+

बच्चालाई खोप किन र कहिले लगाउने ?

२०८१ साउन  ३० गते ११:३० २०८१ साउन ३० गते ११:३०
बच्चालाई खोप किन र कहिले लगाउने ?

खोप चिकित्सा विज्ञानको प्रभावकारी उपलब्धि हो । भविष्यमा लाग्न सक्ने कुनै पनि किसिमको सम्भावित रोगबाट शरीरलाई बचाइराख्न खोप लगाउने गरिन्छ । खोपले भविष्यमा हुनसक्ने सम्भावित रोगको खतराबाट सुरक्षित गराउँछ ।

खोप खासगरी सुईको माध्यमबाट सम्बन्धित रोगका मृत वा कमजोर ब्याक्टेरिया मानिसको शरीरमा प्रवेश गराइन्छ । रोगप्रतिरोध गर्ने एन्टिबडी उत्पादन गर्न श्वेत रक्तकोषलाई सक्रिय पारिन्छ ।

खासगरी नवजात शिशुको प्रतिरक्षा प्रणाली एकदम कमजोर हुन्छ । त्यसैले उनीहरूलाई सानोतिनो रोगले पनि सताउन सक्छ । त्यसैले उनीहरूलाई हुनसक्ने कतिपय रोग विरुद्ध खोप दिने गरिन्छ । खासगरी बालबालिकालाई स्वस्थ राख्न, अपाङ्गताबाट बचाउन, गम्भीर रोग लाग्न नदिन खोपहरूको निर्धारित निश्चित मात्रा पूरा गर्नुपर्छ ।

नवजात शिशुका लागि उमेर अनुसार खोप तालिका पनि तयार गरिएको छ । यस्तोमा पहिलो पटक आमाबुबा भएकाहरूले नेपालमा नवजात शिशुका लागि कुन-कुन खोप उपलब्ध र कहिले लगाउने भन्नेबारे थाहा पाउनुपर्छ ।

किन लगाउने ?

बच्चा जन्मिएपछि खोप तालिकाअनुसार तोकिएको समयमा सबै खोप लगाउँदा बालबालिकामा सरुवा रोगसँग लड्ने क्षमता विकास हुन्छ । बालबालिकामा रोग लाग्ने दर, अपाङ्गता हुने दर र मृत्यु हुने दरमा कमी आउँछ । विभिन्न किसिमको सरुवा रोगबाट बच्न सकिन्छ । त्यसैले बच्चा जन्माएपछि दम्पतीले बच्चालाई दिइने खोपबारे जानकारी लिनुपर्छ । कुन खोप कहिले दिने, कहाँबाट दिने भन्नेबारे स्पष्ट रुपमा बुझ्नुपर्छ ।

कहिले लगाउने ?

बीसीजी खोप

जन्मिने बित्तिकै शिशुलाई बीसीजी खोप लगाउनुपर्छ । यो प्रत्येक स्वास्थ्य केन्द्र र खोप केन्द्रमा पनि उपलब्ध हुन्छ । यसका लागि शुल्क लाग्दैन, सरकारले निःशुल्क वितरण गर्छ । बीसीजी खोपले शिशुलाई क्षयरोगबाट बचाउँछ ।

डीपीटी/हेप हिब

त्यसपछि शिशुलाई ४–४ हप्ताको फरकमा डीपीटी र हेपाटाइटिस बी विरुद्धको खोप दिनुपर्छ । यो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक लगाउनुपर्छ । यसले भ्यागुतेरोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमाफिलस बी बाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ ।

पोलियो

त्यससँगै पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक दिइन्छ । यसले पोलियोमाइलाइटिसबाट जोगाउँछ ।

एफआपीभी

शिशु १४ हप्ता र ९ महिना भएपछि एफआईपीभी खोप दुई मात्रा दिइन्छ ।

रोटा

६ हप्ता र १० हप्ता गरी दुई पटक दिनुपर्ने यो खोपले रोटा भाइरसद्वारा हुने पखालाविरुद्ध काम गर्छ ।

पीसीभी

६ हप्ता, १० हप्ता र ९ महिनामा पीसीभी खोप लगाइन्छ । यो तीन पटक दिइन्छ, यसले न्युमोकोकसबाट हुने मेनिजाइटिस र निमोनियाबाट बचाउँछ ।

दादुरारुबेला

९ महिना र १५ महिनाको उमेरमा दादुरा-रुबेला विरुद्धको दिइन्छ । यसले दादुरा, रुबेलाबाट जोगाउँछ ।

जेई

१२ महिनाको उमेरमा जेई खोप दिइन्छ । यसले जापानिज इन्सेफलाइटिसबाट बचाउँछ ।

टीडी

शिशु मात्र होइन, गर्भवती महिलालाई पनि टीडी दिइन्छ । यसले शिशुलाई धनुष्टङ्कार र भ्यागुते रोगबाट बचाउँछ ।

खोप लगाउन ढिलो भएमा के हुन्छ ?

तोकिएको समय अर्थात् १५ महिनाभित्रै खोप लगाउनु प्रभावकारी हुन्छ । तर कुनै कारणले खोप लगाउन छुट्न वा ढिलो हुनसक्छ । तर ढिलो भयो भन्दैमा खोप नलगाई बस्नु हुँदैन । ढिलै भए पनि खोप अनिवार्य लगाउनुपर्छ । साथै सरकारले ‘डिले खोप’ अर्थात् खोप लगाउन छुटेका वा ढिलो भएकालाई पाँच वर्षसम्म पनि दिने गरेको छ ।

खोप लगाइएन भने के हुन्छ ?

खोप लगाइएन भने शिशुलाई भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमाफिलस बीबाट हुने मेनिन्जाइटिस र निमोनिया जस्ता समस्या देखा पर्न सक्छ ।

खोप नलगाउँदा पोलियोमाइलाइटिस, रोटा भाइरसद्वारा हुने पखाला, मेनिजाइटिस र निमोनिया, दादुरा, रुबेला, जापनिज इन्सेफलाइटिस, धनुष्टङ्कार र भ्यागुते रोग लाग्ने सम्भावना पनि हुन्छ ।

यीमध्ये कुनै एउटा वा दुईवटा खोप लगाउन छुटाइयो भने जुन रोगविरुद्धको खोप लगाउन छुट्यो त्यो रोग लाग्ने सम्भावना हुन्छ ।

खोपको सामान्य साइडइफेक्ट

खोप लगाएपछि सामान्य दुखाइ, रातोपन, खोप लगाएको ठाउँ वरपर सुन्निने जस्ता साइड-इफेक्ट देखिन सक्छ । तर यो समस्या केही दिनभित्र आफैं समाधान हुन्छ ।

खोप लगाएको ठाउँ वरपरको क्षेत्र दुखाइ महसुस हुने, हल्का ज्वरो आउने जस्ता साइड-इफेक्ट पनि देखिन सक्छ । केही खोपहरू विशेषगरी इन्फ्लुएन्जाको खोप लगाएपछि रुघाखोकी लाग्ने शरीर दुख्ने जस्ता समस्या देखिन सक्छ ।

कसैलाई खोप लगाएपछि हल्का टाउको दुख्ने र केही खोपहरूले अस्थायी मांसपेशी वा जोर्नी दुखाइ हुनसक्छ । साथै साना बालबालिका खोप लगाएपछि बढी चिडचिडापन वा चञ्चल हुनसक्छन् ।

खोप डा. बाबुराम पाण्डे बच्चालाई खोप
डा. बाबुराम पाण्डे
लेखक
डा. बाबुराम पाण्डे
बालरोग विशेषज्ञ

डा. पाण्डे हाल राप्ती एकेडेमी अफ हेल्थ साइन्सेसमा कार्यरत छन् । बालरोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२७७९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय