+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अर्थतन्त्र सुधारमा सुझाव दिन उच्चस्तरीय आयोग बनाइँदै

अर्थमन्त्री विष्णु पौडेलले तयार पारेको कार्यकालको पहिलो सय दिनको कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरिने उल्लेख छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ साउन ३२ गते २०:१८

३२ साउन, काठमाडौं । अर्थतन्त्र सुधारका लागि सुझाव दिन सरकारले उच्चस्तरीय आयोग बनाउने भएको छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आफ्नो कार्यकालको पहिलो सय दिनको कार्ययोजना सार्वजनिक गरेका छन् ।

उक्त कार्ययोजनाले मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरिने उल्लेख गरेको छ ।

आयोगले आर्थिक सुधारका क्षेत्र पहिचान गर्ने र अर्थतन्त्र सुधारमा नीतिगत/कानुनी मार्ग पहिचान गर्ने अपेक्षा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले कार्ययोजना कार्यान्वयनबाट नीतिगत, कानुनी र सेवा प्रवाहमा सुधार हुने अपेक्षा गरिएको बताए । जसले स्रोत तथा खर्च व्यवस्थापन, वैदेशिक सहायता परिचालन लगायतमा थप उपलब्धि हासिल हुने उनको भनाइ छ ।

अर्थको कार्ययोजनामा दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार पार्ने योजना समेत समेटिएको छ । यसै अवधिमा नयाँ बीमा नियमावली २०८१ तर्जुमा गरी मन्त्रिपरिषद्‍मा पेस गरिने छ ।

साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली मन्त्रिपरिषद्‍मा पेस गर्ने योजना समेत अर्थको छ ।

यसबीच आन्तरिक राजस्व परिचालन रणनीति कार्यान्वयन थालिने भएको छ । भन्सार मूल्यांकन कारोबार मूल्यमा आधारित बनाउन रणनीति बनाउने अर्थको योजना छ । यस अवधिमा भन्सार महसुल नियमावली तर्जुमा गरिने भएको छ ।

सार्वजनिक संस्थानमा ऋण तथा लगानी सम्बन्धी नीति तर्जुमा गरी मन्त्रिपरिषद्‍मा पेस गरिने समेत अर्थको कार्ययोजनामा उल्लेख छ । यसबीच आन्तरिक ऋण निष्कासन तथा व्यवस्थापन कार्यविधि बनाउने समेत अर्थले जनाएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ संशोधन विधेयक संसद्मा पेस गर्नेदेखि बजेट दिग्दर्शन २०७५ संशोधन गर्ने योजना समते अर्थको छ । रकमान्तर कार्यविधि तर्जुमा गर्ने र बझाङ सैपाल गाउँपालिकामा वाणिज्य बैंकको शाखा स्थापना गर्ने समेत अर्थले जनाएको छ ।

भन्सारमा के हुँदैछ ?

उपभोक्ताले डिजिटल माध्यमबाट गरेको खरिद भुक्तानीमा १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिने काम प्रारम्भ गर्ने घोषणा अर्थले गरेको छ ।

तातोपानी भन्सार कार्यालयमा लगेज तथा भेइकल स्क्यानर मेसिन प्रयोग आरम्भ गरिने भएको छ । वीरगञ्ज भन्सार कार्यालय, भैरहवा र नेपालगञ्जमा ल्याब मोड्युल प्रारम्भ गरिने कार्ययोजनामा उल्लेख छ ।

त्यस्तै भन्सार प्रज्ञापनपत्रको मुख्य–मुख्य चरणको जानकारी निकासी तथा पैठारीकर्तालाई एमएमएस वा इमलेमार्फत जानकारी गराउने प्रणाली आरम्भ गरिने भएको छ ।

यसबीच सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने कार्यविधि तर्जुमा गरिने कार्ययोजनामा उल्लेख छ । बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयबाट भएको स्रोत सहमति, विषयगत/निकायले लगाएको ठेक्का र तिर्नुपर्ने बाँकी दायित्वको विवरण यकिन गर्ने समेत अर्थले जनाएको छ ।

गत आर्थिक वर्ष विधिसम्मत सिर्जित दायित्व यकिन गरी भुक्तानी व्यवस्था मिलाउने समेत अर्थको भनाइ छ ।

आन्तरिक राजस्वमा के छ योजना ?

आन्तरिक राजस्वतर्फ वार्षिक २५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने थप २ सय करदाताको कारोबारलाई केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गराइने भएको छ ।

अन्तःशुल्क चुहावट नियन्त्रणका लागि मदिरा, बियर, चुरोट, सूर्तिजन्य वस्तु, इनर्जी ड्रिंक र जुसको व्यावसायिक उत्पादन गर्ने उद्योग प्रतिष्ठानको स्थलगत निरीक्षण तथा अनुगमन गरी प्रतिवेदन बनाउने कार्ययोजनामा उल्लेख छ ।

राजस्व चुहावट नियन्त्रण केन्द्रित दूत गस्ती टोली गठन गरी परिचालन गरिने अर्थले जनाएको छ । यसले अवैध कारोबार नियन्त्रण गर्ने अर्थको विश्वास छ ।

त्यस्तै विकास सहायता नीति २०८१ तर्जुमा गरिने भएको छ । जसले मुलुकको प्राथमिकता प्राप्त क्षेत्रमा सहायताका वैकल्पिक उपकरण सहित वैदेशिक सहायता परिचालन र उपभोग बढ्ने अर्थको विश्वास छ ।

न्यु बुटवल सबस्टेसनको भारतीय सीमासम्म ठेक्का सम्झौता गरिसक्ने योजना अर्थको छ । यसबीच न्यु दमौली सबस्टेसनको  ठेक्का सम्झौताको योजना पनि छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?