+
+

अर्थतन्त्र लयमा फर्केको सन्देश दिने ‘अटो मेला’

यस वर्षको प्रदर्शनीमा चार पाङ्ग्रेका २४ ब्रान्ड, दुई पाङ्ग्रेका १९ ब्रान्ड र हलुका व्यावसायिक सवारीका १२ ब्रान्ड राखिएका छन् ।

अच्युत पुरी अच्युत पुरी
२०८१ भदौ ११ गते १९:५७

११ भदौ, काठमाडौं । करोडौं मूल्यका सवारीसाधनदेखि चटपटेसम्मका स्टल राखिएको १६औं संस्करणको ‘नाडा अटो शो’ मंगलबारबाट काठमाडौंमा सुरु भएको छ ।

अटो शो भ्रमणमा पुगेका नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष सन्तोष श्रेष्ठलाई यो ‘कन्सेप्ट’ नयाँ लाग्यो । ‘अहिले आम सर्वसाधारणमा सवारीसाधनको चासो बढिरहेको छ, यस अवस्थामा अटो शोले केही क्रिएटिभ गर्न खोजेको देखियो,’ उनले भने ।

खासगरी दुई पाङ्ग्रे र चार पाङ्ग्रेका लागि छुट्टाछुट्टै हलमा स्टल राखिनु र अटोमोबाइल बाहेक युनिक प्रकारका फुड स्टल राखेर दर्शक आकर्षित गर्न खोजिनुलाई उनले सकारात्मक लिएको बताए ।

अटो शोमा भेटिएका होटल व्यवसायी युवराज श्रेष्ठले भने ठ्ट्यौली पारामा अटो शो घुम्दा ‘चाइनिज मार्केट’ घुमेजस्तै अनुभव भएको बताए ।

चिनियाँ ब्रान्डका विद्युतीय गाडी (ईभी) को बाहुल्य रहेको अटो शो घुम्दा आफूले त्यस्तै अनुभव गरेको उनको भनाइ छ ।

‘म कतै चीनको सहरका अटो शोरुम घुमिरहेको छु कि जस्तो पो अनुभव भयो,’ ठट्यौली पारामा उनले भने । यद्यपि, मेलामा देखिएको भीड र स्टलमा मानिसको चासो देख्दा भने सुस्त अर्थतन्त्र माथि उकास्न केही न केही सन्देश दिने उनले बताए ।

नेपाल अटोमोबाइल्स एसाोसिएसन अफ नेपाल (नाडा) महासंघले दुई दशकभन्दा बढी समयदेखि आयोजना गर्ने अटो शोको यो संस्करण १६ भदौसम्म काठमाडौं भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको हो ।

यसपटक भृकुटीमण्डपस्थित बगैंचालाई समेत प्रदर्शनी हलमा रूपान्तरण गरिएको छ । इन्ट्रान्स गेट राखिएको बगैंचा क्षेत्रमा दुई पाङ्ग्रेका स्टल राखिएका छन् । त्यसको अवलोकन सकिएसँगै फुड स्टल सुरु हुन्छ ।

त्यसपछि चार पाङ्ग्रे सवारीका स्टल राखिएको छ । त्यसको अवलोकन गर्दै अगाडि बढ्दा व्यापारिक सवारीका स्टल देखिन्छन् । यसमा पनि ईभीकै बाहुल्य छ ।

अन्तिममा सवारीसाधनका पार्टपुर्जा तथा अन्य वस्तुका स्टल राखिएका छन् । अटो शोमा ट्राफिक प्रहरीदेखि बैंक तथा वित्तीय संस्था र बीमाका समेत स्टल राखिएका छन् ।

आयोजकका अनुसार यस वर्षको प्रदर्शनीमा चार पाङ्ग्रेका २४ ब्रान्ड, दुई पाङ्ग्रेका १९ ब्रान्ड र हलुका व्यावसायिक सवारीका १२ ब्रान्ड राखिएका छन् ।

लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टका ३३ कम्पनीका स्टल राखिएका छन् । सात वित्तीय संस्थाका स्टल छन् । यसरी ९५ प्रदर्शकका १ सय ३० स्टल अटो शोमा राखिएको आयोजकले जनाएको छ । ६ दिन अवधिमा ७५ हजारभन्दा धेरैले अटो शो अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

अटो शो उद्घाटन गर्दै अर्थमन्त्री विष्णु पौडेलले अप्ठ्यारो अवस्थामा पनि व्यवसायीका साथमा सरकार रहेको बताए । उनले व्यवसायीले समेत असल बनी व्यवसाय गर्नुपर्ने बताए । काम गर्ने कि भाषण गर्ने भन्नेमा आफू अन्योलमा रहेको भन्दै उनले अनौपचारिक कार्यक्रममा मन्त्रीलाई नबोलाउन समेत आग्रह गरे ।

व्यवसायीले उठाउने नीतिगत स्थिरताको माग पूरा हुने उनको भनाइ छ । अटोमोबाइल क्षेत्रले राजस्वमा ठूलो योगदान दिएको भन्दै सरकारले पूर्वाधार निर्माणमा ध्यान दिने उनले बताए ।

कार्यक्रममा नाडा अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्र पारदर्शी र छलकपटमुक्त रहेको दाबी गरे । उनले व्यवसायीलाई त्रासबाट मुक्त गर्नुपर्ने भन्दै त्यसपछि अर्थतन्त्रले गति लिने समेत बताए । अटोमोबाइल व्यवसायमा १ खर्बमाथिको लगानी भइसकेको भन्दै उनले सरकारको सहयोगको अपेक्षा गरे ।

१७ लाखदेखि करोडमाथिका गाडी, आकर्षक छुट र सुविधा

यसपटक अटो शोमा न्यूनतम १७ लाखदेखि १ करोड रुपैयाँभन्दा माथिका गाडी उपलब्ध छन् । अटो शोमा राखिएका गाडी त्यहीँ बुक गरे आकर्षक छुट सुविधा समेत कम्पनीले दिएका छन् ।

नेपालका लागि सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धिले सेरेस ३ खरिदमा विशेष अफर ल्याएको छ । दिपल ईभी कार खरिदमा समेत ‘बिग ब्याङ’ अफर घोषणा गरेको छ ।

नयाँ मोडेल, प्रविधि र प्रवृत्ति नियाल्ने अवसर

नाडा अटो शो अटोमोबाइल प्रेमीका लागि नेपालमा आयोजना हुने सबैभन्दा ठूलो मेला हो । सोहीकारण यो प्रदर्शनी चाडबाडको मुख पारेर आयोजना गरिन्छ । अटोप्रेमीले यस मेलामा नयाँ मोडेल, प्रविधि र अटो क्षेत्रका नवीनतम प्रवृत्तिको खोजी गर्न सक्छन् ।

नयाँ ब्रान्डबारे जानकारी लिन तथा वित्तीय विकल्पबारे समेत प्रदर्शनीबाट लाभ उठाउन सकिने छ । आगन्तुकले सवारीसाधन खरिदबारे निर्णय लिनु अगाडिका सबै जानकारी यस मेलाबाट पाउने आयोजकको भनाइ छ ।

    

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?