+

पेनाल्टी सुटआउटका नायक जियारथ

२०८१ भदौ  ९ गते २०:३१ २०८१ भदौ ९ गते २०:३१
पेनाल्टी सुटआउटका नायक जियारथ

९ भदौ, काठमाडौं । पेनाल्टी सुटआउटमा अक्सर नायक बन्ने अवसर गोलकिपरलाई नै हुन्छ । गोलकिपरले कस्तो प्रदर्शन गर्छ त्यसमै पेनाल्टी सुटआउटको नतिजा निर्णायक बन्छ ।

साफ यु-२० च्याम्पियनसिप अन्तर्गत आइतबार भएको पहिलो सेमिफाइनलमा नेपालका गोलकिपर जियारथ शेखसामु त्यस्तै अवसर थियो र उनले आफूलाई प्रमाणित पनि गरे ।

उनको प्रदर्शनका कारण नेपाल फाइनलमा पुगेको छ । उनले एक होइन, भुटानी खेलाडीको दुई पेनाल्टी बचाए अनि आफैँले पनि निर्णायक पेनाल्टी गोल गरे ।

जियारथ शेखले शानदार प्रदर्शन गरेपछि नेपालले भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुगेको थियो । एन्फा कम्प्लेक्सा सतदोबाटोमा भुटानले ५६ औं मिनेटमा जेत्सुन दोर्जीको गोलमा अग्रता लिएको थियो । नेपाली डिफेण्डरले क्लियर गर्न नसकेको बलमा गोल गर्दै उनले भुटानलाई अग्रता दिलाएका थिए ।

तर ७६ औं मिनेटमा किन्जाङ तेन्जिम दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेपछि भुटान दश खेलाडीमा सीमित भयो । नेपालका सविन घिमिरेलाई फल गरेपछि किन्जाङले दोस्रो पहेँलो कार्डसहित रातो कार्ड सामना गरेका हुन् । त्यसमै प्राप्त फ्रिकिक सिमान्तले लक्षु थापालाई सर्ट पाए दिए ।

लक्षुले हल्का बल अघि बढाउदै मैदानको मध्य भाग नजिकबाट भुटानी बक्समा लामो प्रहार गरे । त्यसैमा निराजन धामीले ब्याक हेड मार्फत गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याए । त्यसपछि दुवै टोलीले विजयी गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेनन् ।

निर्धारित समयपछि अतिरिक्त समय थप नगरी खेल सिधै पेनाल्टी सुटआउटमा पुग्यो ।

जहाँ नेपालका लागि पेनाल्टी हानेका चारै खेलाडीले गोल गरे । भुटानका एक खेलाडीले मात्र गोल गर्न सफल भए । नेपालका लागि पहिलो पेनाल्टी हानेका राम थापाले गोल गर्दै अग्रता दिलाए । भुटानका लागि पहिलो पेनाल्टी हानेका जेत्सुन दोर्जीले पनि सहजै गोल गर्दै १-१ को बराबरी बनाए ।

त्यसपछि नेपालका अविनाश स्याङ्तानले दोस्रो पेनाल्टीमा गोल गरे ।

अब हिरो बन्ने पालो गोलकिपर जियारथको थियो । उनले भुटानका लागि दोस्रो पेनाल्टी हानेका जिग्मे नामग्यालको प्रहारलाई सही जज गर्दै उत्कृष्ट बचाउ गरे ।

त्यसपछि नेपालका लागि तेस्रो पेनाल्टी हानेका सिमान्त थापाले पनि गोल गरेपछि नेपालले ३-१ को अग्रता बनायो । भुटानका लागि उग्यन दोर्जी तेस्रो पेनाल्टी हान्न आए । उनको प्रहार जियाराथले बायाँतर्फ डाइभ हान्नै बचाएपछि नेपाल जितनजिक पुग्यो । यस्तो अवस्थामा कार्यबाहक कप्तानी आर्मब्याण्ड लगाएका गोलकिपर जियाराथ आफैँ नेपालका लागि चौथो पेनाल्टी प्रहार गर्न आए ।

नेपालका रेगुलर कप्तान कुशल देउबा दोस्रो हाफमा रिप्लेस भएपछि जियारथले कप्तानको आर्मब्याण्ड लगाएका थिए । उनले पेनाल्टीलाई गोलमा परिणत गर्दै नेपालको जित सुनिश्चित गरे ।

गत वर्ष काठमाडौंमै भएको साफ यु-१९ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा भारतसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । त्यतिखेर नेपालको कप्तान उनै जियारथ शेख थिए ।

जियारथले दुई पेनाल्टी बचाएपनि नेपालका तीन खेलाडीले पेनाल्टीमा गोल गर्न असफल भएपछि नेपाल भारतसँग ३-२ ले पराजित हुँदै फाइनल पुग्न असफल भएको थियो । त्यसबेला नेपालका लागि कुशल देउवा र अश्विन घोरासैनीले मात्र पेनाल्टीमा गोल गर्दा प्रशान्त लक्सम, लक्षु थापा र विक्रम तामाङले पेनाल्टीमा गोल गर्न सकेनन् ।

त्यसबेला आफै कप्तान हुँदा पराजित हुनुपरेको पीडा जियारथसँग थियो । त्यसैले पनि यस पटक सेमिफाइनलमा हिरो बन्दै भुटानलाई हराउदा जियारथ निकै खुशी देखिए । ‘गत वर्ष मैले दुई पेनाल्टी बचाउँदा पनि हामीले गोल गर्न नसक्दा पराजित भएका थियौँ । त्यो बेला पनि मैले आर्मब्याण्ड लगाएको थिएँ । अहिले जित हात पार्दा पनि मैले आर्मब्याण्ड लगाएको थिएँ । एकदमै खुशी लागेको छ’, उनले भने ।

खेल पेनाल्टी सुटआउटमा पुगेपछि जियारथसँगै नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ र नेपाली टिम आशावादी देखिएको थियो ।

जियारथले पेनाल्टी सुटआउटका लागि यस पटक धेरै प्रशिक्षण गरेको पनि बताए । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले पनि पेनाल्टी सुटआउटमा किपरमाथि विश्वास रहेको बताए । ‘हामीलाई जियारथमाथि विश्वास थियो ।’

अब नेपालले उपाधिका लागि साविक विजेता भारत र बंगलादेशबीच सोमबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आउने बुधबार हुनेछ ।

 

 

जियारथ शेख पेनाल्टी सुटआउट साफ यु-२० च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय