+
+

रुसको भूमिमा घुसेर युक्रेनी सेनाले गरे आक्रमण

युक्रेनका कमाण्डर सिरस्कीले रुसको भूमिमा आक्रमण गर्ने क्रममा १०० जना रुसी सेनालाई नियन्त्रणमा लिइएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते ६:०८

३१ साउन, काठमाडौं । युक्रेनी सेना रुसको भूमिमा प्रवेश गरेका छन् । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले आफ्ना सेना रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेको जानकारी दिएका हुन् ।

उनले बुधबार बेलुकी सामाजिक सन्जालमा लेखेका छन्, ‘युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रमा विभिन्न दिशाबाट एकदेखि दुई किलोमिटर अगाडिसम्म घुसेको छ ।’

ट्वीटर (हाल एक्स)मा राष्ट्रपति जेलेन्स्कीले फोटो र भिडियोहरु पनि पोष्ट गरेका छन् । एउटा भिडियोमा जेलेन्स्कीले सेनाका शीर्ष कमाण्डर ओलेकजेन्ड्र सिरस्कीसँग कुरा गरिरहेको पनि देखिन्छ । सो भिडियोमा युक्रेनका कमाण्डर सिरस्कीले रुसको भूमिमा आक्रमण गर्ने क्रममा १०० जना रुसी सेनालाई नियन्त्रणमा लिइएको बताएका छन् । यसबाट युक्रेनी सेनालाई रुसी सेनाको नियन्त्रणबाट मुक्त गराउन सकिने उनले विश्वास पनि व्यक्त गरेका छन् ।

यद्यपि युक्रेनी सेनाले रुसको भूमि कति कब्जा गर्यो भन्ने अझै एकिन हुन नसकेको बीबीसीले जनाएको छ ।

दुई दिन अघि रुसले युक्रेनी सेना आफ्नो भूमि कुर्स्क प्रान्तमा घुसेको स्वीकार गरेको थियो । हाल रुसका केही बस्तीहरुमा युक्रेनले कब्जा गर्न सफल भएको बीबीसीले जनाएको छ ।

‘युक्रेनी सेनाको समन्वयको कमाल’

बीबीसीका अनुसार युक्रेनका सेनाबीच अहिले बेजोड समन्वय छ । त्यही समन्वयको कमाल अनुसार युक्रेनी सेना रुसमा घुसेर आक्रमण गर्न सकेका हुन् ।

बेलायतका एक सैनिक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बीबीसीसँग भनेका छन्, ‘यो आक्रमणको सबैभन्दा चाखलाग्दो कुरा के हो भने युक्रेनी सेनाका अलग–अलग अंगबीच बेजोड समन्वय छ । पैदल फौजको साथसाथै हवाई सुरक्षा, इलेक्टोकि वारफेयर र तोपखानाले पनि यो अपरेसनमा भाग लिएका छन् । युक्रेनका लागि यो आफैंमा ठूलो उपलब्धि हो ।’

अधिकारीहरुका अनुसार युक्रेनले पश्चिमा देशहरुबाट प्राप्त अत्याधुनिक हतियार पनि प्रयोग गरिरहेको छ । ती हतियारहरुमा जर्मनी मोर्डर र अन्य बख्तरबन्ध बाहन समावेश छन् ।

विगतका वर्षहरुको तुलनामा युक्रेनी सेनाले यस वर्ष यस्ता अत्याधुनिक हतियारहरुको राम्रोसँग प्रयोग गर्दै आएको छ ।

भारतीय नागरिकलाई ब्रेन्स्क, बेलगोरोद र कुर्स्क छाड्न अनुरोध

युक्रेनी सेना रुसको भूभागमा घुसेर आक्रमण गर्न थालेपछि भारतले आफ्ना नागरिकहरुलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको छ ।

रुसस्थित भारतीय दूतावासले सूचना जारी गर्दै ब्रेन्स्क, बेलगोरोद र कुर्स्कमा रहेका भारतीय नागरिकहरुलाई सतर्कता अपनाउन र अस्थायी रुपमा ती ठाउँ छाड्न भनेको हो ।

भारतीय दूतावासले कुनै मद्दत चाहिएमा सम्पर्क गर्न भनेर इमेल आईडी र टेलिफोन नम्बरसमेत सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?