+
+

धेरै कमाउने फिल्म र वितरकलाई क्यूएफएक्सको अवार्ड (सूचीसहित)

योगदान दिने विज्ञापन एजेन्सी पनि पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते २२:४३
फिल्ममार्फत उदाहरणीय कार्य गरेबापत फिल्म ‘बोक्सीको घर’को निर्मात्री केकी अधिकारी अवार्ड ग्रहण गर्दै ।

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले पछिल्लो आर्थिक वर्षमा आफ्नो हलमा धेरै व्यवसाय गर्ने फिल्म र तिनका निर्माता तथा वितरकलाई अवार्ड प्रदान गरेको छ ।

आइतबार होटल सोल्टीमा आयोजित समारोहमा क्यूएफएक्सको विज्ञापनमा योगदान दिने तीन विज्ञापन एजेन्सीलाई पनि अवार्ड दिइयो जसमा एडी रिलिज, म्याक्स मिडिया र अभानी कम्युनिकेसन सोलुसन छन् ।

पछिल्लो वर्ष क्यूएफएक्स चेनमा टिकट विक्रीको आधारमा धेरै कमाउने ५ फिल्म पनि अवार्डबाट पुरस्कृत भए ।

ग्रस कलेक्सनको आधारमा धेरै कमाउने फिल्महरु महाजात्रा, बोक्सीको घर, दिमाग खराब, पुजार सार्की र भष्मे डनलाई अवार्ड प्रदान गरिएको छ । अवार्ड ग्रहण गर्न यी फिल्मका निर्माता, निर्देशक र कलाकार समारोहमा उपस्थित थिए ।

उदाहरणीय कार्य गरेबापत फिल्म ‘बोक्सीको घर’लाई अवार्ड दिइयो । यो सम्मान ग्रहण गर्न अभिनेत्री तथा निर्मात्री केकी अधिकारी आफै मंचमा पुगेकी थिइन् ।

क्यूएफएक्समा धेरै कमाइ गर्ने फिल्मका ५ वितरण कम्पनीलाई पनि अवार्ड प्रदान गरिएको छ । पछिल्लो आर्थिक वर्षमा चेनमा धेरै कमाइ गर्ने वितरण कम्पनीमा क्रमशः एप्पल इन्टटेनमेन्ट, ए-एट् डिष्ट्रिब्युसन, ब्यांकटेस इन्टरटेनमेन्ट, एफडी कम्पनी र डीसीएन छन् ।

क्यूएफएक्सको माउ कम्पनी टिम क्वेस्टका निर्देशकहरु नकिम उद्दिन, भाष्कर ढुंगाना र राजेश सिद्दिले अवार्ड प्रदान गरे । साथै, विभिन्न जिल्लाबाट आएका क्यूएफएक्स फ्रेन्चाइजका साझेदार र कलाकारले समेत अवार्ड वितरण गरे ।

क्यूएफएक्सकी प्रबन्धक तृप्ती गिरीले दुई दशकभन्दा बढी समयदेखि क्यूएफएक्सले फिल्ममार्फत नेपाली समाजलाई मनोरञ्जन दिएको बताइन् । फिल्म हेराइको गुणस्तरलाई अभिवृद्धि गर्न क्यूएफएक्स प्रतिबद्ध रहेको उनले बताइन् ।

समारोहमा किरण नेपालीले नेपाली लोकधुनलाई पश्चिमा बाजासँग मिश्रण गरेर कर्णप्रिय सांगीतिक प्रस्तुति दिएका थिए । उनले आफ्ना धुनमा केही चर्चित नेपाली फिल्मका गीत पनि समावेश गरेका थिए ।

पूर्वमिस नेपाल नम्रता श्रेष्ठले समारोह होस्ट गरेकी थिइन् ।

अहिले देशभर क्यूएफएक्सका १७ हलमा ४० पर्दा छन् । नेपालमा मल्टिप्लेक्स संस्कृति विकास गर्ने श्रेय क्यूएफएक्सलाई जान्छ । कोभिडअघि क्यूएफएक्सले अवार्ड समारोह आयोजना गरिरहेको थियो । बीचमा रोकिएको अवार्डलाई पुनः निरन्तरता दिएको हो ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?