+
+

साँढेमाथि नगर प्रहरीको बर्बरता: मरणासन्न बनाएर खोलामा फालियो

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ भदौ १० गते १७:२६

१० भदौ, जनकपुरधाम । जनकपुरधामका नगर प्रहरीले साँढेलाई मरणासन्न हुने गरी अचेत बनाएर खोलामा फाल्ने गरको घटना सार्वजनिक भएको छ । आइतबार बिहान धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिज स्थित बसही खोलाको किनारमा एउटा मृत र दुईवटा अचेत अवस्थामा साँढे फेला परेको थियो ।

त्यो साँढेहरु जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रहरीले कुटपिट तथा अचेत गरी टिपरमा लगेर फालेको खुलेको हो । स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोलि पुगेर फर्किएको थियो ।

मिथिला नगरपालिकाको पशु शाखाका चिकित्सक पुगेर उपचार गरेपछि दुईवटा साँढे होसमा आएका थिए । ती साँढेलाई अहिले स्थानीय हिमालय युवा क्लबका पदाधिकारीहरुले हेरविचार गरिरहेको स्थानीय विनोद महतोले बताए ।

शनिबार मध्यराति टिपरमा साँढे राखेर फाल्न गएको टिपरको फुटेज स्थानीय सीसीटीभी क्यामेरामा कैद छ । शनिबार मध्यराति तीनवटा साँढेलाई जनकपुरबाट उपमहानगरपालिकाका नगर प्रहरीले निर्दयी तरिकाले कुटपिट तथा नशालु सुईं लगाएर बेहोस बनाएर फालेको प्रत्यक्षदर्शीले दाबी गरेका छन् ।

त्यस क्रममा रोक्न खोज्ने एक स्थानीयलाई नगरप्रहरीले कुटपिट पनि गरेका छन् । प्रत्यक्षदर्शी जनकपुरधाम उपमहानगरपालिका ४ का ३५ वर्षीय चन्दन मण्डलका अनुसार शनिबार राति पौने १२ बजेतिर जनकपुरधामको मुरलीचोक नजिक टिपरमालैजाँदै गरेको अवस्थामा टिपरबाट एउटा साँढे छटपटाएर तल खसेको थियो ।

त्यसलाई जनकपुर उपमहानगरको डोजर प्रयोग गरी उठाइरहेको देखेपछि उनले त्यसो नगर्न भन्दै मोबाइलमा भिडियो खिच्न खोज्दा उनीमाथि नगरप्रहरीले कुटपिट गरेका थिए ।

‘म घरतिर जाँदै थिएँ । बाटोमा टिपरबाट साँढे खसेको देखे । छटपटाइरहेको साँढेलाई डोजरले उठाएर टिपरमा हाल्न खोज्दा मैले रोक्न खोजें । नरोकेपछि मैले भिडियो बनाउन खोज्दा नगरप्रहरी ममाथि जाइलागे’, उनले त्यसबेलाको घटना सुनाए ।

मण्डलका अनुसार घटनाका बेला जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोली पनि पुगेको थियो । तर केही नगरी फर्केको उनले बताए । नगर प्रहरीहरुले मेयरको निर्देशन अनुसार काम गरेको जवाफ दिएको उनको दाबी छ ।

पीडित मण्डलले आफूमाथि कुटपिट गर्ने नगर प्रहरीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् । अर्का प्रत्यक्षदर्शी मनोज चौधरीले साँढेलाई सुई लगाएर फाल्ने गरेको जिकिर गरे ।

‘नगरप्रहरीले निर्दयता साथ साँढेलाई कुटपिट गरी नशालु साई लगाएर टिपरमा राखेर बाहिर फाल्ने गरेको छ । धार्मिक नगरीमा यो तरिका ठीक होइन’, उनले भने ‘पशुमाथि यस्तो निर्दयतागर्नेहरुमाथि कारबाही हुनुपर्छ ।’

चारदिन अघि पनि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ७ जलाद खोलामा मरासन्न हुने गरी कुटपिट गरी अचेत अवस्थामा दुईवटा साँढे फेला परेको थियो । त्यो साँढे पनि जनकपुरबाटै टिपरमा लगेर फालेको हुन सक्ने आशंका छ ।

जनकपुरमका मेयर मनोज साहसँग फोन सम्पर्क हुन सकेन । उपमेयर किशोरी साहले साँढेलाई यसरी उपमहानगरका नगरप्रहरीले फाल्ने गरेको विषयमा अनभिज्ञता जनाए ।

‘मलाई यो विषयमा मेही जानकारी छैन । छाडा डाचौपाया नियन्त्रणको लागि गौशाला छ । त्यसमा छाँडाचौपायालाई लगेर राख्ने काम त भइरहेको । अचेत बनाएर फाल्ने विषय मेरो छैन’, उनले भने ।

धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले साँढेलाई त्यसरी फाल्ने गरेको विषयमा आफूले जानकारी पाएको बताए । ‘साँढेको विषयमा मैले जानकारी पाएको छु । त्यसरी नगर्न उपमहानगरलाई जानकारी गराएँ । उजुरी पनि आएको रहेछ । यो विषयमा अनुसन्धान गर्दै छु’ एसपी तिवारीले भने ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?