+

छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता झापामा हुने

२०८१ भदौ  २ गते ७:३८ २०८१ भदौ २ गते ७:३८
छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता झापामा हुने

२ भदौ, मेचीनगर । छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता यही भदौ ७ देखि १० गतेसम्म झापामा हुने भएको छ ।

आयोजक नाइट चेस क्लबले शनिबार झापाको काँकरभिट्टास्थित होटल व्यवसायी संघ मेचीनगरको सभाहलमा पत्रकार सम्मेलन गरेर छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताबारे जानकारी गराएको हो ।

नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोग रहने प्रतियोगितामा स्थानीय व्यवस्थापनदेखि पुरस्कार रकम २ लाख ८२ हजार सहितको सम्पूर्ण व्यवस्थापन आयोजक नाइट चेस क्लबले गर्ने छ ।

नेपाल बुद्धिचाल महासंघका पूर्व पदाधिकारी, क्लबका अध्यक्ष तथा प्रतियोगिताका संयोजक विश्वविजय घिमिरेले दिएको जानकारी अनुसार प्रतिस्पर्धामा १५० जना खेलाडीले सहभागी जनाउने पक्का भएको छ। यस प्रतियोगिताका विजेता तथा उप विजेताले मंसिर १३ देखि पुस २२ सम्म दुबईको अलएन सहरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउने छ ।

मेचीनगर नगरपालिका र पशुपति बोर्डिङ स्कूलको प्रमुख प्रायोजन रहने क्लासिकल बुद्धिचाल प्रतियोगिता रेटिङ १७ सय देखि २ हजार सम्म एउटा विधा र रेटिङ १७ सय मुनि अर्को विधा गरि दुई क्याटेगोरीमा खेल सञ्चालन हुने छ ।

दुवै विधाका विजेतादेखि १० औं स्थान प्राप्त गर्ने खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

आयोजक नाइट चेस क्लबका प्रथम उपाध्यक्ष राजु पौडेलका अनुसार विजेताले नगद ५० हजार प्राप्त गर्नेछन् । उपविजेताले २५ हजार, तृतीयले १५ हजार, चौथोले १२ हजार, पाँचौंले १० हजार, छैटौंले ८ हजार, सातौंले ६ हजार र आठौं देखि दशौं हुने प्रत्येकले जनही ५ हजार हात पार्ने छन् ।

अन्तर्राष्ट्रिय आर्विटर बालाराम पुन प्रमुख निर्णायक रहने निर्णायक मण्डलमा फिडे आर्विटर कोर्स पूरा गरेका सोराज ताम्राकार र सिनियर राष्ट्रिय आर्विटर हरिकृष्ण श्रेष्ठको टिमले प्रतियोगिता सञ्चालन गर्ने छन् ।

प्रतियोगिता सम्पन्न गर्न कूल अनुमानित बजेट १८ लाख २२ हजार खर्च हुने क्लबका पूर्व अध्यक्ष बालाजित राई र शेरबहादुर बस्नेतले जानकारी दिए ।

खेलाडीको एकतर्फी यातायात खर्च समेत व्यहोर्ने निर्णय भएको बताउँदै स्थानीय सरकार, विभिन्न संघ-संस्थालगायतसँग सहयोग उठाउने तयारी गरिएको बताइएका छन् ।

छैटौं राष्ट्रिय एमेच्योर प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकीले र समापन कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले गर्ने क्लबले जनाएको छ ।

झापा बुद्धिचाल प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय