+

एएफसी महिला च्याम्पियन्स लिगमा रेखा पौडेलको पहिलो गोल

२०८१ भदौ  १० गते १२:५३ २०८१ भदौ १० गते १२:५३
एएफसी महिला च्याम्पियन्स लिगमा रेखा पौडेलको पहिलो गोल

१० भदौ, काठमाडौं । नेपाली युवा फरवार्ड रेखा पौडेल एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा यूएईको क्लब अबुधाबी कन्ट्री क्लबका लागि खेल्दै ऐतिहासिक गोल गरेका हुन् ।

समूह ए अन्तर्गतको पहिलो खेलमा यूएईको अबुधाबीले लाओसको योङ इलिफन्ट्सविरुद्ध २-१ ले पराजित गर्दा रेखाले गोल गरेकी हुन् ।

एक गोलको अग्रता भइरहेको बेला रेखाले दोस्रो हाफको पहिलो मिनेटमै गोल गर्दै अबुधाबीको अग्रता दोब्बर पारेकी थिइन् । त्यसअघि युगेनिया टेट्टेहले ३८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

रेखाले पहिलोपटक यूएईको क्लबबाट खेल्दै डेब्यु प्रतियोगितामै गोल गरेकी हुन् ।

रेखाले पहिलो खेलमै डेब्यु गोल गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्न मिहिनेत गर्ने बताइन् । ‘एएफसी महिला च्याम्पियन्स लिगमा आफ्नो डेब्यु खेलमा गोल गर्ने र लिगमा गोल गर्ने पहिलो नेपाली बन्न पाउँदा म धेरै खुसी छु,’ रेखाले अनलाइनखबरसँग भनिन्, ‘यो गोल मेरो नेपाललाई समर्पित छ, अरु खेलका लागि पनि अझ मिहिनेत गर्नेछु । यसको सुरुआत मात्र हो ।’

रेखाले गत वर्ष इन्डियन वुमन्स लिगमा ओडिसा एफसीबाट पनि खेलेकी थिइन् । सन् २०१९ मा नेपालमै भएको साफ महिला च्याम्पियनसिपमार्फत उनले राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् ।

योङ एलिफन्ट्सका लागि ८३औं मिनेटमा योन योउरेनले एक गोल फर्काइन् ।

समूह ए मा अब अबुधाबीले २८ अगष्टमा म्यानमारको म्यावाडी र ३१ अगष्टमा साउदी अरेबियाको अल नासेरसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह सी मा रहेको नेपाली क्लब एपीएफ एफसी भने पहिलो खेलमा उज्वेकिस्तानको नासाफसँग १-० ले पराजित भएको थियो ।

एएफसी महिला च्याम्पियन्स लिग रेखा पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय