+
+

हेटौंडामा एक वर्षमा थपियो एक करोड लिटर खानेपानी

६४ लाख उठ्यो अग्रिम महसुल

हेटौंडामा प्रतिदिन ३ करोड ४० लाख लिटर माग भए पनि १७ लाख लिटर बढी खानेपानी उत्पादन भइरहेको छ ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८१ भदौ १० गते ८:३९

१० भदौ, हेटौंडा । कुनैबेला खानेपानी अभावमा काकाकुल बन्ने हेटौंडा उपमहानगरपालिका एक वर्षभित्रै एक करोड लिटरभन्दा बढी पानीको व्यवस्था भएको छ । ०८० यतामात्रै एक करोड बढी लिटर खानेपानी व्यवस्था भएपछि उपमहानगरबासीलाई सहज भएको छ ।

समबेल, डिपबोरिङ र गाभिएका उपभोक्ता समितिबाट १ करोड लिटर खानेपानी थप भएको हेटौंडा खानेपानी बोर्डले जानकारी दिएको छ । सामरी समबेलबाट ६० लाख लिटर, मैदा टोलको समबेलबाट १५ लाख लिटर, लामसुरे डिपबोरिङबाट १२ लाख लिटर र उपभोक्ता समिति हस्तान्तरण भई थपिएको खानेपानी १४ लाख १७ हजार लिटर गरी एक करोड १ लाख १७ हजार लिटर खानेपानी थपिएको बोर्ड अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।

बोर्डले प्रतिदिन ३ करोड ५७ लाख लिटर पानी उत्पादन गरी दैनिक सरदर ७ देखि ८ घण्टा २७ हजार ७ सय २१ धारामार्फत वितरण गर्दै आइरहेको छ । हेटौंडामा दैनिक ३ करोड ४० लाख लिटर पानीको माग छ ।

हाल हेटौंडाको मुख्य नगरक्षेत्रभित्र २४सै घण्टा पानी वितरण गर्न बोर्ड सफल भएको अध्यक्ष विष्ट बताउँछन् । हेटौंडा उपमहानगरभित्रको वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० र १४ को पूरै भूभाग, वडा नम्बर १, ३ र १७ को केही भूभाग र वडा नम्बर १५, १६, १८ र १९ को ७०.५ प्रतिशत भूभागमा बसोबास गर्ने १ लाख ६० हजार नगरबासीलाई ३ करोड ५७ लाख लिटर खानेपानी वितरण गरिरहेको बोर्डले जनाएको छ । नगरक्षेत्रको वडा नम्बर ११, १२ र १३ मा उपभोक्ता समितिबाट खानेपानीको सेवाप्रवाह हुँदै आएको छ ।

हेटौंडा खानेपानी बोर्डले ७० को दशकमा खानेपानीमा `उथलपुथल´ गरेको हो । खानेपानी संस्थान हुँदा दैनिक ५५ देखि ६० लाख लिटरसम्म आपूर्ति हुन्थ्यो । खानेपानीको माग भने दैनिक १ करोड लिटरभन्दा बढी थियो । सुख्खा समयमा पानीको ठूलो हाहाकार हुन्थ्यो ।

संस्थान हस्तान्तरण भएर बोर्ड बनेपछि २०७० यताका १० वर्षको अवधिमा भने हेटौंडाको खानेपानी आपूर्तिमा कायापलट भएको छ । ८ जेठ २०७० मा नेपाल खानेपानी संस्थान हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको थियो ।

नगरक्षेत्रभित्र बसोबास गर्ने नगरवासीलाई स्वच्छ र सर्वसुलभ किसिमबाट गुणस्तरीय रुपमा एउटै शुल्कमा खानेपानी उपलब्ध गराउनु हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको उद्देश्य रहेको अध्यक्ष विष्टले बताए ।

बोर्ड सञ्चालनमा आएदेखि हालसम्म बोर्डमा १६ वटा उपभोक्ता समिति हस्तान्तरण तथा सेवाक्षेत्र विस्तार गर्दा ११ हजार धारा संख्यामा वृद्धि भएको छ । हेटौंडा उपमहानगरपालिकाले नगरबासीलाई राहत दिने उद्देश्यले न्यूनतम खानेपानी महशुलमा १० हजार लिटरसम्म खपतमा छुटको व्यवस्था गरेसँगै खानेपानी बोर्डमा उपभोक्ता समिति हस्तान्तरण हुने क्रम बढेको छ ।

बोर्डले हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य गरी सेवाक्षेत्रमा सुधार गर्दै नयाँ क्षेत्रमा नयाँ आयोजनाको थालनी गरिरहेको बोर्डका आर्थिक प्रशासन प्रमुखसमेत रहेका सूचना अधिकारी सञ्जय न्यौपानेले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा उल्लेख गरिएका योजना पूरा भइसकेका छन् । नगरक्षेत्रभित्र वडा नम्बर ४, ५, ६, ७, १४ र १५ मा करिब ५४ लाख ७४ हजारको लागतमा २३ हजार ४ सय मिटर पाइपलाइन विस्तारकार्य वोलपत्रको माध्यमबाट सम्पन्न गरिएको न्यौपानेले बताए । विभिन्न साइजको करिब १ लाख ४ हजार मिटर १ करोड १८ लाख बराबरको पाइप बोलपत्रको माध्यमबाट खरिद गरिएको छ ।

२०८१ असार मसान्तसम्म पानी महसुल, जरिवाना, नयाँ धारा जडान, थप पाइप तथा फिटिङ, मिटर जडान मर्मत, नामसारी, निवेदन तथा अन्य दस्तुर र बैंक व्याज गरी वार्षिक कुल लक्ष्यको तुलनामा आन्तरिक आयतर्फ १०२.७५ प्रतिशत अर्थात १५ करोड ४ लाख ३६ हजार रुपैयाँ संकलन गरेको छ ।

गत आर्थिक वर्षमै हेटौंडा–८ मैदाटोलमा सशस्त्र प्रहरी बलको कम्पाउण्डभित्र समबेल, मकवानपुरगढी गाउपालिका–४ स्थित सामरीपुल नजिकै प्रतिदिन ६० लाख लिटर पानी उत्पादन क्षमताको समवेल निर्माण, हेटौंडा–१६ हटियामा शक्तिखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गत रहेको खानेपानीको स्रोत, पानी भण्डारण टंकी सहित ५५७ वटा धारा बोर्डमा हस्तान्तरण गरियो ।

शक्तिखोलामा पानीको स्रोत पर्याप्त भएकाले सेही पानी हटियाको चिसापानीमा ल्याएर वडा नम्बर १५, १६, १७ र १८ सम्म वितरण गर्न सकिने सम्भावना देखिएको बोर्डका अध्यक्ष विष्ट बताउँछन् ।

हेटौंडा–१७ हटिया चिसापानीमा २०८० कार्तिक १६ गतेदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएर नियमित महसुल संकलन, नयाँ धारा जडानलगायत आवश्यक मर्मतसम्भार कार्य शाखा कार्यालय मार्फत गराउदै आइरहेको र यो क्षेत्रका सेवाग्राहीलाई चिसापानीमा शाखा कार्यालय स्थापना भएपछि धेरै सहज भएको बोर्डका सूचना अधिकारी न्यौपाने बताए ।

उपमहानगरको कार्यालय अगाडि र हेटौंडा–१ स्थित जिम पार्कमा सार्वजनिक धारा निर्माण गरिएको छ । बोर्डको सेवाक्षेत्रभित्र करिब १९ हजार मिटर पाइपलाइन सुधार तथा विस्तारको लागि बोलपत्रको माध्यमबाट टफ विल्डर्स एण्ड सप्लायर्स, चन्द्रागिरि, काठमाडौंले कार्य सम्पन्न गरेको सूचना अधिकारी न्यौपानेले बताए ।

संघीय सरकारको खानेपानी विभागबाट सिमलटार, रातोमाटे, हटिया परियोजनाअन्तर्गत करिब ८४ करोड रुपैयाँको डीपीआर तयार भई खानेपानी मन्त्रालयबाट स्रोत सुनिश्चताको लागि अर्थ मन्त्रालयमा पेश भएमा हालसम्म स्रोत सुनिश्चता नभएको सूचनाअधिकारी न्यौपानेले बताए ।

पानी परीक्षण प्रयोगशालाको भौतिक पूर्वाधार स्तरोन्नति गर्ने, बोर्ड अन्तर्गत रहेका खानेपानीका पूर्वाधारको सुधार र विस्तारको कार्य, खानेपानीका स्रोतको सुरक्षा एवम् संरक्षण कार्य, बोर्डको सेवाक्षेत्रभित्र २ स्थानमा डिप ट्यूवेल निर्माण, पानी पुनर्भरण (रिचार्ज) पोखरी स्थानीय तह र सामुदायिक वनसँगको सहकार्यमा निर्माण कार्य गरिएको बोर्डको भनाइ छ ।

आम्दानीमा सबल, ६४ लाख अग्रिम भुक्तानी

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गत आर्थिक वर्षमा १९ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ । बोर्डले ग्राहकबाट पानी महसुल संकलनलगायत समग्र आन्तरिक आम्दानी लक्ष्यअनुसार संकलन गर्न सफल भएको हो ।

२०८१ असार मसान्तसम्म पानी महसुल, जरिवाना, नयाँ धारा जडान, थप पाइप तथा फिटिङ, मिटर जडान मर्मत, नामसारी, निवेदन तथा अन्य दस्तुर र बैंक व्याज गरी वार्षिक कुल लक्ष्यको तुलनामा आन्तरिक आयतर्फ १०२.७५ प्रतिशत अर्थात १५ करोड ४ लाख ३६ हजार रुपैयाँ संकलन गरेको छ ।

बोर्डले बाह्य आम्दानीतर्फ हेटौंडा उपमहानगर र मकवानपुरगढी गाउँपालिकासँगको सहकार्यअन्तर्गत १ करोड ७९ लाख ९४ हजार रुपैयाँ प्राप्त गरेको बोर्डका अध्यक्ष प्रताप विष्टले बताएका छन् । बोर्डको बैंक २ करोड ३२ लाख रुपैयाँ मौज्दात छ ।

गत आर्थिक वर्ष ०८०/८१ को असार मसान्तसम्मको बिलिङ रकम १३ करोड ९७ लाख रुपैयाँमध्ये १३ करोड ५८ लाख २५ हजार अर्थात ९७.२२५ पानी महशुल उठाउन बोर्ड सफल भएको सूचना अधिकारी न्यौपानेले बताए । आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा पानी महसुल बक्यौता रकम ३९ लाख ४२ हजार रुपैयाँ रहेकोमा र ग्राहकबाट ६४ लाख ५७ हजार रुपैयाँ अग्रिम महसुल भुक्तानी भएको न्यौपानेले बताए ।

बोर्डको खर्चतर्फ ०८०/८१ मा कार्यालय संचालनतर्फ ५ करोड ७६ लाख ३६ हजार रुपैयाँ र सेवा संचालनतर्फ ३ करोड ८७ लाख १ रुपैयाँ भएको न्यौपानेले जानकारी दिए ।

लेखकको बारेमा
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?