+

विपक्षीविरुद्ध निर्मम निरुता

२०८१ साउन  २२ गते २१:५८ २०८१ साउन २२ गते २१:५८
विपक्षीविरुद्ध निर्मम निरुता

२२ साउन, काठमाडौं । इरानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा पुगेपछि खेलाडीहरु खुसी मनाउन लागे । समर्थकलाई धन्यम वाद दिन कभर्डहल परिक्रमा गरे । निरुता ठगुन्ना कोर्टमै भावुक बनेकी थिइन् ।

कप्तान अरुणा शाही लगायतले सम्झाए । तर धेरैबेरसम्म पनि उनलाई सम्हाल्न गाह्रो भइरहेको थियो । नहोस् पनि किन ? टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले नेपाललाई फाइनलमा पुर्‍याउने जिम्मेवारी दिएकी थिइन्, जसमा उनी शानदार सफल भइन् ।

‘आउने बेलामा गुरुले फाइनल खेल्न आजको खेल तिम्रो हातमा छ, तिमीलाई विश्वास गरेको छु भन्नुभएको थियो । त्यही जिम्मेवारी पूरा गरेको सम्झेको हुँदा भावुक भएँ’ निरुता भावुक भइन्, ‘जितमा सबैको योगदान छ, तर एउटा बोली र दिएको मौकाले त्यस्तो भयो ।’

लिग चरणमा इरानसँग ब्यहोरेको ३–२ को हारको बदला लिन र नेपाललाई फाइनलमा पुर्‍याउन ओपनर स्पाइकर निरुताले साँच्चै शानदार प्रदर्शन गरेकी थिइन् । उच्च लयमा रहेकी उनले सर्भिस वा स्पाइक जहाँ हानेपनि निरुताले निरन्तर अंक ल्याइन् ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले हरायो ।

तीनमध्ये दोस्रो सेट सबैभन्दा प्रतिस्पर्धात्मक र रोचक रह्यो । दोस्रो सेट सबैभन्दा बढी ३२ मिनेट चलेको थियो । सुरुवात हेर्दा यो सेट नेपालले एकपक्षीय रुपमा जित्ला जस्तो थियो । एक समय १४–८ को मजबुत अवस्थामा थियो । तर इरान खेल यसरी फर्कियो भने १९ मा पुगेर बराबरी गर्‍यो । बराबरी मात्रै गरेन, तीन अंकको अग्रता लियो ।

खेल २४–२१ को अवस्थामा थियो । इरानलाई दोस्रो सेट जित्न मात्र एक प्वाइन्ट आवश्यक थियो । तर उषा भण्डारीले आफ्नो उत्कृष्ट स्पाइकमा लगातार तीन अंक बटुलेपछि नेपाललाई २४–२४ को अवस्थामा पुर्‍याइन् । त्यसपछि पनि इरान दुई पटक सेट प्वाइन्ट नजिक पुग्यो ।

रोमान्चक खेल २६–२६ बराबरी अवस्थामा थियो । सेटर अरुणाले दिएको बलमा निरुताले इरानका दुई ब्लकरबाट कटाउँदै फ्रन्ट लाइनमा राखिन् र इरानको सम्भावित जितलाई एक अंक टाढा धकेलिन् । पुनः सोही किसिमको स्पाइक हान्दै नेपाललाई २८–२६ को रोमान्चक जित हात पारेकी थिइन् । दोस्रो सेटको अन्तिम तीन अंक निरुताले बटुलेकी थिइन् ।

तेस्रो सेटमा पनि १२–८ को अवस्थामा पुगिसकेको नेपाललाई खेलमा फर्काउन निरुताले उत्कृष्ट प्रदर्शन गरिन् । उनलाई सरस्वती चौधरी र उषा भण्डारीले राम्रो साथ दिए ।

इरानलाई १४ अंकमा भेट्टाएको नेपालले त्यसपछि अग्रता लियो । १७–१७ फेरि बराबरी भयो, तर त्यससपछि भेट्टाउन सकेन । नेपालले २५–२० ले जित्दा अन्तिम अंक पनि निरुताकै थियो । शनिबार भारतलाई इतिहासमै पहिलो पटक हराउन उनले सर्वाधिक २२ अंक जोडेकी थिइन् । मंगलबार इरानविरुद्ध निरुताको नाममा १४ अंक रह्यो ।

टोलीको आफूमाथि गरेको विश्वास नै सबभन्दा ठूलो भएको ओपनर स्पाइकर निरुता बताउँछन् । ‘ठाउँ पनि हेरेर खेलिराखेको छु । लक पनि हुनसक्छ’, उनले अगाडि भनिन् ।

दार्चुलाकी निरुताले २०७३ को सातौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै भलिबलमा आएकी थिइन् । उक्त प्रतियोगितामा राम्रो प्रभाव छाडेपछि त्रिभुवन आर्मी क्लबले करारमा अनुबन्ध गर्‍यो । २०१९ मा उनले ब्यक्तिगत कारण आर्मी क्लब छाडिन् ।

नेपालले २०१९ मा पहिलो पटक नेपालले एभीसी एसियन सेन्ट्रल जोनको उपाधि जित्दा र १३औं सागमा रजत जित्दा टोली सदस्य थिइन् । २०२० मा एपीएफमा आवद्ध भएपछि घरेलु भलिबलमा पनि सानदार प्रदर्शन गरेकी छिन् । नेपालले २०२१ मा सेन्ट्रल जोनको उपाधि जित्दा भने उनी टोलीमा थिइनन् । त्यसपछि थप मिहिनेत गरकी उनने गतवर्ष घरेलु मैदानमा काभा र चीनमा भएको एसियाड खेलेकी थिइन् ।


यस पटक घरेलु कोटमा सबै खेल र सेटमा पहिलो रोजाइमा खेल्दै निरन्तर दमदार प्रदर्शन गरेकी छिन् ।

प्रशिक्षक जगदिश भट्ट निरुतालाई नजिकबाट चिन्छन् । उनलाई आर्मी क्लबमा आवद्ध गराउने जगदिश भट्ट नै थिए । अहिले महिला टोलीको मुख्य प्रशिक्षक रहेका जगदिश, निरुतालाई आफ्नो टिमको राम्रो माइन्डसेट र टाइमिङ भएको खेलाडीका रुपमा लिन्छन् ।

‘निरुताले विगतमा यस्तो अवसर पाएकी थिइनन् । अहिले उनले सुपर प्रदर्शन गरेकी छन् । आफूलाई प्रमाणित गरेकी छन्’ भट्ट भन्छन्, डिफेन्स, सर्भिस, स्पाइक सबैमा राम्रो गरेको छ ।’

ब्लकमा थोरै कमजोर भएपनि टाइमिङ राम्रो रहेको भन्दै उनले भने ‘अहिलेको हिसाबले सबैभन्दा राम्रो माइन्डसेट र टाइमिङ भएको खेलाडीको रुपमा मैले देखेको छु ।’

नेपालले यसअघि निरुतालाई अगाडि र उषा भण्डारीलाई पछाडिबाट स्पाइकरमा खेलाउने गरेको थियो । टेक्निकल रुपमा निरुताले राम्रो गरेको हुनाले उषालाई अगाडिबाट खेलाएर निरुतालाई पछाडि ल्याइएको छ । भट्टको यो रणनीति सफल पनि भयो ।

इरानविरुद्धको खेलमा टिममा नै निरुताले राम्रो गरे नेपालले जिच्छ भने विश्वास देखाएको भन्दै भन्दै प्रशिक्षक भट्ट भन्छन्, ‘नर्भस नभई खेल्ने भएकाले झनै बढी विश्वास गरेको छ ।’

काभा वुमन्स नेसन्स लिग खेलकुद निरुता ठगुन्ना भलिबल
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय