+
+

सानो हिमताल विस्फोटनले गरेको ठूलो खतराको संकेत

नेपालमा छन् साढे ३ हजार हिमताल, ४७ विस्फोटनको जोखिममा

गौरव पोखरेल गौरव पोखरेल
२०८१ भदौ २ गते २१:५९

२ भदौ, काठमाडौं । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५, सोलुखुम्बुमा भीषण बाढीको कारक मानिएको हिमताल, हिमालय क्षेत्रमा भएका अध्ययनहरुको जोखिमयुक्त सूचीमा परेको हिमतालमध्ये थिएन ।

विगतमा ठूला हिमताल मात्र जोखिमका रुपमा उल्लेख गरिन्थे । ‘छ्यो–रोल्पा, इन्जा जस्ता ठूला हिमतालमा मात्र ध्यान केन्द्रित भयो, यसपटक जसको नाम नै राखिएको थिएन, त्यो हिमताल फुट्दा ठूलो क्षति भयो’, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलले अनलाइनखबरसँग भने, ‘यसले सानो हिमतालले पनि यति विघ्न विध्वंस ल्याउन सक्ने रहेछ भन्ने देखाएको छ ।’

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले २०७७ सालमा गरेको संयुक्त अध्ययनमा ४७ वटा हिमताल उच्च जोखिममा रहेको भनिएको थियो । त्यसमध्ये २५ वटा चीन, २१ वटा नेपाल र एउटा भारतमा पर्छ ।

सबै हिमतालको गतिविधिले नेपाली क्षेत्रमा असर पर्ने भएकाले सूचीमा समेटिएको अध्ययनमा संलग्न वरिष्ठ जलवायु परिवर्तत विज्ञ डा. अरुणभक्त श्रेष्ठ बताउँछन् ।

तर अध्ययन प्रतिवेदनमा उल्लेखित जोखिमको सूचीमा थामे क्षेत्रको कुनै हिमताल उल्लेख थिएनन् । श्रेष्ठका अनुसार, हिमतालको आकार, त्यसलाई थेगिरहेको प्राकृतिक बाँध, अवस्थिति अनुसार हिमपहिरो आउने सम्भावनालाई आधार बनाएर जोखिम वर्गीकरण गरिएको थियो ।

शुक्रबारको घटनाले भने ठूला हिमतालको जोखिम अझ कति ठूलो प्रकृतिको हुन सक्ला भन्ने पनि संकेत गरेको श्रेष्ठ बताउँछन् । ‘हुन त हिमतालको आकारले मात्र क्षतिको निर्धारण गर्दैन, सबै एकैपटक फुट्यो कि थोरैथोरै गर्दै फुट्यो भन्ने कुराले अर्थ राख्छ’, इसिमोडसँग आबद्ध डा. श्रेष्ठले अनलाइनखबरसँग भने, ‘यद्यपि, यो घटनाले सानो हिमतालमा पनि ध्यान दिनुपर्छ भन्ने देखाएको छ ।’

त्यसो त सन् २०१६ मा तिब्बततर्फ हिमताल फुट्दा नेपालको भोटेकोशीमा क्षति पुगेको थियो । ‘०१६ र अहिलेको दुवै घटनाले एउटै स्पष्ट सन्देश दिएको छ’, उनी भन्छन्, ‘साना हिमतालमा पनि ध्यान देऊ ।’

सन् २०१६ को घटनामा भोटेकोशी जलविद्युत् आयोजनामा क्षति पुगेको थियो, लिपिङ बजारदेखि ३० किलोमिटर तल खाडीचौरसम्म क्षति पुगेको थियो । नदी आसपासको संरचनामा क्षति पुगेको थियो ।

अहिले सोलुखुम्बमा गएको बाढीले ७ वटा घर र ५ वटा होटल बगाएको छ भने थामे आधारभूत विद्यालयको छात्रावास र एउटा क्लिनिकमा पूर्ण क्षति पुर्‍याएको छ ।

स्थानीयका अनुसार, अहिले खुम्बु क्षेत्रमा पदयात्राको सिजन नहुनु र दिउँसो बाढी आउनुले थप मानवीय क्षति हुन पाएन । मानवीय क्षति नभएपनि भौतिक संरचनामा ठूलो क्षति पुगेको विपद् व्यवस्थापन प्राधिकरणका सीईओ पोखरेल बताउँछन् ।

जलवायु परिवर्तनको प्रत्यक्ष असर

हिमालय क्षेत्रमा बाढी गएपछि शनिबार बिहान रक्षामन्त्री मानवीर राई, विपद् व्यवस्थापन प्राधिकरणका सीईओ पोखरेल सहितको टोली थामेको माथिल्लो क्षेत्रको हवाई भ्रमणमा गएको थियो । हेलिकोप्टरमार्फत भ्रमण गर्दा त्यहाँ जलवायु परिवर्तनका प्रत्यक्ष असरहरु देखिएको सीईओ पोखरेल बताउँछन् ।

‘प्रभावित क्षेत्रको उद्गम विन्दुमा जाँदा हामी ४ हजार ८०० मिटरमाथिको उचाइमा उडिरहेका थियौं, तर त्यहाँ हपहप गर्मी भयो’, उनी सम्झन्छन्, ‘जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनि हामीले अनुभव गरेको त्यहाँको १५/१६ डिग्रीको तापक्रम आफैंमा अनौठो थियो ।’

पोखरेलका अनुसार, हिमाली क्षेत्रमा देखिएको अस्वभाविक तापक्रम वृद्धिका कारण हिमनदी र बरफका ढिक्काहरु छिटोछिटो पग्लिरहेका छन् । ‘यसले हाम्रा हिमाली क्षेत्रहरु संकटमा छन् भन्ने देखाएको छ’, उनी थप्छन्, ‘हिउँ पग्लिने क्रम तीव्र हुँदा नयाँ हिमतालहरु पनि छिटोछिटो थपिइरहेका छन्, जसले जोखिम पनि बढाइरहेको छ ।’

प्राधिकरणका अधिकारीहरुका अनुसार, थामेको माथिल्लो क्षेत्रमा एउटा हिमतालमा पानी छचल्किएको देखिन्छ, त्यसपछि तल रहेको अर्को हिमताल फुटेको देखिन्छ ।

‘माथिबाट आइसको ढिक्का वा ढुंगा खसेर अथवा अन्य के कारणले भन्ने हिमताल छचल्कियो भन्ने थप अध्ययनको विषय हो’, सीईओ पोखरेल पनि भन्छन्, ‘एउटा तालमा किन पानी छचल्किएको मात्र र अर्को फुट्यो भन्ने पनि थप अध्ययन गर्नुपर्ने विषय हो ।’

स्थलगत अध्ययनमा जाँदा आफूले एउटा फरक तथ्य पनि फेला पारेको उनी बताउँछन् । उनका अनुसार, स्याटलाइट तस्वीरबाट हेर्दा थामेको माथिल्लो क्षेत्रमा चार वटा हिमताल मात्र देखिएको थियो । तीमध्ये एउटा फुट्यो भने तीन वटा बाँकी रह्यो । ‘तर, मैले त्यहाँ जाँदा चार वटै हिमताल देखेँ, अर्थात् त्यहाँ पाँचौं हिमताल पनि बनिसकेको रहेछ’, उनी भन्छन्, ‘यसले छिटोछिटो नयाँ हिमताल थपिइरहेको छ भन्ने अध्ययनको निष्कर्षहरुलाई पुष्टि गरेको छ ।’

इसिमोडका वरिष्ठ जलवायु परिवर्तन विज्ञ डा. अरुणभक्त श्रेष्ठ भने त्यस क्षेत्रको स्ट्याटलाइट तस्वीर अझै अध्ययन गर्न बाँकी रहेको बताउँछन् । ‘त्यहाँ बादल लागि रहेकाले नयाँ तस्वीरहरु हेर्न पाइएको छैन, त्यो हेरेपछि मात्र यसबारे बताउन सक्छु’, उनले भने, ‘तर हिमालय क्षेत्रमा हिमतालहरु फुट्ने र नयाँ बन्ने क्रम चलिरहने कुरा हो ।’

त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकस्थित विपद् अध्ययन केन्द्रका निर्देशक वसन्तराज अधिकारी पनि शुक्रबारको घटनाको एउटा कारण हिमालय क्षेत्रमा तापक्रम वृद्धि पनि भएकाले यो जलवायु परिवर्तनसँग प्रत्यक्ष जोडिने बताउँछन् । उनले अगाडि भने, ‘हिमालय क्षेत्रको तापक्रम वृद्धि असामान्य देखिएकाले यसतर्फ ध्यान दिनुपर्ने स्थिति छ ।’

साना र मध्यम हिमतालको अध्ययन जरुरी

जानकारहरुका अनुसार, शुक्रबारको घटनाले सानो हिमतालमा परेको क्षतिले पनि कति प्रभाव पार्नसक्छ भन्ने देखाउँदै थप खतराको संकेत त गरेको छ नै, साथै हिमतालहरुको वृहत अध्ययन गर्नुपर्ने आवश्यकता पनि देखाएको छ ।

इसिमोडको अध्ययन अनुसार सन् २०२२ सम्ममा नेपालमा ३ हजार ६२३ हिमतालहरु थिए । तर जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका हिमनदी पग्लिने क्रम बढ्दा हिमतालको संख्या बढ्दो क्रममा रहेको जलवायु परिवर्तन विज्ञ डा. सुदीप ठकुरी बताउँछन् ।

‘त्रिभुवन विश्वविद्यालय र चाइनिज एकेडेमी अफ साइन्सको इन्स्टिच्युट अफ तिब्बेतियन प्लेटुले संयुक्त रुपमा गरेको अध्ययनमा पनि २० वर्षको अवधिमा हिमतालको औसत क्षेत्रफल २५ प्रशितले बढेको देखाएको थियो’, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक समेत रहेका ठकुरी भन्छन्, ‘यसले जवलायु परिवर्तन र तापक्रम वृद्धिको असर देखाउँछ ।’

भूगर्भशास्त्री डा. अधिकारी अब स्थलगत अध्ययन जरुरी देखिएको बताउँछन् । अहिलेसम्म जतिपनि हिमनदीबारे अध्ययन भएका छन्, मुख्य रुपमा स्याटलाइट तस्वीरहरुमा आधारित छन् । ‘ग्राउण्ड कस्तो छ भनेर सबै ठाउँमा अध्ययन भएको छैन, शुक्रबारको घटनाले पनि त्यसको जरुरत् देखाएको छ’, उनले भने, ‘अर्को कुरा भनेको प्रत्येक वर्ष तालहरु कसरी परिवर्तन भइरहेको छ भन्ने थाहा भएन भने पूर्वसूचना प्रणाली स्थापना गर्न पनि सकिंदैन ।’

नेपालका हिमतालहरु उच्च जोखिममा रहेको कुरा पटकपटक भनिंदै आएकाले मानव बस्ती र संरचनामा पार्ने प्रभावबारे विस्तृतमा अध्ययन हुनुपर्ने उनी बताउँछन् ।

‘अहिले यस्तो प्रविधि विकास भइसकेको छ कि कुनै ताल विस्फोट हुँदा त्यसले कति तलसम्म ? कति क्षेत्रमा विनाश गर्छ भन्ने पूर्वानुमान गर्न सकिन्छ’, अधिकारीले थपे, ‘कति भेलोसिटीमा पानी आउँछ, कति म्याग्निच्यूडमा आउँछ, खोलाको माथि कतिसम्म असर गर्छ भन्ने सबै मोडलिङ गर्न सकिन्छ ।’ त्यसैले विश्वविद्यालयसँग समेत मिलेर अध्ययन गरेर हिमालय क्षेत्रका वस्ती सार्ने वा एकीकृत विकास गर्ने कुरातर्फ ध्यान दिनुपर्ने उनी बताउँछन् ।

विपद् व्यवस्थापन प्राधिकरणका सीईओ पोखरेल पनि अधिकारीको भनाइसँग सहमत छन् । भन्छन्, ‘क्षति र नोक्सानी कति हुनसक्छ भन्ने कुरा निकालेर जोखिम व्यवस्थापन गर्ने, निराकरणका उपाय गर्ने र पूर्वसूचना प्रणाली जडान गर्नेमा जोड दिनुपर्छ ।’

कतिपय विज्ञहरु भने यस्तो अध्ययन र क्षति न्यूनीकरणको काम एकदमै खर्चिलो हुने भएकाले नेपालले कोप जस्ता विश्व जलवायु सम्मेलनमा यो विषय प्राथमिकताका साथ उठाउनुपर्ने बताउँछन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?