+
+

रवि लामिछानेसँग संसदीय समितिमा सोधपुछ

सहकारीको रकम अपचालन गरेर गोर्खा मिडियामा लगिएको अवधिमा लामिछाने प्रबन्ध निर्देशकका साथै सञ्चालक थिए । तर संसदीय विशेष समितिले गरेको सोधपुछका क्रममा उनले अधिकांश प्रश्नमा ‘मलाई थाहा छैन’ भनेका छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ भदौ ७ गते २१:०४

७ भदौ, काठमाडौं । संसदीय छानबिन विशेष समितिले सहकारीको रकम अपचलनबारे पूर्वगृहमन्त्री रवि लामिछानेसँग लामो समय सोधपुछ गरेको छ ।

समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेसँग ५० भन्दा बढी प्रश्न गरेको थियो, सबैमा लामिछानेले इन्कारी बयान दिएका छन् ।

लामिछाने २३ फागुन २०८० मा उपप्रधान तथा गृहमन्त्री भएपछि नै सहकारीको रकम अपचालनमा उनको संलग्नताको मुद्दा संसदमा प्रवेश भएको थियो । तत्कालीन प्रतिपक्षी दल नेपाली कांग्रेसको मागअनुसार बनेको समितिले लामिछानेसँग गरेको सोधपुछलाई महत्वका साथ हेरिएको छ ।

प्रहरीले अहिलेसम्म गरेको अनुसन्धानमा खुले अनुसार जीबी राई र उनको समूहले सञ्चालन गरेका सहकारीहरुबाट अर्बभन्दा बढी रकम टीभीमा गएको खुलेको छ । असार २०७९ मा राजनीतिमा आउनुअघि लामिछाने गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकका साथै सञ्चालक (१५ प्रतिशत) थिए ।

समिति सचिवालयका अनुसार गोरखा मिडिया नेटवर्कमा गएको सहकारीको रकम, लामिछानेको नाममा भएको रकम डिपोजिट र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईसँगको सम्बन्ध/सहकार्यका वरिपरि प्रश्नहरुको सूची बनाएको थियो ।

सोधपुछका क्रममा लामिछानेले भने इन्कारी बयान दिएका छन् । आफूले ‘गलत नियतका साथ केही नगरेको’ बताएका छन् । ‘संस्था (गोरखा मिडिया नेटवर्क प्रालि) मा प्रवन्ध निर्देशकको रुपमा सामान्य दैनानिदिन प्रशासनिक हुने कार्यमा संलग्न थिएँ । कार्यकारी प्रमुखको रुपमा आर्थिक स्रोत जुटाउने कार्यमा जिबीले गर्ने गरेको हो’ उनले भनेका छन्, ‘यसमा कहाँबाट कति रकम कसरी जम्मा भयो भनने कुरा जिबी राई नै थाहा छ, मलाई थाहा हुने कुरा भएन ।’

पोखराको सुर्यदर्शन, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा गएको रकम, लामिछानेको नाममा खडा गरिएको ऋण र लामिछानेको नाममा प्रवाह भएको भनिएका रकमको सम्बन्धमा समेत आफ्नो हस्ताक्षर, आफ्नो कागजात, नागरिकतासहितका विवरण समावेश नरहेको लामिछानेको दाबी रहेको छ ।

सांसदहरुले यी सहकारीबाट रकम प्रवाह भएको विवरणबारे एक/एक गरी प्रश्न सोधेका थिए । कुनै पनि प्रश्नमा लामिछानेले आफ्नो कागजात नमिल्ने दाबी गरेका हुन् ।

समिति सभापति सूर्य थापाका अनुसार लामिछानेले आफूमाथि लागेका आरोपहरुबारे प्रष्ट्याउने प्रयास गरेका छन् ।

‘उहाँ (लामिछाने)ले सहकारी र गोरखा मिडियासँग आफ्नो सम्बन्धका बारेमा बताउनुभएको छ । जिबी राईसँगको चिनजानको बारेमा, जिबी राइको व्यवसायीक संलग्नताको बारेमा पनि बताउनुभएको छ’ सभापति थापाले भने ।

बिभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्क प्रालिको नाममा गएको रकमबारे सोधिएको प्रश्नमा पनि लामिछानेले आफूले त्यसको जिम्मेवारी नलिने भनेका छन् ।

गोरखा मिडिया नेटवर्क प्रालिमा आफूले २५ प्रतिशत गुड विल सेयर पाएको उल्लेख गर्दै लामिछानेले ‘समाचार कक्षमा भएको कार्य बाहेकमा आफूले जिम्मेवारी’ नलिने बताएका हुन् ।

गोरखा मिडिया नेटवर्क प्रालिमा भएको समाचार कक्ष बाहिरको सकारात्मक र नकारात्मक दुवै कामको जिम्मा आफूले नलिने उनले सोधपुछका क्रममा बताएका हुन् ।

लामिछानेभन्दा अगाडि शुक्रबार नै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग सोधपुछ गरेको थियो । ‘उहाँ (छविलाल जोशी)ले आफ्नो संलग्नताको स्थिति स्पष्ट गर्नुभएको छ’ सभापति थापाले जानकारी दिए ।

सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नता रहेको भन्दै संसदमा प्रश्न उठेपछि गत जेठ १५ गते प्रतिनिधि सभाले संसदीय छानबिन समिति गठन भएको थियो । एमालेका सूर्य थापाको नेतृत्वमा गठित समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्रप्रसाद बडू, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान छन् ।

समय फरक परेकोले सच्याइएको छ । – स.

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?