+

साफ यु-२० च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा आज भुटानसँग खेल्दै

२०८१ भदौ  ९ गते ६:५६ २०८१ भदौ ९ गते ६:५६
साफ यु-२० च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा आज भुटानसँग खेल्दै

९ भदौ, काठमाडौं । घरेलु मैदानमा जारी साफ यु-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य बनाएको नेपाल समूह ए मा दुवै खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । नेपालले पहिलो खेलमा श्रीलंकालाई १-० ले दोस्रो खेलमा बंगलादेशलाई २-१ ले पराजित गरेको थियो ।

उता भुटान भने समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । पहिलो खेलमा साविक विजेता भारतसँग १-० ले पराजित भए पनि दोस्रो खेलमा माल्दिभ्सलाई २-१ ले पराजित गरेपछि भुटान पनि भारतसँगै सेमिफाइनल पुगेको हो ।

समूह चरणमा नेपाल अपराजित रहँदा तीन गोल गरेको थियो भने एक गोल व्यहोरेको थियो । पहिलो खेलमा नेपालले श्रीलंकालाई पराजित गर्दा निराजन धामीले निर्णायक गोल गरेका थिए ।

दोस्रो खेलमा बंगलादेशविरुद्ध समिर तामाङले नेपालका लागि गोल गरेका थिए भने एक आत्मघाती गोल उपहार पाएको थियो ।

भुटानले दुई गोल गर्दा दुई गोल नै व्यहोरेको छ । भुटानी खेलाडीले दुवै खेलमा रातो कार्ड पाएको थियो । दुवै खेलमा भुटानका एक/एक खेलाडीले रातो कार्ड पाएका थिए ।

नेपाल र भुटान तेस्रो पटक सेमिफाइनल खेल्दै

सन् २०१५ मा नेपालबाट साफ यु-१९ च्याम्पियनसिपको नामबाट सुरु भएको यस प्रतियोगिता कहिले यु-१८ र कहिले यु-१९ को नामबाट पनि भएको छ ।

सुरुबती दुई संस्करणमा च्याम्पियन बनेको नेपाल तेस्रोपटक सेमिफाइनल खेल्दैछ । गत वर्ष घरेलु मैदानमै भएको साफ यु-१९ च्याम्पियनसिपमा भने नेपाल सेमिफाइनलमै पराजित भएको थियो । त्यसअघि पहिलो संस्करणमा नेपालले सेमिफाइनल खेलेको थियो ।

सन् २०१५ मा साफ यु-१९ को नाममा काठमाडौंबाटै सुरु भएको प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा भारतलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।

सन् २०१७ मा साफ यु-१८ को नामबाट भुटानमा भएको प्रतियोगितामा राउण्ड रोविनका आधारमा खेलाइएको थियो । त्यसमा नेपाल शीर्ष स्थानमा रहेर च्याम्पियन बनेको थियो ।

सन् २०१९ मा नेपालमै भएको साफ यु-१८ च्याम्पियनसिपमा भने नेपाल समूह चरणबाट बाहिरिएको थियो । यस्तै २०२२ मा भारतमा भएको साफ यु-२० च्याम्पियनसिप राउण्ड रोविनमा खेलाइएको थियो र नेपाल तेस्रो भएको थियो ।

घरेलु मैदानमा गत वर्ष पनि सेमिफाइनल पुगेको नेपाल भारतसँग पेनाल्टीसुटआउटमा पराजित हुँदै फाइनल पुग्न असफल भएको थियो ।

यसपटक नेपाल त्यो गल्ती दोहोर्‍याउने पक्षमा छैन । त्यसबाट पाठ सिकेको नेपाल भुटानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा छ ।

समूह एमा दुवै खेल जित्दै समूह विजेता बनेपछि नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले सेमिफाइनलमा जो प्रतिद्वन्दी आएपनि फरक नपर्ने बताएका थिए ।

नेपालको लक्ष्य उपाधि जित्ने भएकोले सुरुमा सेमिफाइनलमा ध्यान केन्द्रित गर्ने र त्यो जित्दै फाइनल पुग्ने बताएका थिए । ‘हामीले अझै सुधार गर्नुपर्ने ठाउँ छ । समूह चरणमा भएका गल्ती सच्याउँदै सेमिफाइनलमा राम्रो प्रदर्शन गर्नुपर्छ ।’

यस्तै कप्तान कुशल देउबाले पनि प्रशिक्षकै भनाइमा सहमति जनाउँदै सेमिफाइनलमा अझ राम्रो खेल्नुपर्ने बताएका थिए ।

साफ यु-२०/१९/१८ च्याम्पियनसिपमा भुटान तेस्रोपटक सेमिफाइनल खेल्दैछ । संयोगवस यसअघि दुवैपटक नेपालमै प्रतियोगिता आयोजना हुँदा भुटानले सेमिफाइनल खेलेको थियो । तर, भुटान अहिलेसम्म फाइनल भने पुग्न सकेको छैन । यसपटक भुटान नयाँ इतिहास रच्दै फाइनल पुग्ने लक्ष्यमा छ ।

पछिल्लो समय भुटानले उमेर समूहको फुटबलमा राम्रो प्रगति गर्दै आइरहेको छ । भुटानका कप्तान पेमा जाङ्पोले प्रतियोगिता सुरु हुनुअघि नै भुटानको लक्ष्य ठूलो रहेको बताएका थिए । उनले भुटान यसपटक सहभागिता जनाउन मात्र नभई इतिहाच रच्न आएको बताएका थिए ।

उमेर समूहमा नेपाल र भुटानको विगत

नेपाल र भुटानबीच साफ यु-२० मा अहिलेसम्म तीनपटक भेट भएको छ । जसमा भुटानले दुई खेल जित्दा नेपालले एक खेल जितेको छ ।

सन् २०१५ मा भएको पहिलो संस्करणको समूह चरणमा विमल घर्ती मगरको ह्याट्रिकमा नेपालले भुटानलाई ३-१ ले पराजित गरेको थियो । तर, २०१७ मा भुटानमै भएको प्रतियोगितामा नेपाल भुटानसँग १-० ले पराजित भएको थियो ।

तर, राउण्ड रोविनका आधारमा भएको प्रतियोगितामा नेपालले त्यसपछि लगातार तीन खेल जित्दै शीर्ष स्थानमा रहेर च्याम्पियन बनेको थियो ।

सन् २०१९ मा नेपालमै भएको तेस्रो संस्करणमा भने नपाल समूह चरणमै भुटानसँग ३-० ले पराजित भएको थियो । भुटानसँग कुनै पनि नेपाली टिमले व्यहोरेको यो अहिलेसम्मकै ठूलो हार हो ।

नेपाली फुटबल साफ यु-२० च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय