+
+
अबिचुअरी :

हेलिकप्टरमै दुई पटक मृत्यु जितेका क्याप्टेन अरुण तेस्रो पटक हारे

लेखान्त के थियो भने, क्याप्टेन अरुणले यसअघि दुई पटक हेलिकप्टर उडानकै क्रममा मृत्युलाई जितेका थिए । तर, बुधबारको लेखान्त उनका लागि अर्कै थियो । अरुणले तेस्रो पटक लेखान्त टार्न सकेनन्, सदाका लागि अस्ताए ।

सुशील भट्टराई सुशील भट्टराई
२०८१ साउन २३ गते २०:५२

२३ साउन, काठमाडौं । त्यसैले भनिन्छ– ‘लेखेको पाइन्छ, देखेको पाइँदैन’ । लेखान्तमा जे छ, त्यो भएरै छाड्छ । यो लेखान्त सायद क्याप्टेन अरुण मल्लकै लागि थियो ।

निजी हेलिकप्टर सेवा प्रदायक कम्पनी एयर डाइनेस्टी हेली सर्भिसेसका वरिष्ठ क्याप्टेन अरुणले बुधबार आफैंले उडाएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाए ।

लेखान्त के थियो भने, क्याप्टेन अरुणले यसअघि दुई पटक हेलिकप्टर उडानकै क्रममा मृत्युलाई जितेका थिए ।

यसअघि क्याप्टेन अरुणले उडाएको कर्णाली एयरको हेलिकप्टरमाथि जुम्ला–कालिकोट रेन्जमा पुगेपछि तत्कालीन माओवादी विद्रोहीले गोली प्रहार गरेका थिए ।

द्वन्द्वकालमा माओवादीले प्रहार गरेको गोलीले अरुणको हेलिकप्टर छेडेर वारपार भए पनि उनले सकुशल अवतरण गरेका थिए । त्यो घटनामा अरुणले पहिलो पटक मृत्युलाई जितेका थिए ।

त्यसपछि अरुणले २०७० असोज दोस्रो साता काठमाडौंबाट लुक्ला उडाएर लगेको एयर डाइनेस्टीकै हेलिकप्टर लुक्ला विमानस्थलको तारबारमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

तीन यात्रु सवार उनको हेलिकप्टरमा त्यसबेला क्षति पुगे पनि सबै सकुशल थिए । त्यो दुर्घटनामा क्याप्टेन अरुणले दोस्रो पटक मृत्युलाई जितेका थिए ।

तर, बुधबारको लेखान्त उनका लागि अर्कै थियो । अरुणले तेस्रो पटक लेखान्त टार्न सकेनन्, सदाका लागि अस्ताए ।

हेलिकप्टर उडान सेवामा ‘कुल क्याप्टेन’ को छवि बनाएका अरुणले बुधबार काठमाडौंबाट रसुवा स्याफ्रुबेसी उडाएको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटनामा पर्‍यो । उनीसँगै चार चिनियाँ यात्रुले पनि ज्यान गुमाए ।

‘क्याप्टेन अरुण एकदमै कुल क्याप्टेन हुनुहुन्थ्यो, मैले उहाँलाई कहिल्यै पनि रिसाएको वा उग्र व्यवहार गरेको देखिनँ,’ क्याप्टेन अरुणसँग साढे दुई दशक सँगत गरेका हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेलले अनलाइनखबरसँग भने, ‘आनन्दले काम गर्ने, लप्पनछप्पन नगर्ने, अनि एकदमै इमानदार र पाको पाइलट गुमाउनुपर्दा दुःखी छौं ।’

ललितपुर पुल्चोकका स्थायीवासिन्दा ५८ वर्षीय क्याप्टेन अरुणले रुसबाट पाइलट तालिम कोर्स पूरा गरेका थिए । तालिम सकेर आएपछि उनले क्याप्टेन नारायणसिंह पुनले सञ्चालन गरेको कर्णाली एयरबाट हेलिकप्टर उडान करियर सुरु गरेका थिए ।

‘यो करिब ३० वर्षअघिको कुरा हो । क्याप्टेन पुनको कमान्डमा काम गरेर पोख्त हुँदै गएका क्याप्टेन अरुण कर्णाली एयर बन्द भएपछि एयर डाइनेस्टीमा आबद्ध हुनुभएको थियो,’ कँडेलले भने, ‘त्यसपछि उहाँले निरन्तर हेलिकप्टर उडाइरहनुभएको थियो । मेरो अनुमानमा क्याप्टेन अरुणले १५ देखि १६ हजार घण्टा हेलिकप्टर उडाइसक्नुभएको थियो ।’

कँडेलका अनुसार क्याप्टेन अरुण उड्डयन नियम अक्षरशः पालना गर्थे । सहकर्मी पाइलट, कम्पनीका कर्मचारी, नियामक निकायका अधिकारीहरू सबैसँग सधैं अत्यन्त भद्र रूपमा प्रस्तुत हुने उनको बानीको सबैले प्रशंसा गर्थे ।

‘पाइलट हुनु त अरुण जस्तो भनेर हामी साथीभाइबीच सधैं चर्चा हुने गथ्र्यो,’ कँडेल सम्झिन्छन्, ‘उड्डयन क्षेत्रले असाध्यै अनुभवी र परिपक्व पाइलट गुमाएको छ । यो अपूरणीय क्षति हो ।’

क्याप्टेन अरुणसँग लामो समय काम गरेका एक क्याप्टेनले बुधबारको दुर्घटना कसरी भयो भन्ने अनुमान गरेका छन् ।

‘क्याप्टेन अरुणले काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी रुटमा कम्तीमा एक हजार पटक हेलिकप्टर उडाइसकेका थिए,’ ती क्याप्टेनले भने, ‘उनलाई त्यो रुटमा कहाँनेर डाँडा छमात्र होइन, कहाँनेर अग्ला रुख छन् भन्नेसम्म कण्ठस्थ थियो । तर, बुधबार अकस्मात बिग्रिएको मौसमले उनलाई चक्मा दियो ।’

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ः५४ बजे उडेको एयर डाइनेस्टीको हेलिकप्टर तीन मिनेटमै ‘एयर ट्राफिक कन्ट्रोल’ (एटीसी) सँग सम्पर्क विच्छेद भएको थियो ।

उनी स्याफ्रुबेसी रुट छिचोल्दै जाने क्रममा नुवाकोट शिवपुरी गाउँपालिका–७ सूर्यचौरमाथि पुगेपछि अकस्मात आएको हुस्सुभित्र छिरेका थिए । उनले केही सोच्न नभ्याउँदै घटना हुन पुगेको ती क्याप्टेनको अनुमान छ ।

हेलिकप्टर ‘भिजुल फ्लाइट रुल’ (भीएफआर) अनुसार उडाइन्छ । यो भनेको हेलिकप्टरको ककपिटबाट पाइलटले जमिन र आकास सफा देखेको हुनैपर्छ ।

तर, त्यही रुटमा अकस्मात हुस्सु आइदिँदा क्याप्टेन अरुणले केही देख्न सकेनन्, जसले टार्न नसकिने दुर्घटना हुन पुगेको ती क्याप्टेन बताउँछन् ।

एक इमानदार र तीन दशक लामो उडान अनुभव बोकेका क्याप्टेन अरुणको दुःखद अन्त्यबाट अन्य सहकर्मी र सहधर्मीले पनि पाठ सिक्नुपर्ने देखिन्छ ।

क्याप्टेन अरुणका श्रीमती र दुई छोरी छन् ।

अलबिदा क्याप्टेन अरुण…

लेखकको बारेमा
सुशील भट्टराई

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका भट्टराई अनलाइनखबरको आर्थिक ब्युरो संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?