+
+

८ दिनका लागि गएका अन्तरीक्षयात्री अड्किए, ८ महिनासम्म त्यहीँ बस्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २६ गते १५:१३

गत जुन ५ मा दुईजना अमेरिकी अन्तरीक्षयात्रीहरु एक परीक्षण मिसन अन्तर्गत अन्तराष्ट्रिय स्पेस स्टेशनमा जाँदा उनीहरु केही दिनमै पृथ्वीमा फर्किने अपेक्षा गरिएको थियो ।

तर घटनाक्रम चाहिँ योजना अनुसार अघि बढेन ।

जम्मा ८ दिनमा फर्किने योजना बनाएका अन्तरीक्षयात्री ब्यारी बुच विलमोर र सुनिता विलियम्स झण्डै दुई महिना बितिसक्दा पनि अझै अन्तरीक्ष स्टेसनमै रोकिएका छन् ।

वास्तवमा उनीहरु अनिश्चितकालका लागि अन्तरीक्ष स्टेशनमा अड्किएका छन् । उनीहरुले अझै लामो समयसम्म अन्तरीक्षमै बस्नुपर्ने सम्भावना छ । अर्थात् आगामी क्रिसमस र अंग्रेजी नयाँवर्ष उनीहरुले अन्तरीक्ष स्टेसनमै बिताउने छन् ।

६१ वर्षीय विलमोर र ५८ वर्षीया सुनिता बोइंग स्टारलाइनर अन्तरीक्षयानबाट स्पेस स्टेसनमा गएका थिए । यो उक्त यानको पहिलो मानवयुक्त उडान हो । नयाँ यानको नियमित उडान सुरु गर्नुअघिको यसको कार्यसम्पादन परीक्षण गर्नका लागि सो परीक्षण उडान गरिएको थियो ।

तर अन्तरीक्ष स्टेसनमा पुग्ने बेला नै यसमा समस्या देखियो । यानको प्रपल्सन प्रणालीमा केही चुहावट देखियो भने यसका केही थ्रस्टरहरु बन्द भए ।

त्यसैले जेनतेन स्पेस स्टेसनमा सकुशल पुगेका ती दुई अन्तरीक्षयात्रीहरुले पृथ्वीमा फर्किनका लागि भने वैकल्पिक यानको प्रयोग गर्नुपर्ने भयो । किनकि उक्त स्टारलाइनर अन्तरीक्षयानबाट पृथ्वीमा फर्किनका लागि सुरक्षित ठानिएको छैन ।

बुधबारको समाचार ब्रिफिङका क्रममा नासाका अधिकारीहरुले अबको कदमका बारेमा कुनै प्रष्ट निर्णय नगरिएको जानकारी दिए ।

नासाको कमर्सियल क्रु कार्यक्रमका व्यवस्थापक स्टिभ स्टिच भन्छन्, ‘हाम्रो प्राथमिक विकल्प भनेको बुच र सुनितालाई स्टारलाइनरबाटै फर्काउनु हो । तथापि हामीले अन्य विकल्पहरु समेत खुल्ला रहुन् भनेर आवश्यक योजना समेत बनाएका छौं ।

नासाका अनुसार त्यसमध्येको एउटा विकल्प चाहिँ ती दुई अन्तरीक्षयात्रीलाई आगामी सेप्टेम्बरमा प्रक्षेपण गरिने मिसनमै आवद्ध गराउनु हो । यदि त्यसो भयो भने उनीहरु नयाँ अन्तरीक्ष यात्रीसँगै सन् २०२५ को फेब्रुअरीमा मात्रै पृथ्वीमा आउन पाउनेछन् ।

सेप्टेम्बरको मिसनमा स्पेस एक्स क्रु ड्रागन यानको प्रयोग हुनेछ । उक्त मिसनमा चारजना अन्तरीक्षयात्रीहरु पठाइने योजना भएता पनि यदि सुनिता र बुचलाई फिर्ता ल्याउनुपरेमा दुईवटा सिट खाली राखेर यानलाई स्पेस स्टेसनमा पठाइनेछ ।

यदि त्यसो भयो भने ८ दिनका लागि अन्तरीक्ष स्टेसनमा गएका अन्तरीक्ष यात्री सुनिता र बुचले त्यहाँ ८ महिना बिताउनु पर्नेछ ।

त्यसैले स्पेस एक्सको क्रु ड्रागन प्रयोग भएको खण्डमा स्टारलाइनरलाई कम्प्युटर प्रणाली मार्फत् नियन्त्रण गरेर रित्तै पृथ्वीमा ल्याइनेछ ।

दुई अन्तरीक्षयात्रीलाई पृथ्वीमा फर्काउने उल्लेखित विषयमा अन्तिम निर्णय गर्नका लागि कम्तिमा एक हप्ता लाग्ने नासाका अधिकारीहरुले बताएका छन् ।

नासाको स्पेस अपरेसनका निर्देशक केन बोबेरसक्सका अनुसार पछिल्ला हप्तामा विकसित घटना क्रमले गर्दापनि स्टारलाइनर यान रित्तै पृथ्वीमा फर्किने सम्भावना बढेको छ ।

यदि नासाका अन्तरीक्षयात्रीलाई स्पेस एक्सको यानमा राखेर पृथ्वीमा फर्काउनु परेमा र स्टारलाइनरलाई रित्तै फर्काउने अवस्था आएमा त्यो बोइङ कम्पनीका लागि ठूलो झट्का हुनेछ । अन्तरीक्ष यान निर्माणको क्षेत्रमा बोइङले वर्षौँदेखि स्पेस एक्ससँग प्रतिस्पर्धा गर्दै आएको छ ।

हालैमात्र नासाले स्पेस स्टेसनमा रहेका सुनिता र बुचका लागि थप खानेकुरा र लुगाफाटोका साथै अन्य बन्दोबस्तीका सामानहरु स्टेसनमा ढुवानी गर्नका लागि स्पेस एक्सको रकेट प्रयोग गरेको छ ।

स्मरण रहोस् यी दुबै जनाका लागि यो तेस्रो अन्तरीक्ष उडान हो ।

अप्रत्यासित रुपमा अन्तरीक्षमा लामो समयसम्म बस्नु परेको भएपनि यी दुईजना भन्दा लामो समयसम्म त्यहाँ बिताउने अन्तरीक्षयात्रीहरु धेरै छन् ।

रुसी अन्तरीक्षयात्री भ्यालेरी पोलिकोभले सन् १९९० को दशकमा ४३७ दिन अन्तरीक्षमा बिताएका थिए। त्यस्तै गतवर्ष मात्रै अमेरिकी अन्तरीक्षयात्री फ्रांक रुबियो ३ सय ७१ दिनसम्म अन्तरीक्षमा बिताएर फर्किएका थिए ।

हाल अन्तरीक्ष स्टेशनमा रहेका रुसी अन्तरीक्षयात्री ओलेग कोनोनेंको चाहिँ आफ्नो करिअरमा १ हजार दिनभन्दा धेरै स्पेस स्टेसनमा बिताउने

विश्वकै पहिलो अन्तरीक्षयात्री हुन् । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?