+
+

धनुषामा मध्यराति टिपरले छाडेको साँढेहरु मृत र घाइते अवस्थामा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १९:४५

९ भदौ, जनकपुरधाम । धनुषामा टिपरमा ल्याएर छाडिएको अवस्थामा एउटा साँढे मृत र दुईवटा घाइते फेला परेका छन् । धनुषाको मिथिला नगरपालिका २ नक्टाझिज स्थित बसही खोलाको किनारमा आइतबार बिहान तीनवटा साँढे छाडिएको अवस्थामा फेला परेको हो ।

स्थानीय सञ्चारकर्मी समेत रहेका विनोद महतोका अनुसार स्थानीय खेलमैदानमा खेल खेल्न पुगेका युवाहरुले साँढेलाई देखेका थिए । त्यसमा एउटा मरिसकेका थिए भने दुईवटा अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरलाई खबर गरेका थिए ।

प्रहरी टोली घटनास्थल पुगेर फोटो खिचेर फर्किएको थियो । त्यसपछि प्रहरीले कुनैपनि कदम नचालेको स्थानीयले गुनासो गरेका छन् ।

मिथिला नगरपालिकाको पशु शाखाका चिकित्सक पुगेर उपचार गरेपछि दुईवटा साँढे होसमा आएको महतोले बताए । स्थानीय हिमायलय युवा क्लवका पदाधिकारीहरुले पानी खुवाएका छन् ।

स्थानीय सिसीटीभी क्यामेरामा मध्यराति जनकपुर तर्फबाट टिपरमा राखेर साँढे ल्याएको देखिएको छ । चिकित्सकले साँढेलाई नशालु सुई लगाएको वा विषालु पदार्थ खुवाएको आँकलन गरेका छन् ।

साँढेलाई यसरी निर्दयतापूर्वक घाइते र मारेर फाल्नेलाई पत्ता लगाएर कारबाही गर्न स्थानीयले माग गरेका छन् । यता इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले फुटेजको आधारमा साँढे फाल्नेको खोजी भइरहेको बताएको छ ।

‘स्थानीयले उपलब्ध गराएको सिसीटिभी फुजेट जिल्ला पठाएर फाल्ने टिपरको खोजी भइरहेको छ । नम्बर स्पष्ट नबुझिएर अलि गाह्रो भएको छ’ इप्रकाका प्रहरी निरीक्षक सोनु साहले भने ।

दुई दिनअघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–७ जलाद खोलामा मरणासन्न हुने गरी कुटपिट गम्भीर घाइते अवस्थामा दुईवटा साँढे फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?