+
+

थामेमा गाउँ नै बगाउने ‘हिमबाढी’

हिमताल फुटेको वा हिम पहिरो आएको यकीन भइसकेको छैन । जानकारहरुले भने यसलाई हिमबाढी भनेका छन् ।

विनोद घिमिरे गौरव पोखरेल विनोद घिमिरे, गौरव पोखरेल
२०८१ साउन ३२ गते २२:३४

३२ साउन, काठमाडौं । शुक्रबार दिउँसो साढे १ बजेतिर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५, सोलुखुम्बुमा एक्कासी गाउँ नै बगाउने गरी गेग्रानसहितको ठूलो बाढी आयो ।

स्थानीय पीटी शेर्पाका अनुसार, कम्तिमा दुई दशकयता उनले थामे क्षेत्रमा यसरी भेल उर्लिएको देखेका थिएनन् । ‘सानो खोला हो, दिउँसो एक्कासी गाउँ नै बगाउने गरी लेदो र पानी आयो’, उनले अनलाइनखबरसँग भने, ‘धन्न दिउँसो पर्‍यो र मानवीय क्षति हुन पाएन, नभए… ।’

अहिले खुम्बु क्षेत्रमा पदयात्रा गर्ने सिजन नभएकाले थामे क्षेत्रमा मानिसहरुको चहलपहल पनि थिएन । जोखिममा रहेका ७ जनालाई भने नजिकै रहेको नेपाली सेनाको पोष्टको टोलीले उद्दार गरेको छ । एक जना भने सम्पर्कबिहीन छन् ।

गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाका अनुसार बाढीले ७ वटा घर र ५ वटा होटल बगाएको छ । थामे आधारभूत विद्यालयको छात्राबास र एउटा क्लिनिकमा पनि पूर्ण क्षति पुगेको छ । थामेमा ५० भन्दा बढी घरहरु छन् । अधिकांश घरहरुमा बाढी पसेर धनमालको क्षति भएको छ ।

बाढीले पुर्‍याएको क्षतिको एकिन विवरण आइसकेको छैन । तर एक अर्बभन्दा कम क्षति नभएको स्थानीय जनप्रतिनिधिहरुको अनुमान छ ।

कसरी आयो बाढी ?

पर्यटकीय गाउँ नै बगाउने गरी बाढी कसरी आयो भनेर यकिन भन्न सकिने अवस्था छैन । स्थानीय प्रशासनले हिमताल फुटेको, हिम पहिरो आएको वा सुख्खा पहिरोले खोला थुनेर यस्तो बाढी आएको हुनसक्ने आशंका गरेको छ ।

प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार माथिल्लो क्षेत्रमा बस्ती छैन । पैदल जान केही दिन लाग्छ । हेलिकप्टरबाट निरीक्षणमा जान खोजिएको थियो, मौसम सफा नभएकाले शुक्रबार सम्भव भएन ।

‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली पनि त्यसतर्फ जान खोजेको थियो, तर मौसमका कारण सम्भव भएन’, सैनिक प्रवक्ता गौरवकुमार केसीले भने, ‘सम्भवतः भोलि (शनिबार) काठमाडौंबाट एउटा टोली त्यसतर्फ जानेछ ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार थामे खोलाको माथिल्लो तटीय क्षेत्रमा ६ वटा हिमताल/हिमपोखरी छन् । त्यसमध्ये कुनै एउटा हिमताल/हिमपोखरी फुटेर ठूलो बाढी आएको हुनसक्ने विभागको अनुमान छ ।

विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले अनलाइनखबरसँग भने, ‘प्रारम्भिक जानकारीबाट निरन्तर वर्षा र तापक्रम वृद्धिले त्यस क्षेत्रमा हिम पहिरो गएको वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरुमध्ये कुनै हिमताल विष्फोट भएको हुनसक्ने देखिन्छ ।’

विभागका अनुसार थामे भन्दा तल रहेको फोर्त्से केन्द्रमा पछिल्लो ७ दिनमा कूल ६५ मिलिमिटर वर्षा मापन भएको थियो । साउन २५ गतेदेखि दैनिक औसत तापक्रम वृद्धि भएर ९.७ डिग्री सेल्सियसबाट ११ डिग्री सेल्सियस पुगेको थियो । साथै साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियसम्म पुगेको थियो । त्यसैले गर्मी र वर्षाका कारण हिमताल फुटेर बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

विभागसँग मिल्दोजुल्दो अनुमान अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)का वैज्ञानिकको पनि छ । इसिमोडमा कार्यरत वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ अरुणभक्त श्रेष्ठले पनि थामे जलाधर क्षेत्रका कुनै ताल फुटेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको अनलाइनखबरलाई बताए ।

‘माथितिर चार–पाँचवटै तालहरु छन् । तीमध्ये कुनै एक फुटेर बाढी आएको हुनसक्छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘हामी स्याटेलाइट इमेजमार्फत् थप अनुसन्धान गर्दैछौं, त्यसपछि मात्रै अन्तिम निष्कर्ष निकाल्न सकिन्छ ।’

उनका अनुसार त्यहाँका हिमतालको आकार बढ्दै गएको थियो । ‘बाढी आउनुअघि बिहान हामीले त्यहाँको इमेज हेर्दाखेरि पहिलेको भन्दा तालको आकार धेरै ठूलो भएको देखेका थियौं,’ श्रेष्ठले भने, ‘सम्भावित त्यही क्षेत्रबाटै भएको हो कि ! तर एकिन गरेरै भन्न चाहिँ सकिएन ।’

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं जलवायु विज्ञ डा. सुदिप ठकुरी भने सार्वजनिक भएका भिडियो र परिस्थिति हेर्दा हिमताल फुटेकै कारण बाढी आएको भन्न नसकिने बताउँछन् ।

खुम्बु क्षेत्रको हिमतालबारे अध्ययनमा समेत संलग्न जलवायु परिवर्तन विज्ञ ठकुरीका अनुसार, एक दशकअघिको अध्ययन अनुसार सगरमाथा क्षेत्रमा साना-ठूला गरी ६२६ वटा हिमताल थिए । र, हिमतालको संख्या बढ्दो क्रममा रहेको पछिल्लो अध्ययनहरुले देखाएको छ ।

‘हिमतालको क्षेत्र २५ प्रतिशतले बढेका छन्, हिमनदीको क्षेत्रफल १५ प्रतिशतले घटेका छन्’, उनले भने, ‘यस्तोमा कुनै सानो हिमताल फुटेन होला भन्न पनि सकिन्न ।’

तर अहिले नियमित भइरहेको वर्षाका कारण पानीले हिउँहरु पनि पगालेर ल्याउँदा ढुंगामाटो सहितको लेदो खसेर पहिरो जाँदा कतै खोला जमेको हुनसक्छ । ‘काहीँ चट्टान खसेर अथवा आइसको ढिक्का झरेर पनि यस्तो भएको हुनसक्छ’, उनी थप्छन् ।

थामेका पेम्बा तेञ्जिङ शेर्पा, रोलिङ र थामे खोलाको बीचमा रहेको बस्ती डुब्नुमा दुई खोलाका बीचमा रहेका कुनै पहाड फुटेको हुनसक्ने शंका गर्छन् । ‘माथि पारेचोम्बुचो ताल पनि थियो, धन्न त्यो फुट्न पाएनछ’, उनले अनलाइनखबरसँग भने, ‘कुनै पहाड फुटेकाले यस्तो भएको हो कि भन्ने हामीलाई लागेको छ ।’

अपराह्नबाट पानीको बहाव घटेकाले पनि आफूहरुले कुनै पहाडमा क्षति पुगेको हुनसक्ने शंका गरेको उनी बताउँछन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेल भने आफूहरु थामे बाढी कसरी आयो भन्नेमा कुनै निष्कर्षमा पुगिनसकेको बताउँछन् । ‘पानी परिरहेको भएपनि खतराको तहमा पुगिसकेको थिएन, माथि भएका तालहरु पनि स–साना थिए’, उनले भने, ‘ती फुटेका हुन् कि होइनन् भन्ने त्यहीँ नपुगी निर्क्यौल हुने स्थिति छैन ।’

३९ वर्षअघि पनि आएको थियो भीषण बाढी

थामे खोलामा आजको जस्तै बाढी ३९ वर्षअघि पनि आएको थियो । १९८५ अगष्ट ४ (२०४२ साल साउन २० गते) डिग्चो क्षेत्रबाट आएको बाढीले थामे खोलाको जलविद्युत् आयोजना नै बगाएको थियो । त्यतिबेला ३० वटा घर, १४ वटा पुल बगाउनुका साथै धेरै खेतीयोग्य जमिन बगरमा परिणत गरेको थियो ।

वरिष्ठ भूगर्भविद एवम् नेपाल सरकारका सिनियर डिभिजन इन्जिनियर श्रीकमल द्विवेदी थामेमा ३९ वर्ष अघिको भन्दा आज आएको बाढी ठूलो भएको बताउँछन् ।

उनी पनि हिमताल भएकै क्षेत्रबाटै ठूलो पानी बगेर थामे खोलाको बाढीले विनाशकारी रुप लिएको हुनसक्ने अनुमान गर्छन् । तर हिमतालबाट मात्रै बगेको पानीले बाढीको रुप लिएको जस्तो आफूलाई नलाग्ने उनी बताउँछन् ।

‘हिमतालको कारण मात्रै बाढी आएको भनेर त मान्दिनँ, तर यसलाई हिमबाढी भन्छु,’ हिमाताल र हिमालय क्षेत्रका अनुसन्धानकर्ता द्विवेदी भन्छन्, ‘हिमालमा विभिन्न क्षेत्रमा आईसहरु छन्, पानी परिरहेर, तापक्रम समेत बढ्दा पुग्लिएर, मसिना कणहरु समेत बगेर बाढीको रुपमा तल गएको हुनसक्छ । ग्रेगानसहित बाढी आएको हुनसक्छ, यो अध्ययन गर्नुपर्ने विषय हो ।’

उनका अनुसार त्यो क्षेत्र नजिकमा रहेको स्याङ्गबोचे विमानस्थलमा विगत १५ दिनमा करिब १४८ मिलिमिटर जति वर्षा भएको छ ।

बाढीको कारण त्यही वर्षा पनि हुन सक्ने अनुमान उनको छ । ‘जलवायु परिवर्तनको कारणले अहिले हिउँ पर्ने हिमाली भेगमा पानी पर्न थालेको छ । बरफ जमेर बसेको ठाउँमा माटो पनि कमलो हुन्छ,’ द्विवेदी भन्छन्, ‘भीरमा जमेर रहेको बरफसहित माटोको ढिस्को वर्षाको कारणले हिमतालमा खस्यो र तालको पानीसहित बगेर बाढीको रुप लिएको हो कि भन्ने मेरो प्रारम्भिक अनुमान छ ।’

तल्लो तटीय क्षेत्रमा सतर्कता

थामे खोला दोलखा र सोलुखुम्बुको सिमाना भएर बग्दछ । यो दूधकोशी नदीको सहायक खोला हो । दिउँसो करिब १ः२५ बजे खोलाको शीरदेखि नै लेदो माटोसहित बाढी आएको थियो ।

थामे खोलामा बाढी आएपछि जल तथा मौसम विज्ञान विभागले दूधकोशीमा पनि बाढी आउने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गर्दै एसएमएस पठाएको थियो । नभन्दै दूधकोशीमा पनि गडगडाउँदै ठूलो बाढी आएको थियो ।

रबुवाबजार बाढी मापन केन्द्र खोटाङमा दूधकोशीको जल सतह

सो बाढीको कारण विभागको दूधकोशी रबुवाबजार बाढी मापन केन्द्र खोटाङमा आज साँझ ५ः१० बजे जल सतह एक्कासी बढेको थियो । रबुवाबजार बाढी मापन केन्द्र खोटाङ सोलुखुम्बुको थामेबाट करिब ८२ किलोमिटर तल छ ।

त्यहाँ साँझ ५ः१० बजे जल सतह ४.२९ मिटरबाट एक्कासी बढेर ३० मिनेटभित्रै १.२० मिटर बढी भएको देखिएको थियो । ५ः४० बजे मापन गर्दा जलसतह ५.५३ मिटर पुगेको थियो । त्यसपछि बाढीको सतह बिस्तारै घट्दै गएको थियो ।

जोखिमको संकेत पाउनासाथ विभागले आज दिउँसो २ः३० बजेदेखि १ लाख ४२ हजार एसएमएस पठाएर सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्क गराएको थियो ।

राष्ट्रिय चिन्ताको विषय

भूगर्भविद द्विवेदी हिमाली क्षेत्रमा हुने बाढी र पहिरोका घटना भविष्यमा पनि हुनसक्ने भएकाले सरकारले रोकथामको उपाय अपनाउनुपर्नेमा जोड दिन्छन् ।

विगतमा मनाङ, कागबेनी, मेलम्ची लगायतमा पनि अस्वाभाविक बाढी आउँदा ठूलो क्षति पुगेका उदाहरण रहेको भन्दै उनले प्राकृतिक विपदको क्षति नियन्त्रणका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।

‘हामी ठूला ठूला हिमतालको मात्र पछि लाग्यौं, तिनलाई निगरानीमा राख्यौं, तर सानासाना हिमपोखरी र हिमाली क्षेत्रमा ठूलो वर्षाबाट आउने बाढीबारे धेरै ध्यान दिएका छैनौं,’ द्विवेदी भन्छन्, ‘अब यसप्रति राष्ट्रिय रुपमै चिन्ता लिनुपर्ने भइसकेको छ ।’

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?