+

यी खानेकुरा जसले पायल्स हुनसक्छ

२०८१ साउन  २२ गते १३:५० २०८१ साउन २२ गते १३:५०
यी खानेकुरा जसले पायल्स हुनसक्छ

पायल्सको समस्या झेलिरहेका व्यक्ति खानपानबारे बढी नै सतर्क हुने गर्छन् । उनीहरु सोधिरहेका हुन्छन्, ‘मैले के खान हुँदैन, के खान हुन्छ ?’ उनीहरुको सूचीमा धेरैजसो नखाने खानेकुरा समेटिन्छ ।

स्वभाविक हो, मलद्वारमा समस्या आउनुमा पेटको भूमिका मुख्य हुन्छ र पेटमा समस्या आउनु खानपानसँग जोडिन्छ । अस्वस्थ र असन्तुलित खानपानले पायल्स जस्ता मलद्वारसम्बन्धी रोग निम्त्याउन सक्छ ।

चिल्लो, मसालेदार खानेकुरा, जो सजिलै पच्दैन यस्ता खानेकुरा पायल्सको कारण बन्न सक्छ । साथै अनिद्रा, मानसिक तनाव, गर्भवती महिला र कुनै-कुनै औषधि सेवनको साइड-इफेक्टको रुपमा पनि पायल्सको समस्या निम्तिन्छ ।

पायल्सको प्रमुख कारणको रुपमा कब्जियतलाई नै राखिन्छ । कब्जियत हुँदा दिसा गर्दा बल पर्छ । त्यही बलले गुद्वारभित्रका रक्तशिरा तन्किने क्रम फैलिन थाल्छ । विस्तारै गिर्खा बन्न थाल्छ ।

पायल्स एउटा यस्तो रोग हो, जसमा खानपानसँग सम्बन्धित कुरामा विशेष ध्यान दिनु जरुरी हुन्छ । पायल्सबाट बच्न यी खानेकुराबाट बच्नुपर्छ ।

धेरै मसलेदार खाना

धेरै मसालेदार खाना खाँदा पायल्सको समस्या निम्तन सक्छ । तारेको-भुटेको मासु, समोसा, पकौडा जस्ता खानामा तेल, मसला र खुर्सानी धेरै मात्रामा हुन्छ । यस्ता खानाले आन्द्रा चलाउन गाह्रो बनाउन सक्छ, जसले कब्जियत निम्त्याउँछ । कब्जियतसँगै पायल्सको समस्या पनि निम्त्याउँछ । साथै, यस्ता खानेकुरामा फाइबर निकै कम हुने भएकाले दिसालाई कडा बनाउँछ र पायल्सको दुखाइ बढाउँछ । यस बाहेक खुर्सानी जस्ता मसलाले मलद्वार पोल्ने तथा रगत बग्ने पनि हुनसक्छ ।

कफी

कफीको मुख्य तत्त्व क्याफिन पाचनका लागि राम्रो मानिंदैन । क्याफिनको सेवनले कब्जियत हुन्छ र शरीरमा डिहाइड्रेसन पनि हुन्छ । यो समस्या बढ्दै गएपछि पायल्सको समस्या निम्तिन सक्छ ।

पहिले नै पायल्सको समस्या भएका व्यक्तिले धेरै मात्रामा कफीको सेवन गर्दा दिसा पास हुन गाह्रो भएर शौचमा थप मिहिनेत गर्नुपर्ने हुनाले मलद्वारको मांसपेशी बाहिर निस्कन थाल्छ र सुन्निने गर्छ ।

चुरोट, रक्सी

चुरोट खाने व्यक्तिको पाचनशक्ति कमजोर हुन्छ । आन्द्राको चाल पनि राम्ररी हुँदैन । चुरोटले मलद्वारमा रगतको प्रवाह बढाउँछ, जसले संक्रमणको जोखिम पनि बढाउँछ । रक्सीको सेवनले शरीरमा डिहाइड्रेसन हुन्छ । शरीरमा पानी कम हुँदा दिसा कडा हुन्छ । यसले आन्द्राको गतिविधिलाई प्रभावित पार्न सक्छ ।

दुग्धजन्य

केही व्यक्तिमा दूध तथा दूधबाट बनेका अन्य परिकार सेवन गर्दा कब्जियतको समस्या हुनसक्छ । दूधमा हुने प्रोटिन कब्जियतको कारण बन्ने र कब्जियतले पायल्सको समस्या निम्तिन सक्छ ।

रातो मासु

रातो मासु पचाउन धेरै समय लाग्छ, जसकारण कब्जियत जस्ता समस्या हुनसक्छ । कब्जियतले पायल्सको समस्या निम्त्याउँछ ।

प्रोसेस्ड फुड

फ्राइड फुड, फास्ट फुड, फ्रोजन मिट जस्ता प्रशोधित खानेकुराले पनि पायल्सको जोखिम बढाउँछ । यी सबै खानेकुरामा पोषक तत्त्वको कमी हुन्छ । साथै यसमा धेरै मात्रामा नुन र अस्वस्थ बोसो पाइन्छ, जसकारण पचाउन गाह्रो हुन्छ र कब्जियत हुन्छ । लामो समयसम्म कब्जियतले पायल्स निम्त्याउन सक्छ ।

पायल्सबाट बच्न यस्तो खानपान

हरियो सागपात

हरियो पत्तेदार सागपातमा धेरै प्रकारका एन्टिअक्सिडेन्ट र भिटामिन पाइन्छ, जसले मांसपेशीका लागि राम्रो काम गर्छ । हरियो सागसब्जीले पाचन क्रियालाई सुधार गर्छ र आन्द्रा सफा गर्छ । त्यसैले पालुङ्गो, गाजर, बन्दा, काँक्रो, ब्रोकाउली आदि प्रशस्त मात्रामा सेवन गरेर कब्जियत र पायल्सको समस्याबाट बच्न सकिन्छ ।

प्रशस्त मात्रामा पानी

प्रशस्त मात्रामा पानी पिउनाले आन्द्राले शरीरमा रहेको विषाक्त पदार्थलाई सजिलै बाहिर निष्कासन गर्छ । यसले कब्जियत हटाउँछ, जसले दिसालाई सजिलो बनाउँछ र पायल्सको जोखिम कम गर्छ ।

सम्पूर्ण अन्न

चोकर भएको अन्नको सेवनले पाचन प्रक्रियालाई राम्रो बनाउँछ । किनकि यस्ता अन्नमा प्रशस्त मात्रामा फाइबर हुन्छ । ओट्स, ब्राउन राइस जस्ता अन्नको सेवनले दिसा सजिलै निस्कन्छ र कब्जियत तथा पायल्सको जोखिम कम गर्छ ।

फलफूल

ताजा र मौसमी फलफूलको सेवन गर्नु सम्पूर्ण स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । फलफूलको बोक्रामा धेरै मात्रामा फाइबर पाइन्छ । साथै धेरै प्रकारका भिटामिन र मिनरल्स पाइन्छ, जसले पाचन प्रणालीलाई मजबुत बनाउँछ ।

ड्राइफ्रुट

बदाम, ओखर, चिया सिड जस्ता ड्राइफ्रुटमा फाइबर, प्रोटिन राम्रो फ्याट हुन्छ, जसले आन्द्राको चाललाई नियमित गर्छ । पाचन प्रणालीलाई राम्रो बनाउँछ र कब्जियतको समस्याबाट बचाउँछ ।

दही

दहीमा प्रोबायोटिक्स हुन्छ, जुन शरीरका लागि फाइदाजनक ब्याक्टेरिया हो, जसले पाचन सुधार गर्न र कब्जियत रोक्न मद्दत गर्छ ।

खानेकुरा डा. सुवर्ण पौडेल पायल्स
डा. सुवर्ण पौडेल
लेखक
डा. सुवर्ण पौडेल
क्षारसूत्र विज्ञ

नेपाल आयुर्वेद चिकित्सा परिषद् दर्ता नम्बर : ५२७ आयुर्वेदिक चिकित्सा र शल्य चिकित्सामा स्नातक (त्रिभुवन विश्वविद्यालय), क्षारसूत्र प्रमाणपत्र पाठ्यक्रम (आईक्योर मुम्बई, भारत) हाल मेदान्त आयुर्वेद हेल्थ होममा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय