+

कुशल देउबालाई कप्तानी अवसर

२०८१ भदौ  २ गते ८:५९ २०८१ भदौ २ गते ८:५९
कुशल देउबालाई कप्तानी अवसर

२ भदौ, काठमाडौं । आइतबारदेखि काठमाडौंमा सुरु हुने साफ यु-२० च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानी कुशल देउबाले गर्दैछन् । घरेलु फुटबल र उमेर समूहमा राम्रो प्रदर्शन गर्दै आएका कुशललाई मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले कप्तानी जिम्मेवारी दिएका हुन् ।

घरेलु मैदानमै हुने साफ यु-२० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको नेपाली टोलीको नेतृत्व गर्न पाउँदा कुशल खुशी छन् र उत्साहित पनि । साथै घरेलु मैदानमै हुने प्रतियोगितामा आफ्नो टिमलाई एकजुट बनाएर अघि बढाउने उनको लक्ष्य छ ।

‘कप्तानको रुपमा दबाबभन्दा पनि टिमलाई कसरी नेतृत्व दिने भन्नेमा केन्द्रित छ,’ कप्तान बन्दाको क्षणबारे सोधिएको प्रश्नमा कुशलले भने, ‘सबैलाई राम्रोसँग एकजुट गराएर नेतृत्व गर्ने र नेपाललाई जिताएर केही दिने लक्ष्य छ ।’

को हुन् कुशल देउबा ?

सुदूरपश्चिमका कुशलले सन् २०२१ मा भएको प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता-२०७७ खेलेका थिए । त्यसमा उनी सम्मिलित टिम महेन्द्रनगर युनाइटेड च्याम्पियन बन्दा उनले बेस्ट इमर्जिङ खेलाडीको अवार्ड समेत जितेका थिए ।

यस्तै कुशलले गत वर्ष असोजमा काठमाडौंमै भएको साफ यु-१९ च्याम्पियन पनि खेलेका थिए । त्यतिबेला उनको नाम खासै चर्चामा थिएन । यु-१९ राष्ट्रिय टिमका लागि खुल्ला छनोट गर्दा उनी केन्द्रीय छनोटसम्म पुग्दै उमेर समूहको राष्ट्रिय टिममा परेका थिए ।

नेपाल सेमिफाइनलमा भारतसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको थियो । साफ यु-१९ मा नेपालले सेमिफाइनलसहित तीन खेल खेल्दा कुशलले नियमित समयमा गोल गर्न नसके पनि सेमिफाइनलमा भारतविरुद्ध पेनाल्टी सुटआउटमा गोल गरेका थिए ।

त्यसपछि कुशलले गत वर्ष भएको नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण ललितपुर सिटी एफसीबाट खेलेका थिए, जहाँ उनी सम्मिलित टिम च्याम्पियन बनेको थियो । त्यहीँबाट कुशलको नाम चर्चामा आएको थियो । किनभने उनले क्वालिफायर खेलमा पोखरा थण्डर्सविरुद्ध विजयी गोल गरेका थिए ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका कुशलले अतिरिक्त समयमा निर्णायक गोल गर्दै ललितपुरलाई फाइनलमा पुर्‍याएका थिए । पछि ललितपुरले एफसी धनगढीलाई हराउँदै उपाधि जितेको थियो । त्यहीबाट कुशल एउटा राम्रो सम्भावनाको रुपमा देखिएका थिए । यसपटक साफ यु-२० च्याम्पियनसिपमा उनले आर्मब्याण्ड नै लगाउने अवसर पाएका छन् ।

यस्तै कुशल चिनियाँ नयाँ वर्षको अवसरमा गत वर्ष दशरथ रंगशालामा भएको नेपाली यु-२३ टिम र चिनियाँ प्रान्तीय टिम बीचको मैत्रीपूर्ण खेलमा नेपाली टिममा थिए ।

एनएसएलमा गोलपछि पाएको चर्चा

एनएसएलमा पोखराविरुद्ध सेमिफाइनलमा पोखराविरुद्ध गोल गरेपछि ललितपुर सिटीका प्रशिक्षक इयान आन्द्रे गिलानले कुशल देउबा नेपाली फुटबलको ‘नेक्स्ट स्टार’ हुन् भनेर प्रतिक्रिया दिएका थिए ।

मुख्य फरवार्ड इमोह इजेकेलको स्थानमा मैदान प्रवेश गरेका कुशलले आफ्नो टिमलाई निराश पारेनन् । उनले ९९औं मिनेटमा निर्णायक गोल गरे ।

मैदानमा कुशलले ‘सुपर सब’ को रुपमा गोल गर्दै आफ्नो भूमिकालाई न्याय गर्दै क्षमता पनि प्रमाणित गरेर देखाए । उनले त्यसअघि पनि केही खेलमा वैकल्पिक खेलाडीको रुपमा अवसर पाएका थिए ।

पोखरा विरुद्ध विजयी गोल गरेपछि प्रशिक्षक गिलानले एक कदम अघि बढेर नै भने-कुशल नेपाली फुटबलमा नेक्स्ट स्टार हुन् । ‘नेपाली फुटबलमा अर्को एक युवाले अवसर पाएका छन् । कुशल राष्ट्रिय टिमको भविष्य हुन सक्छन् । नेक्स्ट जेनेरेसनको फ्युचर स्टार बन्ने सम्भावना भएका खेलाडी हुन्,’ प्रशिक्षकले इयान गिलानले भनेका थिए ।

ललितपुर सिटीको कप्तानी गरेका अनन्त तामाङले पनि त्यसेबला कुशल देउबा राम्रो प्रतिभा भएको बताएका थिए । ‘कुशल एकदमै डाइनामिक प्लेअर हुन्,’ कुशलको बारेमा अनन्तले भनेका थिए, ‘सधैँ केही सिक्न खोज्ने खेलाडी र म अझै सुधार गर्छु भन्ने मेन्टालिटी भएको प्लेअर हुन् ।’

त्यतिबेला कुशलले जहिल्यै पनि खेलका लागि मानसिक रुपमा बलियो हुनुपर्ने र खेलमा शतप्रतिशत दिनुपर्ने बताएका थिए । अहिले उनले उमेर समूहकै भए पनि राष्ट्रिय टिमको नेतृत्व गर्दा टिमको मेन्टालिटी राम्रो रहेको बताएका छन् । त्यही अनुसार मैदानमा प्रदर्शन गर्नुपर्ने उनको जोड छ ।

टिमलाई च्याम्पियन बनाउने लक्ष्य

कुशलको आफ्नो कप्तानीमा नेपाललाई साफ यु-२० च्याम्पियनसिपको उपाधि जिताउने लक्ष्य बनाएका छन् । यसका लागि टिम तयार रहेको कुशलले बताए । ‘हाम्रो लक्ष्य च्याम्पियन हुने नै छ । नेपालमै खेल हुँदैछ । त्यसैले हाम्रो लागि यो ठूलो प्ल्याटफर्म र ठूलो अवसर पनि हो । यसले हाम्रो लाइफ पनि चेन्ज हुन सक्छ,’ कुशलले भने, ‘हामी बलियो मानसिकता बनाएर जित्नका लागि खेल्नेछौँ ।’

च्याम्पियन बन्नका लागि टिममा अनुभवी र नयाँ खेलाडीको राम्रो समिश्रण रहेको कुशलले बताए । ‘यस पटक युवा जोशसहितको अनुभवी खेलाडीहरु छन् । गत वर्ष यु-१९ खेलेका खेलाडीहरु पनि छन् । नेपालको विभिन्न लिगको अनुभव र एनएसएल खेलेका खेलाडी पनि छन् । त्यसले गर्दा हाम्रो टिम राम्रो र बलियो छ,’ कुशलले भने ।

राष्ट्रिय टिमबाट खेलिसकेका फरवार्ड समिर तामाङ पनि यु-२० टिममा छन् । समिर हुँदा टिमलाई अझ फाइदा पुग्ने कुशलको बुझाइ छ । ‘समिर हाम्रो लागि एडभान्टेज हुन्छ । समिरको अनुभव यो प्रतियोगितामा काम लाग्न सक्छ । निराजन धामी पनि अट्याकिङ लाइनमा छ । विंगरहरु पनि सबै राम्रो छ । एक्सपोजर पएका खेलाडीहरु छन् र टिम कम्पोज्ड बनेको छ,’ कुशल भन्छन् ।

यस पटक नेपाललाई के फाइदा छ भने गत वर्ष घरेलु मैदानमै भएको साफ यु-१९ च्याम्पियनसिप खेलेको टिमका १३ खेलाडी अहिलेको यु-२० टिममा छन् । त्यो नेपाली टोलीको बलियो पक्ष रहेको कुशलले बताए ।

कप्तान कुशलले गत वर्ष उपाधि जित्न नसकेको पीडा बिर्सेका छैनन् । त्यसैले उनले यस पटक आफ्नो कप्तानीमा नेपाललाई च्याम्पियन बनाउने लक्ष्य राखेका छन् । गत वर्ष भएको पाँचौ संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग टाइब्रेकरमा पराजित हुँदै बाहिरिएको थियो ।

पाँच संस्करण खेल्दा नेपाल दुई पटक विजेता र दुई पटक सेमिफाइनलसम्म पुगेको छ भने एक पटक समूह चरणबाटै बाहिरिएको छ ।

साफ यु-२० च्याम्पियनसिपमा दक्षिण एसियाका पाकिस्तानबाहेक ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित श्रीलंका र बंगलादेश समूह ‘ए’ मा छन् भने साविक विजेता भारत, भुटान र माल्दिभ्स समूह ‘बी’ मा छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपालले भदौ २ गतेमा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले समूहको दोस्रो खेल भदौ ६ गते बंगलादेशसँग खेल्नेछ ।

कुशल देउबा साफ यु-२० च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय