+
+

हेलिकप्टर दुर्घटनाका मृतकको भोलि बिहानदेखि पोस्टमार्टम

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १८:३८

२३ साउन, काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेका मृतकको पोस्टमार्टम भोलि बिहानदेखि सुरू हुने भएको छ ।

सुरक्षा टोलीले शव संकलन गरेर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याउँदै गरेको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार सामान्यता पोस्टमार्टम कार्यालय समयमा गरिन्छ ।

‘शव ल्याइपुर्‍याउन एक–दुई घण्टा लाग्छ भन्ने जानकारी प्राप्त भएको छ । शव आज सुरक्षित रुपमा फ्रिजमा राख्छौं’, डा. चौधरीले अनलाइखबरसँग भने, ‘भोलि बिहान ८ बजेबाट पोस्टमार्टम गर्ने योजनामा छौं ।’

उनका अनुसार प्रहरीबाट शवको मुचुल्का प्राप्त भएपछि पोस्टमार्टमको काम सुरु गरिने छ । डा. चौधरीका अनुसार अन्य घटनामा मृत्युको कारण पत्ता लगाउन मात्रै पोस्टमार्टम गरिन्छ । तर, यस्तो विपदमा शव पहिचानको लागि मात्रै पोस्टमार्टम गरिन्छ ।

‘हामीलाई मृत्युको कारण स्पष्ट छ । तर कुन शव कसको हो भनेर पहिचान गर्न पोस्टमार्टम गर्नुपरेको हो’, डा. चौधरीले भने, ‘सुरुमा मृतकको विवरण र क्लिनिकल तथ्यको आधारमा एक अर्को विवरणलाई हेरेर पहिचान गर्छौं ।’

पहिले मृतकको उचाइ, तौल, शरीरमा भएको दाग वा ट्याटुका आधारमा शव पहिचान गरिन्छ । तर यसरी पत्ता नलागेमा मृतकको पहिचान खुलाउने तीन आधार हुन्छ–औठाछाप, डेन्टल एक्जामिनेसन र डीएनए परीक्षण ।

उनका अनुसार शव अत्यधिक जलेको भए डीएनए टेष्ट पनि गर्नुपर्ने हुनसक्छ । त्यसो भएमा तीन दिनभित्र शव दिन गाह्रो छ ।

‘जहाज दुर्घटनामा शव जलेर नचिनिने अवस्थामा हुन्छ । त्यस्तो हुँदा उनीहरूको दाँतको बनावट, शरीरभित्र इम्प्लान्ट (स्टिल) हालेको अवस्थामा वा फिंगर प्रिन्टको भरमा पहिचान भएपछि मात्रै शव दिन सकिन्छ’, उनले भने ।

बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको छ । जसमध्ये चार जना चिनियाँ नागरिक हुन् । हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?