+

टेबल टेनिस संघमा चुनावको अघिल्लो दिनसम्मै विवाद

२०८१ भदौ  ७ गते २१:०४ २०८१ भदौ ७ गते २१:०४
टेबल टेनिस संघमा चुनावको अघिल्लो दिनसम्मै विवाद

७ भदौ, काठामाडौं। अखिल नेपाल टेबल टेनिस संघको विवाद चर्किएको छ । यसले भोलि शनिबारका लागि तय भएको निर्वाचन समेत विवादमा पर्ने जोखिम बढेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले बनाएको चुनावी समितिले भोलि शनिबारका लागि चुनाव राखेको छ ।

संघको तदर्थ समितिले चुनाव गराउन नसकेको भन्दै राखेपले खेलकुद विकास विभाग प्रमुख सरोजकुमार पोखरेलको नेतृत्वमा संघसंस्था शाखा प्रमुख चन्द्रकुमार राई र कानुन शाखा प्रमुख नारायणराज अर्याल रहेको चुनावी समिति गठन भएको थियो । समितिले ८ भदौ (भोलि शनिबार) निर्वाचन तय गर्दै १५ साउनमा सूचना निकालेको थियो ।

तर चुनावको अघिल्लो दिनसम्म पनि संघका तदर्थ समितिका संयोजक तथा वरिष्ठ सहायक संयोजक चुनावबारे कुनै खबर नभएको बताएका छन् । वरिष्ठ सहायक संयोजक सुदील शाही भन्छन्, ‘चुनावबारे हामीलाई पत्राचार भएको छैन । यो चुनावले वैधानिकता पाउँदैन ।’

चुनावबारे थाहा नभएको बताए पनि यो समूहले ५ भदौमा निर्वाचन रोक्न माग गर्दै राखेपमा भने निवेदन दिएको थियो । ‘हामीले राखेपमा बुधबार (भदौ ५)मा निर्वाचन रोकी पाउँ भन्ने निवेदन समेत दिएर आएका छौं’, उनले भने, ‘हामीले यो निर्वाचन कदापी मान्य छैन। म लगायत संयोजक चतुरानन्दराज वैद्य पक्ष यो चुनावको विपक्षमा छौं ।’

तदर्थ समितिकै सहायक संयोजक विजेन्द्र हमाल पक्ष भने चुनावको समर्थनमा देखिएको छ । सुदील शाही स्वयम्‌ले चुनाव गर्नुपर्छ भन्ने पत्रमा हस्ताक्षर गरेको हमाल बताउँछन् ।

रोचक के हो माओवादी नेतृत्वको सरकार रहँदासम्म हमाल शाही पक्ष चुनावको पक्षमा थिए भने हमाल पक्ष चुनावको विपक्षमा छ । सरकार फेरिएसँगै उनीहरुको पोजिसन पनि फेरियो ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व कांग्रेसले लिएको छ । यससँगै शाही चुनावको विपक्षमा रहेका चतुरानन्द राजवैद्यसँग मिलेका छन् ।

विजेन्द्र हमाल भने जसरी पनि चुनाव गराउने बताउँछन् । २०७४ सालमा चुनाव अवरुद्ध भएर अदालतमा हालेको मुद्दा र चुनाव दुवै आफूले जितेको भन्दै उनले भने, ‘तर त्यसलाई नमानेर चतुरानन्दराज वैद्यले एकलौटी संघ चलाइरहनु भएको छ ।’

उनले सहायक संयोजकका रुपमा चुनावका लागि काठमाडौं आउन प्रदेश तथा जिल्लामा पत्राचार समेत गरेका छन् । संयोजक चतुरानन्द वैद्य र वरिष्ठ संयोजक सुदिल शाहीले भने त्यसमा आपत्ति जनाएका छन् ।

विजेन्द्र भने पूर्ण बैठकले नै हस्ताक्षर र पत्राचार गर्ने अधिकार सहायक संयोजकलाई दिएको दाबी गर्छन् । ‘तदर्थ समितिको पूर्ण बैठकले हामी तीनै जनाले पत्र काट्दा वैधानिक हुने भनिएको छ। त्यसैले संयोजक र वरिष्ठ संयोजकको अनुपस्थितिमा मैले पत्र काटेको हुँ ।’

राखेपले बनाएको चुनावी समितिका संयोजक सरोजकुमार पोखरेल पनि भोलिको चुनाव रोक्ने पक्षमा छैनन् । आन्तरिक विवादका कारण कुनै पनि संघलाई तदर्थ समितिमा छोड्न नसकिने भन्दै उनले नवीकरणका लागि चुनाव गर्न लागिएको बताए ।

चुनाव टेबल टेनिस संघ राष्ट्रिय खेलकुद परिषद
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय