+
+

परराष्ट्रमन्त्रीको भारत भ्रमण : असहजता बिर्संदै नयाँ चरणमा

परराष्ट्रमन्त्री देउवाको भारत भ्रमणलाई दिल्लीले उच्च महत्व दिएको छ । कूटनीतिक स्रोतका भनाइमा, ‘मोदी र जयशंकरसँगको भेटका क्रममा जस्तो माहोल देखियो, त्यसले ओलीसँगको विगतको असहजता बिर्संदै सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको आभास हुन्छ ।’

जनार्दन बराल जनार्दन बराल
२०८१ भदौ ४ गते २०:२३

४ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुधारमा सफल देखिएको छ ।

डा.राणा आफ्नो पहिलो विदेश भ्रमणका रुपमा राणा आइतबार भारतको नयाँ दिल्ली पुगेकी थिइन् । केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि नेपालका परराष्ट्र मन्त्रीले गरेको पहिलो भारत थियो ।

सोमबार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरिन् भने विदेशमन्त्री डा.एस. जयशंकरसँग दुईपक्षीय वार्ता गरेकी थिइन् । यी दुवै भेटघाटलाई भारतले निकै महत्व दिएको वार्तामा सहभागी एक नेपाली अधिकारीले बताए ।

खासगरी केपी शर्मा ओली नेतृत्वमा नयाँ गठबन्धन सरकार बनेपछि त्यसप्रति भारतको व्यवहार कस्तो होला भन्ने आम चासोको वातावरणमा यी भेटवार्ताहरु भएका थिए ।

‘तर, डा. राणाले मोदी र जयशंकरसँग गरेका भेटघाटका क्रममा जस्तो माहोल देखियो, त्यसले विगतमा ओलीसँगको विगतको असहजता बिर्सदै सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको आभास हुन्छ’, ती नेपाली अधिकारीले भने, ‘नयाँ परिस्थितिमा नयाँ सरकारलाई विश्वास गरेर अघि बढ्ने मनस्थितिमा भारत सरकार देखिन्छ ।’

परराष्ट्रमन्त्री राणाको भारत भ्रमण सांकेतिक तथा उपलब्धि दुवैका हिसाबले निकै सफल भएको नेपालका लागि पूर्वभारतीय राजदूत रणजीत रायले बताए ।

‘उहाँले भारतको उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्नुभयो, यही अवसरमा अन्य केही महत्वपूर्ण उपलब्धिहरु पनि भएका छन्’, पूर्वराजदूत रायले अनलाइनखबरसँग भने ।

यही अवसरमा भारतले थप २५१ मेगावाट विद्युत आयातको अनुमति दिंदा नेपालबाट करिब एक हजार मेगावाट विद्युत् निर्यातको बाटो खुल्नु उपलब्धिपूर्ण भएको उनको भनाइ थियो ।

‘साथै, नेपाल क्रिकेट टिमलाई भारतमा तालिम तथा क्षमता विकासका अवसर प्रदान गर्ने जुन सहमति भएको छ, त्यसलाई दुवै देशका क्रिकेटप्रेमी खासगरी युवाहरुले स्वागत गर्नेछन्’, पूर्वराजदूत रायले भने ।

दुई वर्ष अघि २०७९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय जनता पार्टीको निमन्त्रणमा भारत भ्रमणमा जाँदा उनले प्रधानमन्त्री मोदीसँग भेट गर्न पाएका थिएनन् । भेटवार्ताका लागि उनले प्रयास गरे पनि भारतीय प्रधानमन्त्रीको कार्यालयबाट ‘समय ‘नमिलेको’ जवाफ आएको थियो ।

परराष्ट्रमन्त्री राणा नेपालबाट दिल्ली प्रस्थान गर्दासम्म भारतीय विदेशमन्त्री जयशंकरसँगको भेट तय भएको थियो भने प्रधानमन्त्री मोदीसँगको भेटघाट तय भइसकेको थिएन । तर, प्रधानमन्त्री मोदीले परराष्ट्रमन्त्री राणालाई महत्वका साथ भेटे ।

‘अहिले परराष्ट्रमन्त्रीलाई मोदीले निकै महत्व दिएको देखियो, डा. राणासँगको भेटघाटका विषयमा प्रधानमन्त्री कार्यालयले नै विज्ञप्ति निकाल्नुले पनि यो स्पष्ट हुन्छ’, दिल्लीस्थित कुटनीतिक स्रोतले अनलाइनखबरलाई भन्यो ।

त्यसैगरी दुई देशका मन्त्रीबीचको बैठकमा भारतीय विदेशमन्त्री जयशंकरले राजनीतिक तहमा समझदारी भएपछि सानातिना समस्या समाधान हुँदै जाने धारणा राखेका थिए ।

‘हामीले सानातिना समस्या विगतमा पनि समाधान गर्दै आएका छौं, भविष्यमा पनि समाधान हुँदै जानेछन्, राजनीतिक तहमा हुने समझदारी महत्वपूर्ण छ’, भारतीय विदेशमन्त्री डा.जयशंकरलाई उधृत गर्दै एक कुटनीतिक स्रोतले भन्यो ।

परराष्ट्रमन्त्रीको भारत भ्रमण दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन निकै महत्वपूर्ण भएको भारतका लागि नेपालका कार्यबाहक राजदूत डा. सुरेन्द्र थापाले अनलाइनखबरलाई बताए ।

भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीसँग भएका दुवै भेटघाट अत्यन्तै सकारात्मक माहोलमा सम्पन्न भएको कार्यबाहक राजदूत थापाको भनाइ थियो ।

पछिल्लो समय नेपाल र भारतका बीच नियमित रुपमा उच्चस्तरीय भ्रमण भइरहेको र परराष्ट्रमन्त्रीको भ्रमण त्यसैको निरन्तरता भएको उनको भनाइ छ । ‘केही समयअघि मात्रै भारतका विदेश सचिव बिक्रम मिस्रीले नेपाल भ्रमण गर्नुभएको थियो । यस्ता उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझै मजबुत बनाउन मद्दत गर्ने छन्’, कार्यबाहक राजदूत डा.थापाले भने ।

भारतले आफ्नो विदेश नीतिको प्रमुख अंगका रुपमा छिमेक पहिलो (नेवरहुड फर्स्ट) नीति अँगाल्दै आएको छ । भारतको उच्च नेतृत्वले नेपाल आफ्नो प्राथमिकताको मुलुक भएको बताउने पनि गरेको छ ।

यसपटक पनि प्रधानमन्त्री तथा विदेशमन्त्री दुवैले भारतको नेवरहुड फर्स्ट नीतिमा नेपाल मुख्य प्राथमिकताको मुलुक रहेको भनाइ दोहोर्‍याएका थिए ।

नेपालले पनि छिमेकीहरुको सम्बन्धलाई प्राथमिता दिने नीति लिएको छ । ‘छिमेकी मुलुकहरु नेपालको विदेश नीतिको पनि पहिलो प्राथमिकतामा पर्छन् । त्यहीअनुरुप यो भ्रमण भएको हो’, डा. थापाले भने ।

परराष्ट्रमन्त्रीसँगको भेटमा भारतीय प्रधानमन्त्री मोदीले सरकार प्रमुखको नयाँ जिम्मेवारीका लागि प्रधानमन्त्री ओलीलाई पुनः शुभकामना सन्देश पठाएको र उपयुक्त समय निकालेर नेपालको भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि थापाले जानकारी दिए ।

‘नेपाल पानी, पर्यावरण र पर्यटनमा अत्यन्तै सम्भावना भएको मुलुक भएको मोदीको भनाइ थियो । नेपालको विकासमा सहकार्य गर्न भारत सधैं इच्छुक रहेको उहाँको भनाइ थियो’, डा.थापाले भने ।

यो सद्भावना भ्रमण मात्रै भएकाले दुई देशका राजीतिक नेतृत्वबीच भएको संवाद तथा सहमतिहरुमा तत्कालै हस्ताक्षर हुनेछैन । तर, अहिले वार्ताका क्रममा बनेका सहमतिहरु विस्तारै दुईदेशीय संयन्त्रहरुले कार्यान्वयन गर्दै जाने कार्यबाहक राजदूत डा. थापाले बताए ।

मोदीलाई स्वर्गद्वारी भ्रमणको निम्तो

परराष्ट्रमन्त्री डा. राणाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका क्रममा स्वर्गद्वारी क्षेत्रको भ्रमण गर्न आग्रह गरेकी थिइन् । ‘नेपालको प्युठान जिल्लामा हरेको स्वर्गद्वारी निकै महत्वपूर्ण तीर्थस्थल हो । यहाँले विगतमा मुक्तिनाथ दर्शन गर्नुभयो । अबको भ्रमाणमा स्वर्गद्वारी भ्रमण गर्नु राम्रो हुन्छ,’ मन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीलाई भनेको कुरा उद्घृत गर्दै परराष्ट्र स्रोतले बतायो ।

त्यसको जवाफमा भारतीय प्रधानमन्त्री मोदीले आफूलाई स्वर्गद्वारी जाने इच्छा रहेको बताएका थिए । तर, अबको भ्रमणमा नै जाने कि नजाने भन्ने विषयमा भने उनले केही भनेनन् ।

के के भए सहमति ?

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच व्यापार तथा वारवहनसम्बन्धमा उत्पन्न समस्यालाई समाधान गर्ने दिशमा महत्वपूर्ण संवाद भएको वार्तामा सहभागी एक नेपाली अधिकारीले बताए । यस विषयमा आगामी अक्टोबरको पहिलो साता बस्ने अन्तरसरकारी समिति (आईजीसी) को बैठकमा थप थलफल हुनेछ ।

त्यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अघि बढाउने सन्दर्भमा पनि आवश्यक सहजीकरण गर्ने सहमति दुई मन्त्रीबीच भएको स्रोतको भनाइ छ ।

‘यो परियोजना धेरै लामो समयदेखि अड्कियो । अब यसलाई अघि बढाउन राजनीतिक तहबाट हुनुपर्ने काम राजनीतिक तहबाटै गर्ने र प्रशासनिक तहबाट गर्नुुपर्ने तयारीलाई अघि बढाउने सहमति दुई मन्त्रीबीच भएको छ’, स्रोतले भन्यो ।

खासगरी यो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का विषयमा दुई मुलुकबीच सहमति बन्न सकेको छैन ।

यसपटक परराष्ट्रमन्त्री राणाको भ्रमणमा क्रममा खेल कुटनीतिले पनि प्राथमिकता पाएको छ । दुई देशका परराष्ट्रमन्त्रीबीच भारतले नेपालमा खेल ग्राम तथा क्रिकेट एकेडेमी बनाइदिने विषयमा छलफल भएको स्रोतको भनाइ छ ।

अहिले भारतले बेंगलुरुस्थित क्रिकेट एकेडेमीमा नेपाली राष्ट्रिय टोलीलाई तालीमको अवसर उपलब्ध गराएको छ । वार्ताका क्रममा भारतीय परराष्ट्रमन्त्री एस जयसंकरले पछिल्लो समय नेपालले क्रिकेटमा गरेको प्रगति उदाहरणीय रहेको बताएका थिए ।

‘हामी दक्षिण एसियामै क्रिकेटको स्तर बढाउने अभियानमा छौं, त्यसमा नेपाल पनि सँगै छ । नेपाली खेलाडीहरुलाई तालिमको अवसर प्रदान गर्ने तथा पूर्वाधारहरु निर्माणमा सहयोग गर्ने लगायत विषयमा आवश्यकताअनुसार सहयोग गर्ने छौं’, भारतीय परराष्ट्रमन्त्री जयशंकरलाई उधृत गर्दै एक कुटनीतिक स्रोतले भन्यो ।

साथै, दुई देशको सीमानाकामा सडक, पुल, प्रयोगशालालगायत पूर्वाधार निर्माणमा पनि दुई देशबीचको सहकार्यमा जोड दिने विषयमा कुराकानी भएको थियो ।

‘खासगरी सीमा नाकामा गुणस्तरीय प्रयोगशाखा नहुँदा नेपाली कृषि उपज भारत निर्यात गर्न गाह्रो भइरहेको छ, यो समस्या समाधानका लागि पहल गर्ने सहमति भएको छ’, स्रोतको भनाइ थियो ।

सीमा व्यवस्थापनको कुरा उठ्यो, लिपुलेकको उठेन

दुई परराष्ट्रमन्त्रीबीचको भेटघाटमा दुई मुलुकबीचका सीमा व्यवस्थापनका विषयमा कुराकानी भएको थियो । सबैभन्दा लामो सीमा भारतसँग रहेको नेपालका सीमासम्बन्धी विभिन्न मुद्दा छन् । ती विषयलाई विस्तारै समाधान गर्दै जाने सहमति दुई मन्त्रीबीच भएको थियो ।

तर, कालापानी–लिपुलेकका विषयले भने वैठकमा प्रवेश नै नपाएको स्रोतले जानकारी दियो । ‘यो दुई मुलुकका सरकारबीच सौहार्दता बढाउने उद्देश्यले गरिएको भ्रमण भएकाले अहिले समाधान पनि ननिस्कने तर दूरी बढ्ने विषयलाई कोट्याउने काम भएन’, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

भारतको चारदिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणा मंगलबारदेखि भने आफ्नो उपचारको काममा लागेकी छन् ।

यसबीचमा भारतमा रहेका लगानीकर्ता, विभिन्न क्षेत्रमा क्रियाशील नेपालीहरु र संघसंस्थालाई भेट्ने कार्यक्रम रहेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

लेखकको बारेमा
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?