+
+

मधेशमा जम्बो मन्त्रिपरिषद्

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ साउन २२ गते २१:२२

२२ साउन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जम्बो मन्त्रिपरिषद् बनाएका छन् ।

१५ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गरिरहेका सिंहले मंगलबार पाँच राज्यमन्त्री नियुक्त गरेका हुन् । सत्तारुढ नेपाली कांग्रेसबाट २ तथा जनमत, एमाले र लोसपाबाट १–१राज्यमन्त्री नियुक्त भएका हुन् ।

कांग्रेससबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिँचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्री नियुक्त भएका छन् । एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास, लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति र जनमतबाट शम्भु साह उद्योग पर्यटन राज्यमन्त्री बनेका हुन् । नवनियुक्त राज्यमन्त्रीहरुले मंगलबार नै शपथ लिएका छन् ।

योसँगै मधेश सरकारको मन्त्रिपरिषद् हिलेसम्मकै ठूलो आकार २० सदस्य बनेको छ ।

मधेशमा मुख्यमन्त्री कार्यालय बाहेक ११ मन्त्रालय छ । यसअघि १५ सदस्यीय मन्त्रिपरिषद् बनेको थियो । मुख्यमन्त्री सिंहले ३ साउनमा कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउँदा पनि सबै मन्त्रालयले नेतृत्व पाइसकेको थियो । सरकारमा जनमतका शुख्यमन्त्री बाहेक दुई मन्त्री, एमालेको चार मन्त्री र दुई राज्यमन्त्री, कांग्रेसको चार मन्त्री र लोसपाको एक मन्त्री थिए ।

तर लोसपालाई एक राज्यमन्त्री दिने मौखिक सहमति मुख्यमन्त्री सिंहले गरिसकेका । लोसपाकी रानी शर्मा तिवारी शिक्षा तथा संस्कृति मन्त्री भइसकेकी थिइन् । लोसपाले पूर्व सहमतिअनुसार राज्यमन्त्री नियुक्त गर्न दबाब दिइरह्यो ।

लोसपालाई राज्यमन्त्री दिन खोजेको थाहा पाएपछि कांग्रेसले पनि दुई राज्यमन्त्री माग्यो । ‘कांग्रेसले दुई राज्यमन्त्री लिए आफूले पनि थप एक राज्यमन्त्री पाउनुपर्ने एमालेले अडान राख्यो । सबैलाई दिनुपर्ने भएपछि हामीले पनि आफ्नो एक राज्यमन्त्री थपेको हौं’ जनमतका एक नेताले भने ।

अहिलेसम्म मधेशमा भएका राज्यमन्त्रीहरुकै भूमिका देखिएको छैन । अब थप राज्यमन्त्री बनाउँदा सरकारको आलोचना हुनसक्ने जनमत पार्टीका एक नेता बताउँछन् । ‘कांग्रेस र एमालेको चेपुवामा सरकार छ । ठूलो मन्त्री मण्डल पनि त्यसकै प्रतिफल हो’ एक नेता भन्छन्, ‘भोलि सरकार डेलिभरी राम्रो दिन सकेन भने यसको दोष जनमतको टाउकोमा थुप्रिने जोखिम छ ।’

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भने सरकारमा जानुअघि नै चार मन्त्रालय र दुई राज्यमन्त्रीमा सरकारसँग सहमति भएको दाबी गर्छन् । ‘चार मन्त्री नियुक्त भएपनि राज्यमन्त्री बाँकी थियो त्यसअनुसार बनको हो’ उनले भने ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?