाले बताए ।

बाढी र वर्षाले जिल्लामा भौतिक क्षति भने धेरै भएको छ । कल्भर्ट, पुल, सडक, नहर लगायतका संरचनाहरु तहसनहस भएका छन् । बिसौं बिघा खेतियोग्य जमिन बगरमा परिणत भएको छ ।

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?