+
+

इमर्जिङ एशिया बैंकिङमा शाइन रेसुंगालाई बेस्ट बैंक अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ८ गते ९:५८

८ भदौ, बुटवल । इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक सहित तीनवटा अवार्ड जितेको छ ।

इण्डियन च्याम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजना गरेको ‘बैंकिङ कनक्लेभ २०२४’ मा शाइन रेसुंगाले नेपालबाट ‘बेस्ट बैंक’ सहित बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटोगोरीमा पनि उत्कृष्ट हुंँदै तीन अवार्ड जित्न सफल भएको हो ।

अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायतका देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए ।

शुक्रबार नयाँ दिल्लीमा आयोजित समारोहमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र प्रमुख वित्त अधिकृत भुवन पन्थले अवार्ड ग्रहण गरेका थिए ।

नेपालबाटै एनआईसी एशिया बैंकले बेस्ट पर्फमेन्स अन डिजिटल बैंकिङ शीर्षकमा र गरिमा विकास बैंकले बेस्ट पर्फमेन्स अन एसेट म्यानेजमेन्ट (सम्पत्ति व्यवस्थापन) क्याटोगोरीमा अवार्ड जितेका छन् ।

इण्डियन च्याम्बर अफ कमर्सले गत वर्षदेखि वितरण गर्न सुरु गरेको यो अवार्डमा शाइन रेसुंगाले पहिलोपटकमै बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरीमा उत्कृष्ट हुँदै अवार्ड जितेको थियो ।

अवार्डका लागि इण्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सुचक निर्धारण गरेको थियो । जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी,सञ्चालन खर्च,कर पछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायतका सुचकहरुमा उत्कृष्ट भएको थियो ।

बैंकले यसअघि न्यु विजनेस एज प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा दुईपटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको छ ।

स्थापनाकालदेखि नै इथिकल बैंकिङको मूल्य मान्यतामा आर्थिक सुशासन कायम गर्दै अघि बढेकाले निरन्तर अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका अवार्डहरु जित्न सफल भएको र यसबाट बैंकको उचाइ थप माथि पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

‘अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक, कर्मचारी, निक्षेपकर्ता, कर्जा लिएका सर्वसाधारणदेखि उद्योगी व्यवसायी सबैको योगदान र सहयोग छ,’ पौडेलले भने ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो ।

८ अर्ब अधिकृत पुँजी र ४ अर्ब ७३ करोड चुक्ता पुँजी भएको बैंकका लुम्बिनीमा ७२ सहित देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटीएम सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?