+
+

पहिरोमा आफू मरेर बसका यात्रु जोगाएका चालकका परिवारलाई सरकारले ५ लाख दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १३:१०

३० साउन, काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालक मेघनाथ विकका परिवारलाई सरकारले नगद ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

अगष्ट १९ तारिख (भदौ ३ गते) मनाइने विश्व मानवीय दिवसको अवसरमा गृहमन्त्री रमेश लेखकले सम्मान गर्ने भएका हुन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व मानवीय दिवस अगष्ट १९ मा विश्वभर मनाइन्छ । यस दिन प्राकृतिक विपद्को बेला खोज, उद्धार तथा जीवन रक्षा लगायतका काममा उत्कृष्ट योगदान गरेकाहरुको स्मरण गर्दै उनीहरुलाई सम्मान गरिन्छ ।

यो दिवस यस वर्ष नेपाल सरकारले सुर्खेतमा कार्यक्रम गरी मनाइँदै छ । बस चालक विकका परिवारलाई सोही दिन नगद पाँच लाख सहित गृहमन्त्रीले सम्मान गर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए ।

गत असार २८ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगा लागेर बस चालक नवलपरासी सुनवल नगरपालिका–४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको थियो ।

बुटवलबाट काठमाडौं आइरहेको लु २ ख ६५६६ नम्बरको बस चालक विक चालक सिटमै बसेको अवस्थामा भिरबाट खसेको ढुंगाले किचिएका थिए । उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । सो बसमा करिब ३० यात्रुहरु थिए । तर यात्रुहरु भने सकुशल थिए ।

आफू मरेर बसका यात्रुहरुलाई जोगाएको भन्दै सरकारले चालक विकलाई सम्मान गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता डा. भट्टराईले जानकारी दिए ।

सोही दिन नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पहिरोसहित दुई वटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए । दुईवटा बसमा ६५ यात्रु रहेकामा तीनजना पौडिएर ज्यान जोगाउन सफल भएका थिए ।

नेपाल र भारतका गोताखोरसहितको टोलीले खोजी गर्दा २४ जनाको शव भेटिए पनि अन्य यात्रु र बसहरुको अवस्था हालसम्म अज्ञात छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?