+
+

अन्तर्राष्ट्रिय युवा दिवसमा पोखरामा ६ जना सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १०:०६

२९ साउन, पोखरा ।  अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरामा ६ जना युवा सम्मानित भएका छन् । नेकपा एमाले कास्कीले `अघि बढ्छ युवा´ कार्यक्रममार्फत गायन, स्वास्थ्य, शिक्षा, खेलकुद र कानुन क्षेत्रका गरेर ६ जनालाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा नेपाल आइडलका विजेता करण परियार,फर्स्ट रनरअप सलोमी गुरूङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाही, डाक्टर विकास गौचन, प्राध्यापक शुष्मा रञ्जित र अधिवक्ता कुञ्जनी परियार प्यासी छन् ।

सम्मानित भएका करण बर्दियाका हुन् भने बाँकी पाँच जना कास्कीसहित गण्डकी प्रदेशको भूगोलमै जन्मे–हुर्केका यहीँ कर्म गरिरहेकाहरु हुन् । युवालाई उत्प्रेरित गर्नुपर्छ भन्ने उद्देश्यले विभिन्न क्षेत्रका ६ जनालाई सम्मान गरिएको कार्यक्रम संयोजक एवं एमाले जिल्ला सचिव दर्शन लामाले बताए ।

सम्मानितमध्ये मुस्ताङमा जन्मिएका डा. विकास गौचन २०७७ साल पुसदेखि गण्डकी प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको कार्यकारी निर्देशक छन् । कोभिड–१९ महामारीको समयमा पाँच वर्षका लागि उनी उक्त अस्पतालको जिम्मेवारीमा आएका थिए ।

सन् २००९ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस उत्तीर्ण गरेका गौचनले अछामको बयलपाटा अस्पतालमा मेडिकल डाइरेक्टर भएर करिब ९ वर्ष काम गरेका छन् ।

नेपाल आइडलको फस्ट रनरअप सलोमी गुरूङको जन्म घर लमजुङको क्व्होलासोथार गाउँपालिका ७, कुमलुङका हुन् । पोखरामा हुर्किएका उनले संगीतको कुनै औपचारिक कक्षाबिनै नेपाल आइडलको स्टेजसम्म पुगेकी थिइन् ।

म्याग्दी घर भएकी अरुणा शाही २०७६ सालबाट राष्ट्रिय महिला भलिबल टोलीको कप्तान छिन् । गण्डकी प्रदेश भलिबलको उर्बर भूमि भएको र खेलाडीलाई सम्मान गरेर हौसला थप्ने उद्देश्यले अरूणालाई सम्मान गरिएको लामाले जनाए ।

अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’ महिला र दलित समुदायको अधिकार स्थापित गर्न संघर्षरत छिन् । नागरिकता नहुँदा बाल्यकालमा पढ्न नै संघर्ष व्यहोरेकी कुञ्जनीलाई उनको संघर्ष र हिम्मतको कदर गरेर सम्मान गरिएको हो ।

शुष्मा रञ्जित इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (आइ.एस.एम.टी)को क्याम्पस कोओर्डिनेटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?