+
+

कञ्चनपुरमा भारी वर्षा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते ७:२३

२३ साउन, काठमाडौं । मनसुन सक्रिय हुँदा कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मै वर्षा भएको छ । अन्य जिल्लाको तुलनामा सुदूरपश्चिमको कञ्चनपुरमा बढी वर्षा भएको छ ।

यो समाचार तयार पार्दासम्म विगत ६ घण्टाको अवधिमा कञ्चनपुरको सुन्दरपुरमा ८५.६ र हनुमाननगर (भम्का)मा ५३ मिलिमिटर वर्षा मापन भएको छ ।

हनुमाननगरमा एक घण्टाको अवधिमा ११.४ मिलिमिटर वर्षा भएको रेकर्ड छ ।

जल तथा मौसम विज्ञान विभागले ती केन्द्रहरुमा थप वर्षाको सम्भावना रहेको जनाएको छ । त्यसैले सो क्षेत्र भई बग्ने दैजी, चौधर, सुहेली र अन्य साना नदीहरुमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले भनेको छ ।

बैतडीको डिनासैली, बाजुराको बाजुरा र अछामको असराघाटमा पनि भारी वर्षा रेकर्ड भएको छ । कोशी प्रदेशमा मोरङको केराबारी, सुनसरीको धरान बजार र धनकुटाको मछुवाघाटमा पनि भारी वर्षा भएको छ ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेकाले देशभर मनसुनी वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका थोरै साथै लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि छ ।

अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कताका लागि मंगलबार सूचना जारी गरेको थियो ।

प्राधिकरणले रातिको समयमा बाढी पहिरोको आकलन गर्न कठिन हुने भएकाले जोखिममा रहेका जिल्लामा रात्रिकालीन बस नचलाउन अनुरोध समेत गरेको छ ।

भारी वर्षाको समयमा जरुरी काम बाहेक यात्रा नगर्न, नदी किनाराका बासिन्दा चनाखो रहन र समस्या परे सुरक्षा निकायमा तुरुन्त खबर गर्न प्राधिकरणले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?